प्रधानमन्त्रीज्यू, मेरै पार्टीका केहीलाई मन्त्री बनाइदिनुस् न: ओली

प्रतिपक्षीका रूपमा ओलीको पहिलो सम्बोधन


नेपाल समाचार पत्र, काठमाडौं ।

प्रधानमन्त्रीबाट हटेपछि मंगलबार पहिलोपटक प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुभएका पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आक्रमक रूपमा प्रस्तुत हुनुभएको छ भने आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको खिल्ली उडाउनुभएको छ ।

अध्यक्ष ओलीले माधव नेपाल पक्षको खिल्ली उडाउँदै आफ्नो दलमा केही घाटा भए पनि माधव नेपाल पक्षका लाई मन्त्री बनाइदिन प्रधानमन्त्री देउवासँग हात जोडेर बिन्ती गर्दै भन्नुभयो–‘सम्माननीय प्रधानमन्त्रीज्यू मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर तपाईंका पछि कुदेका छन् । तिनीहरूलाई मन्त्री दिनुस् न ! किन बिलम्ब गर्नुभएको ? हिरिक्क हिरिक्क भएका छन् विचराहरू मन्त्री खानका लागि प्लिज !’उहाँले अपवित्र, अनुचित र अलोकतान्त्रिक गठबन्धन गरेर आफूलाई हटाएको टिप्पणी गर्दै भन्नुभयो–‘मलाई प्रधानमन्त्रीबाट हटेकोमा चिन्ता छैन, फेरि पनि सुनिराख्नु भए हुन्छ, म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाट फेरि आउनेछु ।’ उहाँले प्रधानमन्त्री देउवालाई कटाक्ष गर्दै भन्नुभयो–‘राम्रो ग्रहदशाले मलाई प्रधानमन्त्री बनाएको होइन । विभिन्न पार्टीका नेताहरूको महत्वकांक्षा, कुण्ठा र अहंकार आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन, उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको होइन, म जाली मुद्दा जितेर परमादेशबाट पनि भएको होइन, जनादेशबाट भएको हो ।’

सर्वोच्च अदालतको आदेशका कारण सत्ताबाट बाहिरिनु परेका पूर्व प्रधानमन्त्री ओलीले अदालतको निर्णयमाथि बहस हुँदै जाने टिप्पणी गर्दै भन्नुभयो–‘अदालतजस्तो सबैले विश्वास गर्ने जनताको भरोसाको संस्था असन्तुलित नहोस् भन्ने मात्र चिन्ता हो ।’दुईपटक संसद विघटन गरेका पूर्व प्रधानमन्त्री ओलीले एमाले संसदीय दलका नेताको हैसियतमा प्रतिनिधिसभामा सरकार र प्रतिपक्षी दलबीच संवादहीनताको स्थिति रहेको र संसदलाई छलेर सरकारले साझा न्यूनतम कार्यक्रम ल्याएको आरोप लगाउनुभयो । उक्त साझा न्यूनतम कार्यक्रममा प्रमुख प्रतिपक्षलाई धम्क्याएर राष्ट्रिय सहमतिका लागि पहल गर्ने उल्लेख भएको टिप्पणी गर्दै उहाँले त्यसलाई सडकतिर बाँडेको कागजको संज्ञा दिनुभयो ।

प्रधानमन्त्री पदमा रहँदा अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्नुपर्ने अडान राख्नुभएको ओलीले सरकारको साझा न्यूनतम कार्यक्रममा उल्लेख नभएको टिप्पणी गर्दै भन्नुभयो–‘साझा न्यूनतम कार्यक्रममा एमसीसी बिर्सिनुभयो क्या हो ?खै मैले त देखिनँ । छैन कहीँ ।’
उहाँले अगाडि भन्नुभयो–‘तपाईं त बहुत मजबुत प्रधानमन्त्री हुनुहुन्छ । १ सय ६५ सिट तपाईंको साथमा छ । त्यो १ सय ६५ को सबल जत्थाले के भन्छ ? एमसीसी पास गर्ने, फेल गर्ने कि चुप लाग्ने ?’त्यस्तै, भारतसँगको विवादित भूमिबारे बोल्दै उहाँले भन्नुभयो–‘प्रधानमन्त्रीज्यू, लिम्पियाधुरा, लिपुलेक, कालापानी वार्ताद्वारा फिर्ता ल्याउँछु भनेर किन भन्न सक्नुभएन ?’बैठकमा यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगोसँग नखेल्न दिएको प्रतिक्रियाको ओलीले संसद्बाटै जवाफ दिनुभएको छ । उहाँले भन्नुभयो–‘उहाँले विगतमा देशमा लगाएको डढेलो म सम्झन्छु । उहाँ आगो हो थाहा छ । डढेलो लगाउनु हुन्छ ।’

बैठकमा बोल्ने सांसदहरूले भने कोरोना महामारीका कारण समस्यामा परेका नेपाली जनतालाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्ने सांसदहरूले बाढी पहिरोका कारण समस्यामा परेका नागरिकको उद्धार तथा राहत प्रदान गरी विपत्तिमा परेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न माग गरेका छन् ।सांसद शक्तिबहादुर बस्नेतले कोरोनाको तेस्रो लहर आउने सन्त्रास देखिएको सन्दर्भमा सरकारले के कस्तो प्रतिकार्यको योजना अगाडि सारेको छ भन्ने बारेमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्नुभयो । सांसद विन्दा पाण्डेले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको पञ्जीकरण गर्न र विदेशमा रहेका नेपालीलाई कार्यस्थलबाटै मतदानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा सांसदहरू लालकाजी गुरुङ, लालप्रसाद साँवा लिम्बू, लालबहादुर थापा, विद्या भट्टराई, बिन्दा पाण्डे, विष्णु शर्मा, शक्तिबहादुर बस्नेत, शशी श्रेष्ठ, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रिन, शेरबहादुर तामाङ, श्याम श्रेष्ठ, सत्या पहाडीलगायतले कोरोना कहर र प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत प्रदान गर्न, सीमा समस्या समाधान गर्न आग्रह गर्नुभएको थियो ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलाका जयसिंह धामीको तुइन चुँडिएर महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको भन्दै तुइन प्रकरणको विषयमा यथार्थ जानकारी दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।गत साउन १५ गते बिहान दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिएपछि स्थानीय धामी बेपत्ता भएको घटना सार्वजनिक भएको थियो । सरकारले सो घटनाको छानबिनका लागि साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । छानबिन टोलीलाई १० दिनको समयसीमा दिइएको छ ।