पाँच विद्यार्थी संगठनको मागअनुसार परीक्षा नरोकिने


नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारनिकट पाँच विद्यार्थी संगठनले आधाभन्दा धेरै विद्यार्थीले परीक्षा दिइसकेको कारण परीक्षा स्थगित नगर्न त्रिविलाई आग्रह गरेअनुसार परीक्षा नरोकिने भएको छ ।परीक्षा केन्द्रमा स्वाथ्य मापदण्ड पालना नगरी जबरजस्ती परीक्षा सञ्चालन गरेको आरोप लगाउँदै मंगलबार केही विद्यार्थीले प्रदर्शन गरेका थिए । वागबजारस्थित पिके क्याम्पसमा प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले धडपकड गरेको थियो । प्रहरीले विरोध प्रदर्शन गर्ने ७ विद्यार्थीलाई पक्राउ गरेको थियो । विद्यार्थीले नाराबाजी जारी राखेपनि त्रिविले परीक्षा स्गथित गरेन ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठसंगको भेटमा सबै परीक्षार्थीलाई आज बु्धबारबाट खोपको सुनिश्चितता गरिने प्रतिबद्धता जनाएपछि परीक्षाको सबै कार्यक्रम यथावत राख्न त्रिविका उपकुलपति लगायतका पदाधिकारीलाई आग्रह गरेको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो– लामो समयदेखि परीक्षा स्थगित हुँदा परीक्षा प्रणालीमा गम्भीर समस्या पर्नेभएको कारण नियमित रुपमा परीक्षा सञ्चालन गर्न आग्रह गरेका हौं । त्रिविले धेरै विद्यार्थी भएको परीक्षा सकिएको र थोरै संख्यामा रहेका केही विद्यार्थीको मात्र परीक्षा लिन बाँकी भएको जनाएपछि परीक्षा स्थगित नगर्न आग्रह गरेका हौं–अध्यक्ष ढुंगानाको भनाइ थियो ।परीक्षा नरोक्ने आग्रहपत्रमा हस्ताक्षर गर्नेहरुमा नेविसंघका ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेल हुनुहुन्छ ।पाँच विद्यार्थी संगठनका अध्यक्षहरुले त्रिविसमक्ष परीक्षा स्थगित नगर्न हस्ताक्षर सहितको पत्र बुझाएपछि परीक्षा लिने प्रक्रियालाई निरन्तरता दिएका छौ–त्रिविका उपकुलपति प्राडा धर्मकान्त बासकोटाले नेपाल समाचारपत्रसंँग भन्नुभयो ।

परीक्षा दिन मन नभएका केही विद्यार्थीले प्रदर्शनकै कारण परीक्षा स्थगित गर्न नमिल्ने उहाँको भनाइ थियो । ‘विद्यार्थी संगठनले नै परीक्षा नरोक्नु भनेपछि हामीले के गर्ने ? मुख्य सरोकारवालाले नै परीक्षा लिनैपर्ने दवाव दिएकोले परीक्षा स्थगित नगरेका हाै’–उपकुलपति प्राडा बास्कोटाको भनाइ थियो ।वागबजारस्थित पिके कलेजको गेटमा विद्यार्थी र स्वयं परीक्षार्थी प्रवेशपत्र बोकेर परीक्षा रोक्न माग गर्दै विरोधमा उत्रिएका थिए । त्यहाँ १८ कलेजको परीक्षा केन्द्र तोकिएको छ । त्रिविले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षालाई यथावत गर्ने निर्णय गरेको छ ।