नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच सम्झौता


काठमाडौं ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंक लिमिटेडबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिबृद्घिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । महासंघ र बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो ।

बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो ।कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पु-याउन सहज हुने बताउनुभयो । बैंककी प्रमुख कार्यकारी अधिकृत खुजेलीले सम्झौताबाट लघु, घरेलु तथा साना उद्योगी लाभान्वित हुने अपेक्षा गर्नुभयो ।

महासंघ र बैंकबीच भएको सम्झौता अनुसार १० थरीका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिने सम्झौतापत्रमा उल्लेख छ ।सम्झौता कार्यक्रममा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह र कोषाध्यक्ष सत्यनारायण प्रजापतिको उपस्थिति रहेको थियो । बैकको तर्फबाट अमित श्रेष्ठ , जनक भट्टराई, पुण्यप्रसाद खनियाँ र रूकमणी महर्जनको उपस्थिति रहेको थियो ।