जनप्रतिनिधि नै भन्छन्– कारबाही नगर्नुस्


नेपाल समाचारपत्र, पनौती  । 

राष्ट्रिय राजमार्गका रूपमा निर्माण कार्य भइरहेको पनौती–कुशादेवी सडकमा चल्ने ९० प्रतिशत मोटरसाइकलका चालकसँग सवारी चालक अनुमतिपत्र नभएको पाइएको छ । साथै अनुमतिपत्र बेगर नै तीव्र गतिमा सवारी चलाउने प्रवृति पनि यो सडकमा बढ्न थालेको छ ।

यो सडकमा लाइसेन्स बेगर सवारीसाधान, तीव्रगतिमा चलाउने कार्य नियन्त्रण गर्न प्रहरीले नियमित चेकजाँचलाई थप कडाइ गर्ने भएको छ । अनुमतिपत्र बेगर सवारी चलाउनेलाई कारबाही गर्दा प्रहरीमाथि जनप्रतिनिधिहरुको दबाब पनि आउने गरेको छ । प्रहरी भन्छन्– ‘चेकजाँचका क्रममा कारबाहीमा परेकाहरुलाई रोक्न जनप्रतिनिधिहरुकै दबाब आउँछ ।’ट्राफिक प्रहरी सहायक निरीक्षक चेतबहादुर चौलागाइं भन्नुहुन्छ– ‘केही दिनअघि कुशादेवी क्षेत्रमा नियमित चेकजाँचको क्रममा ९० प्रतिशत मोटरसाइकल चालकसँग लाइसेन्स नभएको भेटियो ।

अबदेखि यो सडकमा प्रहरीले नियमित सवारी चेकजाँच गर्छ ।’ मंगलबार बिहान न्याशिला गणेश टोल सुधार समितिको संयोजनमा जनचेतनामूलक कार्यक्रमका गरी पनौती–कुशादेवी सडकको विभिन्न स्थानमा गति सीमित, पार्किङ निषेधित क्षेत्र लेखिएको बोर्ड राखिएको छ । प्रहरीले यो सडकमा प्रतिघण्टा २० किलोमिटर स्पिडमा मात्र सवारी चलाउन पाइने भनेको छ ।पनौती नगरपालिका–८ का वडाध्यक्ष केशव वञ्जारा, टोल सुधार समितिका अध्यक्ष एवं वडा सदस्य गौरी नारायण श्रेष्ठलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुका साथै प्रहरीहरुको समेत उपस्थितिमा पनौतीदेखि खरिबोटसम्म १५ वटा गति सीमित लेखिएको बोर्ड राखिएको छ । यो सडकमा हुने जथाभावी पार्किङलाई पनि नियन्त्रण गरिनुपर्ने सरोकारवालाहरुले बताएका थिए ।

‘यो सडकमा सवारी अनुमतिपत्र नहुनेले सवारी चलाएको, ओभर स्पिडमा सवारी चलाएको, ओभरलोड राखेर सवारी चलाएको पाइन्छ’, प्रहरी सहायक निरिक्षक चौलागाईले जनप्रतिनिधिकै अगाडि भन्नुभयो– ‘कारबाही गर्दा तपाईंहरुबाट बढी दबाब आयो । हामी कारबाही गर्छौं, छुटाउन तपाईंहरू दबाब नदिनुस् ।