उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाइने


काठमाडौं, (नेस) । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले सस्तोमा वस्तु उत्पादन गर्ने अवसर दिएर नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ। नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष पौडेलले सरकारको खर्च घटाइ उद्यमीलाई सहुलियत दिने बाटोमा अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो।

निजी क्षेत्रलाई करको दायरा कम गर्ने बाटोमा अघि बढेको उल्लेख गर्दै दीर्घकालीन राजस्वका स्रोत खोज्ने र सरकारको खर्च कम गर्ने बाटोमा अघि बढ्ने धारणा राख्नुभयो । उद्यमीले व्यहोर्दै आएका जोखिम न्यूनीकरण गर्न सरकारले सहजीकरण गर्ने पौडेलको भनाइ छ । अर्थतन्त्रमा उत्पादनशील क्षेत्रको योगदान कमजोर रहेको भन्दै सरकारको चालू खर्च उच्च रहेकाले पुँजीगत खर्च वृद्धि गर्नुपर्ने चुनौति रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न उत्पादनमुखी अर्थतन्त्रलाई पहिलो उद्देश्य बनाएर काम गर्नुपर्ने बताउनुभयो। अध्यक्ष अग्रवालले परिसंघले औद्योगिक विकास र उत्पादनमूलक अर्थतन्त्रको जग बसाल्न मेक इन नेपाल स्वदेशी अभियान सञ्चालन गरेको भन्दै उक्त अभियान सञ्चालन गर्ने सोच कार्यान्वयन गर्ने महŒवपूर्ण श्रेय उपाध्यक्ष पौडेललाई जाने बताउनुभयो।