चितवन ।
जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनले आज यहाँ पत्रकारसँग भर्चुअल माध्मबाट आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सो सम्बन्धी तथ्याङ्क सार्वजनिक गरिएको हो ।
कार्यालयका अनुसार गत फागुनमा ९६ जना संक्रमित रहेकोमा क्रमशः बढेर वैशाखमा सो सङ्ख्या चार हजार १७७ पुगेको थियो । वैशाखमा निषेधाज्ञा गरिएसँगै संक्रमितको सङ्ख्या क्रमशःघट्दै गएको थियो । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार वैशाख १५ गतेदेखि लागू गरिएको निषेधाज्ञाका कारण जेठमा सो सङ्ख्या घटेर तीन हजार ८८१ मा झरेको थियो । सो सङ्ख्या असारमा तीन हजार ४२ मा झरेको उहाँले जानकारी दिनुभयो । साउन महिनाको २४ गतेसम्म आइपुग्दा पुनः संक्रमित बढेका छन् । साउनमा मात्रै तीन हजार ९५१ जना संक्रमित भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार वैशाख महिनादेखि साउन २४ गतेसम्म ६६ हजार ३८४ जनाको पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणका क्रममा पाँच हजार ६०३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।यस्तै एन्टिजेन विधिबाट सात हजार ७५९ को परीक्षण गरिएकोमा दुई हजार ७०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा रहेका विभिन्न अस्पतालमा उपचारका लागि आएका र लक्षण देखिएर परीक्षणका लागि आएकामध्येबाट सो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यहाँ संक्रमित हुनेमध्ये सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका रहेका छन् । यस समूहका दुुई हजार ४१० जना पुरुष र दुई हजार ६४२ जना महिला रहेका छन् । अन्य उमेर समूहमा भने पुरुष धेरै सङ्क्रमित हुने गरेको तिवारीले जानकारी दिनुभयो ।यस्तै ३० देखि ३९ वर्ष उमेर समूहको दोस्रो, ४० देखि ४९ उमेर समूहको तेस्रो र ५० देखि ५९ वर्ष उमेर समूहका चौंथो क्रममा रहेको सो अवसरमा जानकारी दिइयो । जिल्लामा बालबालिका र ८० वर्ष भन्दामाथिको उमेरका कम सङ्ख्यामा सङ्क्रमित हुने गरेका छन् ।
जिल्लामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका समयमा भन्दा खुकुलो भएको समयमा सङ्क्रमित स्थानीय तहमा बढेको छ । पूर्ण निषेधाज्ञाको समय अवधि वैशाख १५ गतेदेखि असार १४ गतेसम्म भरतपुर महानगरपालिकामा ६ हजार ३०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।यस्तै खैरहनी नगरपालिकामा ४२७, माडी नगरपालिकामा ३६०, रत्ननगरमा ७२०, राप्तीमा ३१२, कालिका नरपालिकामा ३४६ र ईच्छाकामना गाउँपालिकामा १४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै असार १५ गतेदेखि साउन २४ गतेसम्म भरतपुर महानगरपालिकामा तीन हजार ६६४, खैरहनी नगरपालिकामा ४१३, माडीमा ४१६, रत्ननगरमा ५७२, राप्तीमा २७९ र कालिकामा २८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ईच्छाकामना गाउँपालिकामा निषेधाज्ञा खुकुलो भएसँगै ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । तिवारीका अनुसार जिल्लाको अस्पतालमा उपचारका क्रममा हालसम्म मृत्यु हुनेको सङ्ख्या ७८९ पुगेको छ । जसमध्ये ४३९ जना जिल्ला बाहिरका र ३५० जना जिल्लाभित्रका रहेका छन् ।
जिल्लामा मृत्यु हुनेमध्ये २८ जनाको होम आइसोलेशनमा मृत्यु भएको हो । अस्पतालमा ३२२ जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ । विसं २०७८ सालमा मात्रै जिल्लाका अस्पतालमा ५९९ जनाको मृत्यु भएको छ । ३६१ जना जिल्ला बाहिरका र २३८ जना जिल्लाका रहेका छन् ।सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कोरोना सङ्क्रमण बढेसँगै निषेधाज्ञामा कडाइ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण बढ्दै जाँदा निषेधाज्ञामा कडाइ गर्दै लगिएको छ । सबैले निषेधाज्ञाको नियम कडाइका साथ मान्ने हो भने नियन्त्रणमा सहज हुन्छ ।” जिल्लामा सङ्क्रमणको उच्च जोखिम रहेकाले अहिलेकै अवस्था भए भयावह हुनसक्ने उहाँको भनाइ थियो । स्थानीय प्रशासनले हरेक उपाय अपनाउँदा पनि अपेक्षाकृत सुधार हुन नसकेको उहाँले बताउनुभयो । बिरमीको चाप र संक्रमितको अवस्था हेरेर अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया