सरकारी संस्थानमा लगानीको २ प्रतिशतमात्रै प्रतिफल


काठमाडौं, (नेस) । 

सरकारी संस्थानमा सरकारको लगानीअनुसारको प्रतिफल अत्यान्तै न्यून रहेको सरकारले जनाएको छ । मंगलबार प्रस्तुत देशको आर्थिक अवस्थाको चित्रणमा आर्थिक वर्ष २०७७-७८ को अन्त्यसम्म सार्वजनिक संस्थानमा सरकारको लगानी ६ खर्ब ५४ अर्ब पुगेको छ । तर, लगानीबाट २ प्रतिशतको हाराहारीमा मात्रै प्रतिफल प्राप्त हुन सकेको उल्लेख छ ।

हाल सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २४ वटा संस्थानमात्रै नाफामा सञ्चालित छन् भने १८ वटा संस्थान घाटामा सञ्चालित छन् । नाफामा रहेकामध्ये पनि अधिकांश संस्थान सामान्य सञ्चालन नाफामा मात्र रहेका छन् । प्रत्येक वर्ष सार्वजनिक संस्थानको सञ्चित नोक्सानी थपिँदै आर्थिक वर्ष २०७६ – ७७ मा ३४ अर्ब २४ करोड रुपियाँ पुगेको छ । सार्वजनिक संस्थानको व्यवस्थापकीय सुधार हुन नसक्ने हो भने संस्थान स्थापनाको उद्देश्य र औचित्य स्थापित गर्न सकिने देखिँदैन । कतिपय संस्थानहरुले कोषमा व्यवस्था नगरिएको दायित्व सिर्जना गरेका कारण सरकारले वर्षेनी ठूलो रकम खर्चिनु परेको छ ।