स्वास्थ्य मन्त्रालयलाई अरनिको समाजको सहयोग



न्युज अफ नेपाल,काठमाडौं ।

अरनिको समाजले स्वास्थ्य मन्त्रालयलाई १ लाख पीसिआर टेष्ट किट प्रदान गरेको छ । बुधबार मन्त्रालय परिसरमा समाजका अध्यक्ष डा सर्वोत्तम श्रेष्ठले मन्त्रालयका स्वास्थ्य विशेषज्ञ डा दिपेन्द्ररमण सिंहलाई सो सामग्री प्रदान गर्नुभयो । सो अवसरमा स्वास्थ्य विशेषज्ञ सिंहले कोरोना महामारी रोकथाम र नियन्त्रणको लागि सबैको साथ र सहयोगको खाँचो औल्याउँदै समाजले उपलब्ध गराएको सामग्री अधिकत्तम सदुपयोग गर्ने बताउनुभयो ।

सो अवसरमा समाजका अध्यक्ष डा श्रेष्ठले चीनको आठ वटा मेडिकल फर्मास्युटिकल कम्पनीले समाजलाई दुई साता अघि सो सामग्री उपलब्ध गराएको जनाउँदै नेपालस्थित चिनियाँ राजदूतावाससंग समन्वय गरी राज्यका विभिन्न निकाय, अस्पताललाई प्रदान गर्दै आएको बताउनुभयो । अरनिको समाजमा चीनमा चिनियाँ भाषाबाट पढेर फर्किएका नेपालीहरुको संगठन हो । यस संगठनमा विशेषतः चिकित्सकहरुको बाहुल्य रहेको छ ।

चीनको ऊहान इजी डायग्नोसिस बायोमेडिसिन कम्पनीबाट उत्पादित सो सामग्री किन्नुपरेमा त्यसको मूल्य चार लाख अमेरिकी डलर पर्ने समाजले जनाएको छ ।यस अघि समाजले वीर अस्पताल, ट्रमा अस्पताल, प्रहरी अस्पताल, निजामती कर्मचारी अस्पताल, क्षेत्रपाटी निशुल्क चिकित्सालय, ललितपुर सामुदायिक स्वास्थ्य ह्दय सेवा केन्द्र,महालक्ष्मी उद्योग वाणिज्य संघलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको थियो । ती सबै सामग्री समाजलाई चीनबाट अनुदान स्वरुप प्राप्त भएको समाजका महासचिव सुशील प्रजापतिले जानकारी दिनुभयो

कोरोना महमारीको समयमा नेपालको सहयोगका लागि मित्र राष्ट्र चीन सदैव तयार भएको सन्देश यसबाट प्रवाह भएको महासचिव प्रजापतिको भनाई रहेको छ । सो अवसरमा समाजका उपाध्यक्ष डा मनोजमान श्रेष्ठ, सदस्य। डा कृष्णगोपाल महर्जन र अरनिको सांस्कृतिक प्रर्वद्धन तथा व्यावसायिक समाजका अध्यक्ष अजरमान जोशी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्