जेलभित्रै बहिनीको बलात्कारीको हत्या


वासिङ्टन डीसी, (एजेन्सी) । 

अमेरिकाको वासिङ्टन राज्यका एकजना कैदीलाई कारागारभित्रै हत्या गरेको अभियोगमा अदालतले झन्डै २५ वर्ष लामो कारावास सजाय सुनाएको छ । उनले आफूसँगै एउटै कोठामा थुनिएका आफ्नी बहिनीका बलात्कारीको हत्या गरेका थिए ।

केचक्युका अनुसार सन् २०२० जुलाईमा एयरवे हाइट्स सुधारगृहमा थुनिएका ७० वर्षीय कैदी रोबर्ट मन्गर बाल बलात्कारी भएको र उनले आफ्नी बहिनीलगायत थुप्रैमाथि कुकर्म गरेको थाहा पाएपछि २६ वर्षीय सेन गोल्ड्सवाईले उनीमाथि सांघातिक आक्रमण गरेको प्रहरीले जनाएको छ । गोल्डसवाईले ४३ वर्ष लामो काराबास सजाय भुक्तान गरिरहेका मन्गरको टाउको र अनुहारमा १४ पटक मुक्का बजाइसकेपछि फेरि कम्तिमा चारपटक टाउको बजार्नुका साथै थुप्रचोटि उनलाई लात्ती प्रहार गरेका थिए ।

अदालतमा सजाय सुनाइँदा उनदे मन्गरका परिवारसँग रुँदै क्षमायाचना गरेका थिए । प्रहरीको गाडी चोरेर भाग्ने क्रममा लखेट्ने प्रहरी टोली नै सवारी साधन दुर्घटनामा घाइते हुनेगरी अपराध गरेको अभियोगमा उनी कैद भुक्तान गर्दै थिए । गत वर्षसँगै बस्ने क्रममा वृद्ध मन्गरले उनलाई आफ्नो अपराध कथाहरू सुनाएर आफैंले काल निम्ताएको प्रहरीले प्रतिक्रिया दिएको छ ।