यौनकाण्डका कारण अलिबाबाका कर्मचारीहरू कारवाहीमा


साङ्घाई, (एजेन्सी)  । 

चीनको चर्चित अनलाइन व्यवसायी अलिबाबा ग्रुप होल्डिङ लिमिटेडले आइतबार यौन उत्पीडन कार्यमा संलग्न रहेको आशंकामा थुप्रै कर्मचारीलाई निलम्बन गरेको जनाएको छ । एकजना महिला कर्मचारीले कम्पनीको इन्ट्रानेटमा आफूलाई आफ्नो बोस र एकजना ग्राहकले यौनशोषण गरेको व्यहोरा उल्लेख गरेपछि यसरी अनुशासनसम्बन्धी कारबाही थालिएको हो ।

नाम नखुलाइएकी ती पीडित महिलाले कम्पनीको इन्टरनेटमा राखेको ११ पृष्ठ लामो पीडीएफ फाइल तत्कालै अनलाइनमा भाइरल हुन पुगेको थियो । चीनको ट्विटरजस्तो माइक्रोब्लगिङ वेबसाइट वेइवोमा सो फाइल भाइरल भएको थियो ।जिनान शहरका प्रहरीले यस विषयमा आफूहरूले छानबिन गरिरहेको बताएका छन् । अलिबाबाद्वारा जारी गएिको विज्ञप्तिमा त्यहाँका प्रवक्ताले भनेका छन्, ‘अलिबाबा गु्रपभित्र यौन दुव्र्यवहारविरुद्ध शून्य शहनशीलता नीति रहेको छ । हाम्रा सम्पूर्ण कर्मचारीहरूलाई सुरक्षित कार्यथलो सुनिश्चित गर्नु अलिबाबाको प्रमुख प्राथमिकता हो । हाम्रो नीति र मान्यताहरूविपरीत गएको आशंकामा परेका केही कर्मचारीलाई निलम्बित गरेका छौं । यस विषयमा अनुसन्धान गर्न र अनुसन्धानरत प्रहरीलाई समेत मद्दत गर्न हामीले विशेष आन्तरिक कार्यदल गठन गरिसकेका छौं ।’

ती महिलाले आफ्नो गुनासोमा उल्लेख गरेकी छन्– ‘मेरो बोसले अलिबाबाको प्रधान कार्यालय रहेको हाङझोउदेखि करिब ९ सय किमि टाढाको जिनान शहरमा एकजना ग्राहक भेट्नसँगै जान कर गरे । २७ जुलाईको साँझ मलाई ती ग्राहकले चुम्बन गरे । रक्सी सेवन गरेपछि भोलिपल्ट बिहान होटेलको कोठामा बिउँझिदा मेरो शरीरमा कुन लुगा थिएनन् । सीसीटीभी फुटेजमा आफ्नो बोस सो बेलुका चारपटक मेरो कोठामा छिरेको देखिएको छ ।’यस सम्बन्धमा अलिबाबाका कार्यकारिणी अधिकारी ड्यानियल झाङले कम्पनीका म्यानेजरलाई बर्खास्त गरिने तथा आफूमाथि लगाइएका आरोपबारे चित्तबुझदो जवाफ दिन नसकेका अन्य दुईजना बोसलाई पनि कामबाट निकालिने जानकारी दिएका छन् ।