ओभरलोड गाडी नाकामै रोकिए



यमलाल भुसाल, बुटवल । 

क्षमताभन्दा कयौं गुणा बढी लोड बोकेका भारतीय मालबाहक ट्रकका कारण नेपाली ट्रक व्यवसायीको लगानी ध्वस्त परेको भन्दै रुपन्देहीका ट्रक व्यवसायीले बेलहिया नाकामा भारतीय मालबाहक सवारी रोकेका छन् ।भारतबाट भारबाहन क्षमताभन्दा तेब्बरसम्म लोड बोकेर आउने गरेका कारण नेपाली मालबाहक गाडी खाली बस्नु परेको व्यवसायीको गुनासो रहेको छ । भार क्षमताभन्दा बढी सामान बोकेर भारतीय गाडी निर्वाध चल्दा नेपालका मालबाहक सवारी खाली बस्नु परेको र भारतीय गाडीका कारण नेपालको सडक बिग्रिने गरेको भन्दै व्यवसायी नाकामा भारतीय मालबाहक गाडी रोकेका हुन् ।

भारतबाट सामान बोकेर नेपाल आई भन्सार जाँचपास गरेर बाहिर निस्किएका भारतीय नम्बर प्लेटका मालबाहक गाडी सोमबारदेखि रुपन्देहीको बेलहियास्थित बाइपास सडकमा रोकिएका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष अर्जुन भुसालले भारतीय ओभरलोड बोकेका गाडीका कारण आफूहरुका माल बाहक गाडी खाली बस्नु परेको र नेपालका सडक भत्किएको भन्दै रोकेको बताउनुभयो ।क्षमताभन्दा दोब्बर–तेब्बर सामान बोकेका यी सवारी भन्सार बिन्दुमै भारमिलान गरी गन्तव्यमा जानुपर्ने कानुनी व्यवस्था छ । तर, कानुनको अवज्ञा गर्दै ओभरलोड बोकेका गाडी नेपालका जुनसुकै ठाउँमा निर्वाध चलिरहेका छन् । नियमक निकाय नै चुपचाप भएकाले समस्या विकराल भएको नेपाल ट्रक यातायात व्यवसायी महासंघका निर्वतमान अध्यक्ष अर्जुन रानाभाटको भनाइ छ ।मालबाहक सवारी साधनको भारबहन नियमनसम्बन्धी निर्देशिका– २०७४ अनुसार भारतबाट ओभर लोड बोकेर आउने गाडीले भन्सार बिन्दुमै भारमिलान गरी सम्बन्धित ठाउँमा जानुपर्ने व्यवस्था छ । तर, ओभरलोड बोकेर आउने भारतीय गाडीको भारमिलान हुँदैन । यस्ता गाडी निर्वाध नेपालमा चल्छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख दामोदर मल्लले नाकामा ओभरलोड गाडीलाई अधिकतम् एक हजार ५ सय रुपियाँ जरिवाना काटेर छाड्ने गरेको छ । जरिवान काटेकै भरमा नेपालभर निर्वाध चल्न दिँइदा नेपाली व्यवसायी फुसर्दिला भएका हुन् । ट्राफिक प्रहरीका अनुसार अधिकांश भारतीय गाडी ओभरलोड बोकेर नेपाल आउने गर्छन् ।व्यवसायीले भन्सार बिन्दुमै भारमिलान गर्नुपर्ने माग गर्दै आएका छन् । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानले भने आर्थिक ऐन र भन्सार ऐनले ओभर लोड हेर्ने जिम्मेवारी नदिएको भन्दै पन्छिने गरेको छ ।नियमअनुसार नेपालमा चल्ने मालबाहक ६ चक्के सवारीले ९ दशमलव ६, १० चक्केले १६ दशमलव २, १२ चक्केले २१, १४ चक्केले २५ र १८ चक्केले ३० टन बोक्न पाउँछन् । नेपालको सडकमा बढीमा ३० टन बोकेका सवारी गुड्न पाउने व्यवस्था गरिएको छ । तर, भारतीय एउटै सवारीले ९६ टनसम्म सामान बोकेर आउने गरेका छन् । भारतीय मालबाहक गाडीलाई जरिवानाकै भरमा नेपालमा निर्वाध चल्न दिएको छ । तर, नेपाली मालबाहक गाडीलाई ३० टनभन्दा बढी बोक्नमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्