अनलाइन पठनपाठनका लागि शिक्षकलाई ल्यापटप


मिला दरै, तनहुँ । 

व्यास नगरपालिका–१४ की प्रशंसा लामा केशवटार माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ । कोभिड संक्रमणका कारण दशैभर निषेधाज्ञा जारी रहेकाले अहिले भौतिकरूपमा कक्षा सञ्चालन तथा पढाइ निरन्तर नहुँदा शिक्षाबाट वञ्चित हुनुभएको छ ।

शहरका विद्यार्थी अनलाइन कक्षा पढेको सुन्दा पनि आफूलाई गाउँमा बसेकोमा पीडाबोध हुने गरेको उहाँ बताउनुहुन्छ । प्रशंसा भन्नुहुन्छ– ‘कोभिड–१९ को संक्रमण फैलिएसँगै शहरका विद्यालयहरुमा अनलाइन कक्षामार्फत पठनपाठन निरन्तर भएको छ । तर, हामी गाउँका प¥यौं, हामीहरु भएको ठाउँसम्म कहिले पाइएला र अनलाइन कक्षा भन्ने चिन्ता लाग्छ, पढाइबिना नै अन्तिम नतिजा ल्याउने भनिन्छ, ल्याइएको पनि छ, तर पढेर नै प्रत्यक्षरूपमा परीक्षा दिएर ल्याएको नतिजाले मात्रै आफूलाई सन्तुष्ट बनाउने भए पनि त्यसो हुन नसक्दा खिन्न लाग्छ ।’

प्रशंसा जस्तै कक्षा ९ मा अध्ययनरत अनिशा थापालाई गाउँमा अनलाइन पढाइ नहुँदा भविष्यमा सफलता पाउन मुस्किल हुन्छ भन्ने चिन्ता लागेको बताउनुहुन्छ । ‘गाउँमा पनि अनलाइन कक्षाबाट भए पनि पढ्न पाए हुन्थ्यो भन्ने लाग्छ, गाउँका विद्यालयहरुमा इन्टरनेट र प्रविधिको पहुँच नपुगेर यहाँका विद्यार्थी शिक्षाबाट वञ्चित भएका छन्, कसले सोचिदिन्छ जस्तो लाग्छ’, अनिशा भन्नुहुन्छ– ‘तर, ग्रामीण क्षेत्रका विद्यार्थी शिक्षाबाट नै अहिले वञ्चित भएका छन् ।’शहरका विद्यार्थी अनलाइन कक्षामा व्यस्त भएको भेटिन्छन् भने ग्रामीण क्षेत्रका विद्यार्थी गाई–गोरु, बाख्रा चराउँदै गोठाला बनेका छन् । ग्रामीण क्षेत्रमा भौतिकरूपमा उपस्थितिबिना पठनपाठन हुन सक्ने अवस्था छैन । ग्रामीण क्षेत्रमा विद्युत् आपूर्तिको समस्याका साथै इन्टरनेटको पहुँच पनि राम्रो नहुँदा अनलाइन कक्षा सञ्चालन गर्न सकस भएको शिक्षा विकास तथा समन्वय एकाइ तनहुँले जनाएको छ ।

लामो समयदेखि भौतिक उपस्थितिबिना कक्षा सञ्चालन गर्न नसक्दा विद्यार्थीको मौलिक अधिकारअन्तर्गतको शिक्षा पाउने अधिकारबाट नै हनन भएको विज्ञहरु बताउँछन् । यहाँका विद्यार्थीहरुको गुनासो अब भने विद्यालयले पूरा गर्ने भएको छ । ग्रामीण क्षेत्रको शैक्षिक गुणस्तर वृद्धि गर्दै अनलाइन कक्षा सञ्चालनका लागि व्यास नगरपालिका–१४ स्थित केशवटार माध्यमिक विद्यालयले शिक्षकलाई ल्यापटप उपलब्ध गराएको छ । विद्यालयको शैक्षिक गुणस्तरिता वृद्धिका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत आएको बजेटले विद्यालयलाई प्रविधिमैत्री बनाउदै कक्षा सञ्चालनमा ल्याउने तयारी गरेको व्यास–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार विद्यालयलाई प्रविधियुक्त बनाउनुका साथै अनलाइन कक्षामार्फत पठनपाठनलाई निरन्तरता दिने उद्देश्यले शिक्षकलाई ल्यापटप प्रदान गरिएको हो । विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप’ मूल उद्देश्यका साथ विद्यालयका १५ शिक्षकलाई ल्यापटप प्रदान गरेको उहाँले बताउनुभयो । ‘अनलाइन कक्षा सञ्चालनमा ल्यापटपको अभावमा सकस भएपछि शिक्षकलाई प्राविधिक सामग्रीयुक्त बनाउन ल्यापटप प्रदान गरेकाले अब विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न सहज हुने भएको छ ।’ –श्रेष्ठले भन्नुभयो ।संघ सरकारबाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि आएको बजेट व्यास नगरपालिकामार्फत प्राप्त ६ लाख ५० हजार र विद्यालयको आन्तरिक स्रोतबाट २० प्रतिशत गरी विद्यालयका शिक्षकलाई प्राविधिक सामग्रीयुक्त बनाएर कक्षा सञ्चालनलाई अगाडि बढाउने प्रयत्न गरिएको उहाँले बताउनुभयो ।

‘विद्यालयलाई नमुना विद्यालय बनाउने उद्देश्यका साथ शिक्षकलाई कम्प्युटरसम्बन्धी प्रशिक्षण दिएर सामग्री उपलब्ध गराएका छौं । कम्प्युटर ज्ञान भएका १५ शिक्षकलाई पहिलो चरणमा ल्यापटप प्रदान गरिएको छ’, वडाध्यक्ष श्रेष्ठ भन्नुहुन्छ– ‘कम्प्युटर ज्ञान नभएका शिक्षकलाई पनि तालिमको व्यवस्था गरेका छौं । केही शिक्षक तालिम लिइरहनुभएको छ ।’विद्यालयकामा निजी स्रोतका समेत गरी प्राध्यापनरत २२ शिक्षकमध्ये पहिलो चरणमा प्राविधिक ज्ञान भएका शिक्षकलाई सामग्री प्रदान गरिएको हो । प्रधानाध्यापक दुर्गाबहादुर आलेका अनुसार विद्यालयमा २०६४ सालमा वायरलेस इन्टरनेट शुरु भएको थियो । ‘अनलाइन कक्षा सञ्चालन गर्ने विद्यालयको योजना १४ वर्षपछि अहिले सार्थकता पाएको छ ।’ –उहाँले भन्नुभयो ।यसअघि नै विद्यालयमा २५ वटा कम्प्युटरमार्फत विद्यार्थीलाई प्राविधिक शिक्षा दिँदै आएको छ । कोभिडको जोखिममा विद्यालयले कक्षा १० का माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थी र कक्षा ११ तथा १२ का विद्यार्थीलाई अनलाइनबाट प्राध्यापन गर्दै आएको छ । ग्रामीण क्षेत्रको विद्यालय भए पनि प्रविधिसँग जोड्दै अनलाइन कक्षामार्फत पठनपाठनलाई निरन्तरता दिने योजना सफल भएको प्रधानाध्यापक आलेले बताउनुभयो ।

‘ग्रामीण क्षेत्रका विद्यालयलाई प्रविधिमैत्री नमुना विद्यालय बनाउँदै भौतिक उपस्थितिबिना नै अनलाइन कक्षामार्फत शिक्षा दिने वातावरण तयार गरिरहेका छौं । ग्रामीण क्षेत्रका विद्यार्थीको पढाइले निरन्तरता पाउनेछ ।’ –आलेले भन्नुभयो । विद्यालयले सरकारबाट प्राप्त प्रतिविद्यार्थी १ सय २५ रुपियाँबाट इन्टरनेट खरिद गरी नियमित कक्षा सञ्चालन गर्ने प्रधानाध्यापक आलेले बताउनुभयो । उहाँका अनुसार विद्यालयले कक्षा ६ देखि माथिका सबैलाई अनलाइनमार्फत पठनपाठन गराउने तयारी भएको छ ।विद्यालयले शिक्षकलाई ल्यापटप प्रदान गरी अनलाइन कक्षा सञ्चालन गर्ने भएपछि उक्त विद्यालयका कक्षा १० मा अध्ययनरत छात्रा सफलता थापा खुसीले सीमा नभएको बताउनुहुन्छ । ‘हामी त यसै वर्ष एसईई दिने तयारी भएकाले अनलाइन कक्षाबाट पठनपाठन गरिरहेका छौं, तर अब यहाँका साना कक्षाका भाइबहिनीले पनि पढ्न पाउने हुनुभएको छ ।’ –सफलताले भन्नुभयो ।