बार्सिलोनाबाट मेसीको भावुक बिदाइ

196
Shares

मेड्रिड, (एजेन्सी) ।

स्पेनिस फुटबल क्लब बार्सिलोनाबाट लिओनल मेसीले भावुक बिदाइ गरेका छन् ।

योसँगै मेसीले बार्सिलोनासंगको २१ वर्ष लामो सहयात्रा आइतबारबाट औपचारिकरूपमा टुंग्याएको छ । बार्सिलोनासँग नयाँ सम्झौता हुन नसकेपछि आइतबार क्याम्प नोउमा पत्रकार सम्मलेन गर्दै मेसीले औपचारिकरूपमा बार्सिलोनाबाट बिदाइको हात हल्लाएका हुन् । उक्त कार्यक्रममा मेसी २१ वर्ष खेलेको क्लबबाट आँसुको धारा बगाउँदै बिदा भए ।

कार्यक्रममा मेसी स्टेजमा पुग्दा नै गहभरि आँसु राखेर पुगेका थिए । बोल्नुभन्दा अघि नै मेसीको आँखाबाट आँसुको धारा बगेको देखेर हलमा उपस्थित सबैले उठेर ताली बजाउँदै मेसीप्रति सम्मान दर्शाएका थिए । त्यसपछि उनी सम्हालिँदै बोलेका थिए । शुरूआतमा आफ्ना कुरा राखेका उनले आफू बार्सिलोना भित्रिएदेखि बिदा हुँदाको दिनसम्मका कुरा सम्झिए ।

मेसीले आफूले यसपटक बार्सिलोनामा नै रहन सबैथोक गरेको र त्यसैअनुसार नयाँ सम्झौताको अन्तिम तयारी भए पनि ला लिगाका कारण अन्तिम समयमा सबै कुरा बिग्रिएको बताए । पटक–पटक भक्कानिदै रोएका मेसीले बार्सिलोनालाई सजिलो होस् भनेर आफूले ५० प्रतिशत तलब कटौती गर्न सहमत भएको पनि खुलाए । तर, सबै कुरा ठीकठाक हुँदा पनि अन्तिम समयमा आफू रहन नसकेको भन्दा उनी ठूलो पीडामा देखिए ।

मेसीले पटक–पटक आफू र आफ्नो परिवार बार्सिलोनामै रहन चाहेको कुरा दोहोर्‍याएका थिए । बार्सिलोनामा रहनका लागि क्लबलाई के–के गर्दा सहज हुन्छ, आफूले त्यही गरेको कुरा पनि उनले बताए । क्लबकै चाहनाअनुसार आफूले छाड्नपर्ने हरेक कुरा छाडे पनि अन्तिम समयमा सम्झौता नहुँदा आफू र आफ्नो परिवारका लागि ठूलो पीडा भएको उनले बताए ।

मेसीले पेरिस सेन्ट जर्मेन आफ्नो भविष्यको एउटा विकल्प रहेको बताए । क्लबले आफूलाई धेरैपटक कुरा गरेको र धेरै विकल्प राखेकोसमेत बताए । उनले बार्सिलोनामा आफ्नो अविस्मरणीय क्षण पहिलोपटक सिनियर टिममा डेब्यु गर्दा रहेको बताए । त्यो आफ्नो सपना पूरा भएको दिन थियो । जुन जहिले पनि सम्झिने बताए । उनले आफ्नो बिदाइ कुनै एउटा खेल खेलेर होस् भन्ने चाहना भए पनि अहिले नै बाइबाइ भन्नुपर्ने अवस्था आउँदा केही दुःखी भएको धारणा राखे ।

बार्सिलोना आफ्नो मुटुमा रहेको र एक वर्षभन्दा बढी समयसम्म समर्थकलाई मैदानमा नदेख्दा निकै कठिन भएको बताए । यदि दर्शक मैदानमा प्रवेशको समय भएको भए अहिलेको अवस्थामा क्याम्प नोउ भरिभराउ भएको हुन्थ्यो र हजारौं समर्थकको अगाडि बिदाइ लिँदा निकै खुसी हुने बताए ।

मेसीले भने –‘जब आफूले बार्सिलोना छोड्नुपर्छ भन्ने थाहा पाएँ, त्यो बेला आफ्नो रगत नै चिसो भएको अनुभव गरें ।’ त्यो बेलादेखि अहिलेसम्म आफूलाई निकै कठिन भइरहेको र अझै पनि आफूलाई शान्त बनाउने प्रयासमा रहेको मेसीले बताए । उनले अझै पनि अर्को स्थानमा आफूले घर पाउँदा पनि त्यहाँ बस्न निकै कठिन हुने सम्भावना रहेको उनले बताए ।