नेपाल समाचारपत्र, काठमाडौं ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित ३०४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ४५६ मेगावाट क्षमताको सो आयोजनाका छ वटा युनिटमध्ये चारवटा युनिटको परीक्षण उत्पादन सफल भएसँगै उक्त परिमाणको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
स्वदेशी लगानीमा निर्मित तथा नेपालको हालसम्मकै ठूलो आयोजना माथिल्लो तामाकोसी निर्माण शुरू भएको करिब ११ वर्षपछि गत असार २१ गते पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । आयोजनामा ७६ मेगावाट क्षमताका छ वटा युनिट जडान भएका छन् । अब दुई वटा युनिटको परीक्षण गर्न बाँकी रहेको छ । अब दुईदेखि तीन साताभित्र छ वटै युनिटको परीक्षण पूरा गरी ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी रहेको आयोजनाले जनाएको छ । आयोजनाले सबैभन्दा सुख्खा समयमा पनि दैनिक चार घन्टा पूर्ण क्षमता (४५६ मेगावाट) उत्पादन गर्ने क्षमता रहेको छ । आयोजनाबाट वार्षिक औसत २ अर्ब २८ करोड १० लाख युनिट विद्युत् उत्पादन हुनेछ ।
आयोजना शुरू गर्दा निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपियाँ लागत अनुमान गरिएको थियो । तर, अहिले आयोजनाको निर्माण लागत करिब ५५ अर्ब र बैंकको ब्याजमात्रै ३४ अर्ब पुगिसकेको छ । निर्माण पूरा हुँदासम्म आयोजनाको लागत अझै बढ्ने अनुमान छ । भूकम्प, पहिरो, कोरोना महामारी जस्ता प्राकृतिक विपत्ति तथा डिजाइन परिवर्तन, ठेकेदारको लापबाहीले निर्माण अवधि लम्बिँदा आयोजनाको लागत पनि बढेको हो । २०६८ मा निर्माण शुरू भएर २०७२ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१, टेलिकमको ६, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको २–२ प्रतिशत संस्थापक सेयर छ । बाँकी शेयर सर्वसाधारण, आयोजना प्रभावित जिल्लाबासी, सञ्चयकर्ता, ऋण लगानीकर्ता र प्राधिकरणका कर्मचारीको शेयर रहेको छ ।
प्रतिक्रिया