एकमात्र सभाहलमा व्यापारीको बस्तुभाउ


सरस्वती न्यौपाने, रसुवा । 

भूकम्पले क्षति पु-याएको जिल्ला सदरमुकाम धुन्चेमा रहेको एकमात्र सभाहल भूकम्प गएको ६ वर्ष बित्दा पनि अझै पुनर्निर्माण हुन सकेको छैन । पुनर्निर्माण नहुँदा जिल्लाकै गहनाका रूपमा रहेको सभाहल अहिले व्यापारीको घोडा बाँध्ने तवेला, बाख्रा बाँध्ने खोर बनिरहेको छ ।

तत्कालीन जिल्ला विकास समिति हाल जिल्ला समन्वय समिति रसुवाको मातहतमा रहेको सभाहल पुनर्निर्माणका लागि जिल्लाबाट यथेष्ट पहल भए पनि संघ, प्रदेश तथा स्थानीय सरकारले चासो नदिँदा र पुनर्निर्माण कार्यालय तथा राजनीतिक दलको खिचातानीका कारण खण्डहरमा परिणत भएको हो । सभाहल खण्डहर बनेपछि अहिले सभा, गोष्ठीलगायतका कार्यक्रम खुला आकाशमुनि हुने गरेको छ । जिल्लामा मन्त्री, सांसद जो आए पनि सभाहल बनाउँछु त भन्छन् तर व्यवहारमा लागू नगर्ने नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

शहरी विकासमन्त्री रामवीर मानन्धर रसुवा आउँदा सभाहल हेरेर अब छिट्टै बन्छ भनेर जानुभए पनि आजसम्म बन्ने सुरसार छैन ।यो सभाहल वनाउन डीपीआर गर्न नै करिब ४० करोड रुपियाँ लाग्ने बताइएको छ । २०३२ सालमा निर्माण भएको सभाहलमा विभिन्न सभा, समारोह, गोष्ठी जस्ता कार्यक्रम हुने गर्दथ्यो । जिल्लाको एक मात्र सभाहल तत्कालै पुननिर्माण गरिनुपर्ने स्थानीयको माग छ ।