जनता झुक्याउने प्रवृत्ति


मुलुकको राजनीतिमा देखिएको तरलताले आम नेपालीको मन कुँडिएको छ । विद्यमान राजनीतिक शक्तिमा देखिएको चरम व्यक्तिवादी प्रवृत्तिले विकास निर्माण तथा सुशासनमा गम्भीर असर परेको छ । जनताका दैनिक समस्या एकातिर अलपत्र परेका छन् भने अर्कोतर्फ विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणको बाह्य तथा आन्तरिक समस्याबाट मुलुक थप आक्रान्त बन्दै गएको छ ।

विश्व मानचित्रमा कुनै बेला नेपाल चर्चाको विषयभित्र पर्ने गरेको थियो । तर, अहिले चर्चा हुन्छ सकारात्मक होइन नकारात्मक पक्षको । नकारात्मक पक्षमा भ्रष्टाचारको सन्दर्भ निकै सबल र त्रासद बनेर प्रकट भएको छ । गरिबी, अशिक्षा, बेरोजगारीले ग्रस्त भएको भन्ने उपमा नेपालले पाउँदै आएको छ । यसको कारण हो मुलुकको मौजुदा राजनीतिक दल र ती दलको नेतृत्व गर्ने नेताहरूमा भिजन नहुनु । आसेपासे र आफन्तभन्दा पर जान नसक्ने दलका नेताका कारण मुलुक झन्–झन् पछि पर्दै गएको छ । प्रचुर सम्भावना भएर पनि आज लाखौं युवा रोजिरोटीका लागि विदेशतिर लाग्ने बाध्यतामा छन् । जीविकोपार्जनका लागि केही धन कमाउन गएकामध्ये दैनिक नौ व्यक्ति काठको बाकसमा प्याक भएर फर्कन बाध्य छन् । ती दृश्यले नेपाली नेतालाई छुन नसक्नुले उनीहरूको भिजन कस्तो छ भन्ने प्रष्ट हुन्छ । मुलुकमा नेता त उत्पादन भए तर राजनेता पाउन सकिएन । यही नै नेपालका लागि गम्भीर दुर्भाग्यको विषय बनेको छ ।

तत्कालीन राजा महेन्द्र र कांग्रेसका संस्थापक नेता बीपी कोइरालामा मुलुक बनाउने भिजन भए पनि दुई नेताबीचको टकरावले मुलुकको प्रगतिमा तगारो लाग्न पुगेको थियो । त्यसपछि कम्युनिस्ट नेताकारूपमा मदन भण्डारी उदाएको केही समयपछि नै उहाँंको रहस्यमय ढंगबाट मृत्यु भएपछि नेपालले अहिलेसम्म राजनेता पाउन सकेन र अहिले राजनीति गर्ने वृद्ध वा युवा नेताको गतिविधि हेर्दा राजनेता हुने कुनैमा लक्षण देखिएको छैन ।केवल राजनीति गर्ने नाममा जस्तोसुकै खेलमा सामेल हुने र ‘लाज’ भन्ने शब्द नै उनीहरूको शब्दकोशबाट हट्नुले पनि मुलुकमा विकृति र विसंगति मौलाउँदो अवस्थामा पुगेको छ । अदालतको आदेशबाट पाँचौंपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा सत्तामा आएको पनि एक महिना हुनलागेको छ ।

उहांँले अहिलेसम्म मन्त्रिमण्डल विस्तार गर्न सक्नुभएको छैन । आफ्नै मन्त्रिमण्डल विस्तार गर्न नसक्ने र विदेशीले दिएको कोरोना संक्रमण विरुद्धको खोपसमेत ठीक किसिमले व्यवस्थापन गरेर जनतालाई लगाउन नसक्ने देउवाको सरकारबाट बढी अपेक्षा गर्न सकिन्न । गफ दिने र जनता झुक्याउने खेलमा देउवा सरकारले अग्रता लिने संकेत भने कोरोनाविरुद्धको खोप उत्पादन गर्ने घोषणाले दिएको छ । हावादारी गफ दिएर जनतलाई दिग्भ्रमित पार्ने काम हुनुले यो सरकारबाट पनि जनताले अपेक्षा गर्ने ठाउँं देखिँदैन । आजको मुलुकको आवश्यकता के हो त्यसतर्फ राज्यको ध्यान जान नसक्नुलाई बिडम्वना नै मान्नुपर्दछ । अब दलका नेतालाई राज्य सञ्चालन गर्ने तहमा पु¥याउँदा जनताले ध्यान दिन सकेनन् भने आगामी कैयन दशकसम्म मुलुकमा अस्थिरता कायम रहने पक्कापक्की नै छ ।