लेस्टरलाई कम्युनिटी सिल्डको उपाधि

84
Shares

लन्डन, (एजेन्सी) । 

इंग्ल्यान्डको प्रि–सिजन प्रतियोगिता कम्युनिटी सिल्डको उपाधि लेस्टर सिटीले जितेको छ ।

शनिबार राति भएको उापधि भिडन्तमा लेस्टरले प्रिमियर लिगको गत सिजनको च्याम्पियन म्यानचेस्टर सिटीलाई १–० गोलअन्तरले हराएर पहिलोपटक कम्युनिटी सिल्डको उपाधि जित्न सफल भएको हो । हारपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई नयाँ सिजनको शुरूवातमै ठूलो झट्का लागेको छ ।

टोटनह्यामको घरेलु मैदान वेम्बली स्टेडियममा भएको फाइनल खेलमा लेस्टरले घरलु लिगको साविक च्याम्पियनलाई खेलको अन्तिम मिनेटमा गोल गर्दै पहिलोपटक यो उपाधि उचाल्न सफल भयो । दुवै टिमले अधिकांश प्रमुख खेलाडी उतारेका थिए । चर्को प्रतिस्पर्धा देखिएको खेलमा म्यानचेस्टर केही हाबी भए पनि लेस्टरले खेलको ८९औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै उपाधि जित्यो । खेल सकिन मात्रै एक मिनेट बाँकी छँदा लेस्टरले पेनाल्टी पायो, जसमा केलेची इहेयानाचोले गोल गरेपछि खेल १–० भयो ।

गोल बेहोरेपछि इन्जुरी समयमा सिटीले गोल फर्काउन सकेन र लेस्टरले १–० को अन्तरमा खेल जित्दै उपाधि पनि जित्यो । लेस्टरका लागि उपाधि भिडन्तमा विजयी गोल गर्ने केलेची म्यानचेस्टर सिटीकै पूर्वखेलाडी हुन् । उनले यस खेलमा सिटीविरुद्ध लेस्टरलाई नै हराउन पेनाल्टीमार्फत् विजयी गोल गरे । उनले उक्त गोलपछि खुसीयाली भने मनाएनन् ।

कम्युनिटी सिल्ड गत सिजनको प्रिमियर लिगको च्याम्पियन टिम र एफए कपको च्याम्पियन टिमले खेल्ने गर्छन् । मात्रै एक खेल हुने कम्युनिटी सिल्डमा सोझै फाइनल खेल हुन्छ । इंग्ल्यान्डमा यस्तो प्रतियोगितालाई कम्युनिटी सिल्ड भनिन्छ भने अन्य देशमा भने सुपर कप भनिन्छ ।

शनिबारको हारसँगै सिटीका प्रशिक्षक ग्वार्डिओलाले प्रशिक्षकको करिअरमा पहिलोपटक लगातार दुई फाइनल हारेका छन् । गत सिजनको अन्तिम समयमा सिटी च्याम्पियन्स लिगको फाइनलमा लिग प्रतिस्पर्धी चेल्सीसँग हारेको थियो । त्यसपछि शनिबार कम्युनिटी सिल्डमा पनि पराजित भयो । यसअघि ग्वार्डिओलाले कहिल्यै पनि लगातार दुई फाइनल हारेको थिएन ।