‘दैनिक २ लाख खोप लगाइँदै’

खोप खरिदका लागि बजेटको अभाव हुँदैन : अर्थमन्त्री शर्मा

364
Shares

मधुसूदन रायमाझी, काठमाडौं ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप अभियानलाई तीव्रता दिँदै सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाख मात्रा लगाउन शुरू गरेको दाबी गर्नुभएको छ   प्रतिनिधिसभाको विहिवार बसेको बैठकमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गर्दै सांसदहरूले सबै नेपालीलाई खोपको सुनिश्चितता गर्न गरेको मागको प्रतिउत्तरमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले नेपालका लागि कुल ५ करोड ५० लाख मात्रा खोपको आवश्यकता पर्ने धारणा राख्दै अघिल्लो सरकारको पालामा ९७ लाख मात्रा खोप प्राप्त गरी असार मसान्तसम्म ४२ लाख मात्रा खोप जनतालाई उपलब्ध गराइएको र नयाँ सरकार आएपछि बुधबारसम्ममा ७५ लाख मात्रा खोप लगाइएको जानकारी दिनुभयो । उहाँले कोरोनाको संक्रमण बढेको १६ जिल्लामा सरकारले खोपको विशेष व्यवस्था गर्ने जानकारी दिँदै निजी क्षेत्रका स्वास्थ्य क्षेत्रलाई नाफामुखीभन्दा पनि सेवामुखी बनाउनेमा सरकार केन्द्रित हुने बताउनुभयो ।

बैठकमा सांसदहरूले सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिता दिए पनि सबै नेपालीलाई पुग्ने गरी खोप ल्याउन नसकेको भन्दै तत्काल पर्याप्त खोप ल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरूले खोप केन्द्रमा हुने भीडभाड व्यवस्थापन गर्न सरकार असफल भएको टिप्पणी गर्दै खोप वितरणलाई सहज बनाउन पनि आग्रह गरेका थिए ।

बैठकमा सांसद गगन थापाले कोभिडका कारण परीक्षा रोकिएको तर परीक्षार्थीले कहिले खोप पाउने भन्ने निश्चित नभएको बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयले साँझ ८ बजेपछि आवागमन रोकेकोमा असन्तुष्टि जनाउनुभयो ।

सांसद रामकुमारी झाँक्रीले ज्येष्ठ नागरिक र विदेश जानका लागि खोप लगाउने नागरिकले लाममा बस्नुपर्ने बाध्यता हटाएर त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद कृष्णकुमार राईले आफ्नो क्षेत्रमा मःम पसलमा खोप पाइने गरेको बताउँदै खोपमा अनियमितता हुने गरेको आरोप लगाउनुभयो । सांसद राजेन्द्रकुमार केसीले पूर्वप्रधानमन्त्रीले आइसकेको भन्नुभएको खोपको संख्या र अहिले सरकारले प्रस्तुत गरेको तथ्याकंमा फरक पाइएको बताउनुभयो ।

बैठकमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले हालसम्म कुल जनसंख्याको १५.५ प्रतिशत अर्थात् २८ लाख ८८ हजार ३ सय ६० जनाले कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाइसकेको बताउनुभयो । उहाँले भौतिकरूपमा बन्द पठनपाठनलाई सञ्चालन गर्न २० वर्ष उमेर माथिका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम तय गरिएको जानकारी पनि दिनुभयो । राज्यमन्त्री श्रेष्ठले थप तीन करोडभन्दा बढी मात्रा खोप किन्ने प्रक्रियामा सरकार रहेको जानकारी दिँदै असोज मसान्तसम्म एक करोड मात्रा आपूर्ति हुने दाबी गर्नुभयो । भारतबाट आउनुपर्ने १० लाख मात्रा कोभिसिल्ड पनि चाँडै प्राप्त हुने बताउँदै खोपलाई दुरूपयोग गर्ने र तोकिएका व्यक्तिलाई नदिएर भण्डारण गर्नेलाई कारबाही गरिने बताउनुभयो । राज्यमन्त्री उमेश श्रेष्ठले अबका दिनमा स्वयंसेवक परिचालन गरी गाउँ र नगरस्तरीय खोप केन्द्र सञ्चालन गरिने जानकारी पनि दिनुभयो ।

उहाँले कक्षा १२ को परीक्षा सञ्चालन गर्दा महामारी फैलन सक्ने भएकाले परीक्षा स्थगन गरिएको बताउँदै अनलाइनबाट खुला परीक्षाजस्ता विकल्पमा उक्त परीक्षा सञ्चालन गर्न सकिने बताउनुभयो । धेरै अस्पतालमा अक्सिजन प्लान्ट राख्ने नीति लिइएको उल्लेख गर्दै उहाँले सोका लागि निजी अस्पतालले चाहेमा ५० प्रतिशत रकम अनुदान दिने जानकारी दिनुभयो । कोरोना रोकथामका लागि सर्वपक्षीय र उच्चस्तरीय समिति गठनका विषयमा गम्भीर रहेको बताउँदै उहाँले कोभिडको तेस्रो लहरको खतरालाई ध्यान दिएर बालबालिका केन्द्रित अस्पताल र उपचार पद्धतिको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

खोप खरिदका लागि बजेटको अभाव हुँदैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी सबै नेपाली नागरिकलाई छिट्टै खोपको व्यवस्था गरिने बताउनुभएको छ । सरकारले खोपलाई उच्च प्राथमिकता दिएको जिकिर गर्दै उहाँले खोप ल्याउने कार्य तीव्र गतिमा अगाडि बढेको बताउनुभयो ।

सबै नागरिकलाई खोप दिएर मात्र कोरोना नियन्त्रण हुने स्पष्ट आधार देखिएको उल्लेख गर्दै उहाँले भन्नुभयो–‘खोप खरिदका लागि बजेट अभाव हुँदैन, जे–जति बजेट लाग्छ त्यो दिन अर्थ मन्त्रालय तयार छ ।’ बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री शर्माले कोभिड महामारीको पीडा भोगिरहेको जनजीवन र सोबाट शिथिल बनेको अर्थतन्त्रलाई पुनरुत्थान गरी नेपाली जनजीवनमा सकारात्मक परिवर्तन र समृद्धि ल्याउनमा वर्तमान सरकारको प्रयास केन्द्रित रहने बताउनुभयो ।