फिल्मकर्मीलाई लगाइयो भेरोसेल खोपको पहिलो मात्रा



फिल्मकर्मीहरूलाई कोभिडविरुद्वको भेरोसेल खोप दिइएको छ । चलचित्र विकास बोर्डको समन्वय तथा नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्वन्द्व कलाकार संघ, नेपाल चलचित्र नृत्यकार संघ, सांगीतिक संघ, आदिवासी जनजाति चलचित्रकर्मी महासंघ, नृत्य निर्देशक संघ नेपाललगायतका फिल्म क्षेत्रसँग सम्बद्ध पेसागत वर्गीय संघ-संस्थाको साथ र सहयोगमा नेपाल चलचित्र कलाकार संघको आयोजनामा फिल्मकर्मीहरूलाई कोभिडविरुद्वको खोप दिइएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी गराए ।

१५ सय २६ जना फिल्मकर्मीलाई ललितपुरको पाटनस्थित अशोक पार्टी प्यालेसमा प्राथमिकताका साथ कोभिड विरुद्धको खोपको पहिलो मात्रा लगाइएको हो । खोप कार्यक्रममा फिल्मकर्मीमा उत्साह थप्न ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौलालगायत खोप केन्द्रमा पुगेका थिए ।सो अवसरमा फिल्म क्षेत्रका अभिनेता अभिनेत्री, छायांकार लगायतका प्राविधिक, नृत्य कलाकार, नृत्य निर्देशक, द्वन्द्व कलाकार, द्वन्द्व निर्देशक, सिनेमा घरका प्राविधिक, सिनेमा घर सञ्चालक, निर्माता, वितरक, गायक-गायिका, संगीतकारलगायतले कोभिडविरुद्धको खोप लगाएका थिए ।

कलाकर्मीलाई खोप माग्दा तल्लो स्तरको व्यवहार

 

 लाकारका लागि खोप लगाउने सम्बन्धमा कुराकानी गर्न गएका आफूलगायतका फिल्मकर्मीलाई स्वास्थ्य कार्यालय, काठमाडांैका प्रमुखले तल्लो स्तरको व्यवहार गरेको नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जनाएका छन् ।उनले खोप दिन सकिँदैन, जे गर्नु छ गर्नोस्’ भनेर तल्लो स्तरको जवाफ दिएको मोहनले समाजिक सञ्जालमा जनाएका छन् । ‘ती बद्री नाम गरेका प्रमुखको जवाफ सुनेर हामी अक्क न बक्क पर्यौं । ती कुन योग्यताबाट हाकिम हुन पुगेका रहेछन्, हामीलाई थाहा भएन । हामी नागरिकले दिएको करबाट तलब खाएर पद पाएका तिनीसँग संस्कार संस्कृति र बोल्ने शिष्टता नभएकोमा खेद व्यक्त गर्दछौं’ उनले प्रमुखको पूरा नाम नखोली उल्लेख गरेका छन् ।

निरौलाले फिल्मकर्मीले खोप लगाउनुका साथसाथै आम नागरिकले पनि कोभिडविरुद्धको खोप लगाउनु अनिवार्य भएको सन्देश पनि प्रवाह गरेको बताए । ‘हामी फिल्मकर्मीहरू समाजमा चेतना बाँड्छौं । सकारात्मक सूचना सम्प्रेषण गर्छौं । हामी सकारात्मक छौँ । सबैमा माया प्रेम र सद्भाव बाँड्छौं । फिल्मकर्मीहरू उहाँजस्तो नकारात्मक छैनन्’ निरौलाको भनाइ छ  ।  ‘कोभिडविरुद्धको खोप उपलब्ध गराउन हामीलाई सहयोग गर्नुहुने तत्कालीन स्वास्थ्यसचिव लक्ष्मण अर्याल, खोप शाखाका प्रमुख झलक गौतम, सूचना प्रबन्धन एकाइ÷एकीकृत स्वास्थ्य सूचना प्रबन्धन प्रणालीका प्रमुख अनिल थापा, स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाल, स्वास्थ्य मन्त्रालयका अधिकृत नवीन खड्कालगायत खोप कार्यक्रममा सहभागी सम्पूर्ण स्वास्थ्यकर्मीलाई आभारका साथै साधुवाद व्यक्त गर्न चाहन्छौँ ।’ सो. सम्बन्धमा कुराकानी गर्न स्वास्थ्य कार्यालय, काठमाडांैका प्रमुख बद्रीबहादुर खड्कासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुने सकेन ।

सबै कलाकारले पाएनन् खबर 

अभिनेता तथा निर्माता जयकिशन बस्नेतले भने कोभिडविरुद्वको खोप लगाउन आफूलाई सम्पर्क नगरिएको जनाएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन् ‘२१ सय जना कलाकारले कोरोनाको खोप लगाउन पाउनुभएछ, सबैलाई धेरै धेरै बधाई । तर, २१ सयजना मध्य म परेनछु, मलाईचाहि” भविष्यको लागि श्रद्धाञ्जलि । आयोजक संघ-संस्थाहरूले मलाई खबर नगर्नु भएकोमा र थाहा नै नदिनु भएकोमा त झन् धेरै बधाई । भोलिबाट यी संघसंस्था भनाउँदाहरूको र पदाधिकारी भन्नेहरूको बाजा बजाउन आउँदै छु, प्रतीक्षा गर्नुहोला । कोरोनाविरुद्ध खोप लगाउन नपाए पनि, मेरो शुभचिन्तकको मायाले बाँच्छु जस्तो लाग्छ अझै ।’

नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले भने खोपका लागि सम्बन्धित संघहरूले आप्mना सदस्यहरूलाई चार महिनादेखि नै सामाजिक सञ्जाल र अन्य माध्यमबाट खबर गरेको तथा जयकिशनकै नायिका छोरी जान्हवी बस्नेतले खोप केन्द्रमा आएर खोप लगाएर गएको बताए । ‘खोप केन्द्रमै आउनुभएका कतिपयले विभिन्न कारण खोप लगाउनुभएन । जयकिशनको छोरी जान्हवी बस्नेतले खोप लगाएर जानुभयो, जयकिशनलाई कसरी जानकारी भएन होला त ?’ निरौलाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्