ईपीएलमा बजाज पल्सर मुख्य प्रायोजक

140
Shares

काठमाडौं, (एजेन्सी) ।

बजाज पल्सर चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा रहने भएको छ ।
ईपीएलले काठमाडौंमा सोमबार एक पत्रकार सम्मेलन गर्दै आफ्नो मुख्य प्रायोजक बजाज पल्सर रहेको जनाएको हो । आसन्न एभरेस्ट प्रिमियर लिगको मुख्य प्रायोजकबापत बजाज पल्सरले एक वर्षको २ करोड ५० लाख रुपियाँ प्रदान गर्ने भएको छ । चौथो संस्करणको ईपीएल असोज ९ देखि २३ सम्म त्रिभुवन विश्वविद्यालयको मैदानमा हुँदैछ ।

गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता एक वर्षको हुने छ । बजाज र ईपीएलबीच भएको २ करोड ५० लाखको साझेदारी नेपाली खेलकुदको सर्वाधिक ठूलो प्रायोजनसमेत बनेको छ । आयोजकले कोरोना महामारीका कारण टेलिभिजनलाई लक्षित गर्दै सबै स्वास्थ्य प्रोटोकललाई पालना गरेर ईपीएल आयोजना गर्ने जनाएको छ ।

यसअघि प्रतियोगिताको मुख्य प्रायोजकका लागि दुई व्यापारिक संस्था पेप्सी इन्डिया र बजाज पल्सरले दाबेदारी दिएका थिए । तर, पेप्सी इन्डिया बजाजले जति रकम दिन नसक्ने भन्दै पछि हटेको थियो । बजाजले एक वर्षका लागि अहिले सम्झौता गरेको छ । जुन सम्झौता अरू दुई वर्ष थप्न सकिने बताइएको छ ।

मुख्य प्रायोजक बनेको बजाजसँग सर्वो पनि त्यसैमा जोडिने भएको छ । ६ टिमको सहभागिता रहेको प्रतियोगिताका लागि सबै टिम विदेशी खेलाडी अनुबन्धको प्रक्रियामा रहेका छन् । योपटक प्रतियोगिताको पुरस्कार राशि अघिल्लो सिजनको भन्दा बढ्ने आयोजकले जानकरी गराएका छन् । तर, कति पुरस्कार हुने भन्ने कुरा आगामी कार्यक्रममा बताउने जोरा स्पोर्टस म्यानेजमेन्टका एमडी आमिर अख्तरले बताए ।

यो पटकको ईपीएल खेल्न साहिद अफ्रिदी, अजिज, कार्लोस ब्रेथवेट, सोयब मलिक नेपाल आउने पक्का भईसकेको छ । यस सिजनको ईपीएल पाकिस्तानका स्टार अलराउन्डर शाहिद अफ्रिदीले काठमाडौं किंग्स–११ बाट खेल्नेछन् भने वेस्टइन्डिजका स्टार अलराउन्डर कार्लोस ब्रेथवेट र पाकिस्तानका अनुभवी ब्याट्सम्यान शोएब मलिकले भने ईपीएलमा कुन टोलीबाट खेल्ने कुरा खुलाएको छैन । प्रतियोगिताको लागि आयोजकले तीव्र तयारीसमेत अगाडि बढाएको छ ।

आयोजकले प्रतियोगिता ट्रफी पनि सार्वजनिक गरेको छ । प्रतियोगितामा विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्र्स, भैरहवा ग्ल्याडिएटर्स र पोखरा राइनोज गरी ६ सहरका ६ फ्रेन्चाइज टोली छन् । पछिल्लोपटक २०१८ को ईपीएलको फाइनलमा ललितपुरले भैरहवालाई १४ रनले हराउँदै उपधि जितेको थियो । त्यसपछि नेपालको ब्यस्त अन्तर्राष्ट्रिय कार्यतालिका र कोरोना महामारीको कारण ईपीएल स्थगित हुँदै आएको थियो ।

आसन्न एभरेस्ट प्रिमियर लिगको विजेताले पाउने यो पटकको ट्रफी अरू संस्करणका तुलनामा भने विशेष रहेको छ । जर्मनीमा बनेको सो ट्रफीलाई आयोजकले सोमबारै सार्वजनिक गरे । तर, सार्वजनिक भएको उक्त ट्रफी नक्कल मात्र हो । सक्कली ट्रफी भने प्रतियोगिताकै दौरान आइपुग्ने बताएको छ । जसको तौल साढे १२ केजी हुनेछ । विश्वकप क्रिकेटको ट्रफी बनाएको कम्पनीले नै ईपीएलको ट्रफीको डिजाइन गरेको हो । नेपालको मौलिकतालाई पनि समावेश गरेर यो ट्रफीमा तीन वटा खुकुरी राखिएको छ भने त्यसको माथि क्रिकेट बल पनि राखिएको छ । सो बलमा सोरस्की हिरा जडान हुनेछ । निकै आकर्षक देखिएको ट्रफीको डिजाइन कति रकममा गरिएको भनेर नखुलाइए पनि महंगो रकम खर्च भएको बताइएको छ । यसपटकदेखि ईपीएलको सो ट्रफी रनिङ सिल्डकै ढाँचामा आधारित हुने आयोजकले बताएको छ ।