विप्लव समूह खुलेआम चन्दा असुल्दै


विनोदसिंह विष्ट, बैतडी  । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले खुलेआम बैतडीमा चन्दा असुली गरिरहेको छ । उक्त पार्टीले जिल्लाको सिगास गाउँपालिकाबाट जनप्रतिनिधि र उपभोक्ता समितिका अध्यक्षबाट चन्दा असुली गरेको खुल्नमा आएको हो ।

आफू विप्लवको कार्यकर्ता हुँ भन्दै धम्क्याएर रकम असुली गरिरहेका त्यहाँका स्थानीय बासिन्दाले बताएका छन् । सिगास गाउँपालिका–९ का स्थानीय तथा दोगाड लघु जलविद्युत् आयोजनाका अध्यक्ष गंगासिंह धामीले आफूबाट १० हजार चन्दा मागेर लगेको बताउनुभएको छ । उक्त आयोजना ५० लाखमा निर्माण हुन लागेको र त्यसको २ प्रतिशत पार्टीलाई सहयोग गर्नुपर्छ भनेर मागेका हुन् । उहाँले भन्नुभयो– ‘उनीहरुलाई चन्दा दिएको रसिद मसँग सुरक्षित छ, २० हजार भनेका थिए, पछि १० हजार जबरजस्ती लगे । हामीले सबैबाट उठाउँदै आएका छौं, अनिवार्यरूपमा दिनुपर्छ भन्दै धम्की दिए ।’

राजेन्द्र विक नाम गरेका व्यक्तिले १० हजार चन्दा स्वरूप भनेर लगेको धामीको भनाइ छ । धामी नेपाली कांग्रेसका क्रियाशील सदस्य पनि हुन् ।
यस्तै, सिगास–९ का निर्वाचित वडा सदस्य कुष्णसिंह धामीले पनि आफूसँग उक्त समूहले चन्दाको माग गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘भेटेरै मसँग चन्दाको कुराकानी गरे, तर मैले दिएको छैन ।’यता, विप्लव समूहका बैतडी जिल्ला सचिव अर्जुन दयालले पनि आफूहरुले चन्दा उठाइरहेको स्वीकार्नुभएको छ । ‘सबै स्थानीय तहमा गएर हामीले सहयोग मागिरहेका छौं’, उहाँले भन्नुभयो– ‘हामीले सहमतिमै चन्दा मागिरहेका हौं, जबरजस्ती दबाब गरेर मागेको होइन, यति प्रतिशत मागेको भन्ने प्रचार पनि गलत हो ।’पार्टी वार्तामा गएको भए पनि आफूहरुका कार्यक्रम, जनसम्बन्ध अभियान जारी रहेकाले सहयोग उठाइरहेको दयालको दाबी रहेको छ । हाम्रो सहमति भएको भए पनि मुद्दा खारेज नभएको, बन्दीहरुलाई नछाडेको सरकारले धोका दिएको दयारलको आरोप रहेको छ । ‘हामीले संगठन विस्तारको कामलाई तीव्रता दिएका छौं, वार्ता भए पनि सहमतिअनुसार काम भएको छैन, भोलि केही पनि हुन सक्छ, भर छैन ।’ –उहाँले भन्नुभयो ।

उता सिगासमा विप्लव समूहले चन्दा उठाएको भन्ने कुरा प्रहरीसमक्ष आएकाले अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो । चन्दा असुल्ने पाइँदैन उहाँले भन्नुभयो– ‘हामीलाई फोनमार्फत चन्दा असुली गरेको जानकारी आएलगत्तै हामी अनुसन्धानमा जुटेका छाै ।’सरकार र प्रतिबन्धमा रहेको विप्लव समूहबीच विस २०७७ फागुनमा ३ बुँदे सहमति भएको थियो । दुवै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र संवादबाट समाधान गर्ने, नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्णरूपमा गर्न आउने, नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाइ गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्र्ने सहमति भएको थियो ।