चीनमा क्यानाडालीको मृत्युदण्डविरुद्धको अपिल अस्वीकृत


बेइजिङ, (एजेन्सी)  । 

चीनमा एकजना क्यानाडाली नागरिकले आफूलाई सुनाइएको मृत्युदण्डविरुद्ध गरेको अपिल अस्वीकृत भएको छ । लागुपदार्थ तस्करी गरेको अभियोगमा अदालतले उनलाई यो सजाय सुनाएको थियो ।

अदालतले रोबर्ट लोयड स्केलेन्वर्गविरुद्धको प्रमाणहरू पर्याप्त भएकाले उनलाई मृत्युदण्डबाट उन्मुक्ति दिन नसकिने स्पष्ट पारेको छ । सन् २०१५ मा उनलाई शुरूमा १५ वर्ष लामो कारावास सजाय सुनाइएको थियो । तर, २०१९ मा पुनरावेदन अदालतले सो सजाय निकै कम भएको बताउँदै दोश्रो मुद्दा चलाएर मृत्युदण्ड दिने निर्णय गरेको थियो ।

यस अदालती निर्णयको कारण क्यानाडाबीचको कुटनीतिक सम्बन्धसमेत चिसिन पुगेको थियो । चीनका लागि क्यानाडाली राजदूत डोमिनिक बार्टनले चिनियाँ अदालतको यस निर्णयको आलोचना गर्दै भनेका छन्– ‘चीनको हुवावेई कम्पनीका वरिष्ठ कार्यकारिणी अधिकारी मेंग वान्झोउलाई समेत क्यानाडाबाट चीनसमक्ष सुपुर्दगी गर्ने सम्बन्धमा प्रक्रिया अघि बढिरहेका बेला आएको यस्तो निर्णलाई ‘संयोग’ मात्र मान्न सकिन्न ।
संयुक्त राज्य अमेरिकाको पक्राउ पुर्जीका आधारमा हाल चिनियाँ टेलिकम कम्पनी हुवावेईका संस्थापककी पुत्री मेंग क्यानाडाको कारावासमा थुनिएकी छन् । यसअघि, क्यानाडाले चीनलाई बन्धक कुटनीति चलाएको आरोप लगाएको थियो । तर, चीनले भने ती दुईवटा घटनाको आपसमा कुनै सम्बन्ध नरहेको जनाएको छ ।

करिब दुई सय २७ किलो ग्राम मेथाम्फेटामाइन चीनबाट अस्ट्रेलियातर्फ तस्करी गर्ने योजना बनाइरहेको अभियोगमा स्केलेन्वर्गलाई सन् २०१४ मा पक्राउ गरिएको थियो । तर, उनले सो आरोप अस्वीकार गर्दै आफू पर्यटकका रूपमा मात्र चीन गएको बताएका छन् ।