लुम्बिनी प्रदेशका सरकार पक्षका सांसद अदालतमा


यमलाल भुसाल, बुटवल ।

दुई दिन पछि अविश्वासको प्रस्तावमाथि छलफल गर्र्ने गरि प्रदेश प्रमुखले विशेष अबिधेशन आह्वान गरिसकेको समयमा लुम्बिनी प्रदेशका सरकार पक्षका सांसद भने अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालत जाने भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको विशेष अधिवेशन रोक्न माग गर्दै सरकार पक्षीय कानून व्यवसायीले दायर गर्न लागेको रिट आइतबार सर्वोच्चले दर्ता गर्न अस्वीकार गरेको थियो । विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च पुगेका अधिवक्ता प्रवेश केसीको रिट दरपीठ भएपछि फेरि सत्तापक्षीय सांसदहरु आफैं सर्वोच्च पुग्ने भएका हुन् । सर्वोच्चले दर्ता गर्न अस्वीकार गरे पछि सरकार पक्षका सांसद नै अदालत जान लागेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनु भयो ।

प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि आह्वान गरिएको प्रदेश सभाको विशेष अधिवेशनमा अविश्वासको प्रस्तावमाथि छलफल हुने छ ।मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दुई बर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने भन्दै प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सरकार पक्षका सांसद सर्वोच्च जान लागेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदको हस्ताक्षरसहित साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासको प्रस्तावमाथि साउन २७ गतेका लागि आह्वान गरिएको प्रदेश सभाको विशेष अधिवेशनमा छलफल हुँदैं छ ।

सरकारका प्रवक्ता चौधरीले काठमाडौंमा रहेका सत्तापक्षका सांसदहरु रिट लिएर सर्वोच्च जाने तयारी भएको जानकारी दिनु भयो । काठमाडौंमा रहेका साथीहरु सर्वोच्च जानु भएको प्रवक्ता चौधरीले बताउनु भयो ।अविश्वासको प्रस्ताव माथिको छलफलका लागि विपक्षी दलले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख शेरचनले साउन २७ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका छन् ।