ओली उप्काउँदै नेपाल टाँस्दै


कपिल काफ्ले, काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ‘तपाईंले जति गाली गरे पनि हामी फर्काउँदैनौं, किनभने हामी पार्टीको एकता चाहन्छौं’ भन्ने जवाफ दिएपछि सो पार्टीमा एकताको वातावरण बन्ने अपेक्षा गर्नेहरू केही समययता निरास भएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल पक्षले ओलीका साथ एउटै लहरमा बसेर एकताको ‘जेस्चर’ पनि देखायो । तर, ओलीको व्यवहारमा भने नेपाल पक्षमा उभिएका नेता–कार्यकर्ताप्रति कुनै सकारात्मक दृष्टिकोणको संकेत देखिएन । ओलीले सोमबार मात्र पनि नेपाल पक्षलाई ललकार्दै भन्नुभयो, –‘मलाई सच्चिने अन्तिम मौका छ रे, माफी माग भनेका छन् । अब मैले दाम चढाएर उनले जस्तै वरिपरि घुमेर माफी माग्नुपर्ने ?’ओलीले प्रधानमन्त्री रहँदा असंवैधानिक किसिमले प्रतिनिधिसभा विघटन गर्ने, अध्यादेशमार्फत सरकार चलाउने र कम्युनिस्ट पार्टीको व्यवहारअनुसार सामूहिक नेतृत्वको अभ्यास नगरेको वा पार्टीमा सल्लाह नगरी एक्लै चल्ने जस्ता व्यवहार गरेर अधिनायकवादी चरित्र आरोप लगाएको नेपाल पक्षले यसका लागि आत्मालोचना गरेर पार्टीलाई मिलाएर लानुपर्ने धारणा राख्दै आएको छ । तर, ओलीको आजसम्मको व्यवहार हेर्दा जतिसुुकै ठूलो उपलव्धिका लागि पनि झुक्ने सम्भावना देखिएन ।

ओलीले प्रधानमन्त्री पदबाट निष्कासनमा परेपछि पहिलोपटक मंगलबार प्रतिनिधिसभाको रोस्टममा जुनरूपमा बोल्नुभयो, त्यो हेर्दा पनि विरोधी वा प्रतिपक्षीलाई निर्मम प्रहार गर्ने अभ्यासमा कुनै कमी देखाउनुभएको छैन । आफ्नो कमजोरी स्वीकार गर्दा नै लोकतन्त्र बलियो हुन्छ, पार्टी एकढिक्का रहन्छ भन्ने सत्य उहाँले महसुस गर्नुभएको पाइएन ।आफ्नो सरकार जोगाउन भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग आफ्नो पदीय मर्यादा बिर्सेर ‘सम्झौता’ गरेको, कुर्सीकै रक्षाका लागि कानुन मिचेर जसपाको राजेन्द्र महतो समूहलाई सरकारमा भित्र्याएको, संविधान मिचेर जनप्रतिनिधिको उच्च संस्थालाई खारेज गरेको जस्ता गम्भीर गल्तीमाथि उभिएर विरोधीलाई आलोचना गर्ने उहाँको व्यवहार हेर्दा एमालेमा एकीकरणको सम्भावना क्षीण हुँदै गएको प्रमाणित हुन्छ ।छिमेकी भारतले नियन्त्रणमा लिएको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराका सम्बन्धमा वर्तमान देउवा सरकारले ‘सीमा समस्या’ भन्दै साझा न्यूनतम कार्यक्रम प्रकाशित गरेकोमा पनि ओलीको आपत्ति थियो, ‘यो भूमि वार्ता गरेर फिर्ता ल्याउँछु किन भन्न नसकेको ?’ प्रष्ट छ, सो क्षेत्रमा भारतले सडक खन्दा ओलीकै सरकार थियो, वर्षौंसम्म कानमा तेल हालेर बस्ने उहाँ नै हो । अरूलाई भन्न जति सजिलो छ, परराष्ट्र सम्बन्धमा ८० प्रतिशतभन्दा बढी भारतमा निर्भर रहेको नेपालका लागि राष्ट्रिय एकताको वातावरण नबनेसम्म यस्ता विषयमा प्रगति हासिल गर्न सजिलो छैन भन्ने तथ्य नक्सा पास गर्दाको अवस्थालाई स्मरण गरे पुग्छ ।

पछिल्लो समय दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट महाकालीमा खसेर बेपत्ता भएको घटनाको सत्यतथ्य पत्तालगाई बाहिर ल्याउन सरकारले सकिरहेको छैन, किनभने तुइनको डोरी काट्ने कार्य भारतीय सीमा सुरक्षाकर्मी एसएसबीबाट भएको भन्ने समाचार बाहिर आएको छ । यस्ता विषयमा राष्ट्रिय एकता, संयमता र रणनीतिक चातुर्य आवश्यक पर्छ, विगतको दुईतिहाइ निकटको ओलीबाट समेत ‘भूमि नै ल्याउँला, नक्सा किन चाहियो’ जस्ता टिप्पणी गर्दै पहिला पन्छिने काम नभएको होइन ।दलका नेताहरूमा जवाफका लागि जवाफ दिने जुन प्रवृत्ति देखिएको छ, त्यसलाई नेपाली बुद्धिजीवीले मन पराएको देखिन्न । ओलीले प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले मंगलबार देउवा सरकारको न्यूनतम साझा कार्यक्रमलाई ‘सडकतिर बाँडेको कागज’ भनेर जुन टिप्पणी गर्नुभयो, त्यसलाई सम्मानजनक शब्दचयनको टिप्पणी भन्न सकिन्न ।गत असार २८ मा भएको प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रधानमन्त्रीबाट हटेका ओलीका तीखा वचन सबैभन्दा बढी आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपालले नै सुन्नुपरेको छ ।

एमाले बनाउन जीवन लगाएका नेतालाई ‘देशद्रोही’ र ‘गद्दार’ भन्न पनि उहाँले बाँकी राख्नुभएन । नेपाल पक्ष पार्टी एकताका लागि संयम भए पनि ओली पक्षले भने आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने निर्णय गरिसकेको छ । संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाई पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । त्यस्तै, अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने पनि प्रस्तावित संशोधनमा उल्लेख गरिएको छ । वामदेव गौतम, रामबहादुर थापा बादल, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, विन्दा पाण्डे, ईश्वर पोखरेल, विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ र पद्मा अर्याल, सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल, प्रभु साहआदिलाई जिम्मेवारी दिइएको छ, नेपाल पक्षका कसैलाई पनि समावेश गरिएको छैन । प्रष्ट छ, ओलीलाई नेपाल पक्ष फुटेर बाहिर निस्केर गएको हेर्ने इच्छा छ । ओली उप्काउने र नेपाल टाँस्ने मानसिकतामा देखिनुभएको छ ।