सर्वत्र निराशा


आज पनि हामी आवागमनका लागि ज्यान जोखिममा पारेर तुइनको विकल्प रोज्छौं, कसैले डोरी काटिदिन्छ र हामी महाकालीको भेलमा बगेर मर्छौं । कुनै पनि राजनीतिक नियुक्ति पाउन राजनीतिक दल र नेतालाई ठूलो आर्थिक राशि बुझाउँछौं र पद पाएपछि सो राशि कसरी डबल बनाउने भन्ने ध्याउन्नमा घूस खाने बाटाहरू खोजेर कार्यकाल बिताउँछौं । सामान्य प्रशासनिक नियुक्ति, पदोन्नति र सरुवाका लागि घुस खुवाउँछौं, ठेक्कापट्टा पाउन राजनीतिक नेतादेखि प्रशासकसम्मलाई अनुचित लाभ दिन्छौं वा दिन बाध्य हुन्छौं । शैक्षिक संस्था हुन् वा स्वास्थ्य निकाय, सबैमा भनसुन र मोलाहिजाले मात्र काम गर्छ । मुलुकको सीमा मिचिइरहन्छ, हामी मातृभूमिको सुरक्षा गर्न सक्तैनौं । भुटान र बंगलादेशलाई दातृ मुलुक मानेर हामीले बाँच्नुपरेको छ । कोरोना महामारीलाई बेवास्ता गर्दै जुलुस गर्ने राजनीतिक दल र जात्रामात्रामा रमाउने सांस्कृतिक योद्धाहरूले घेरिएर हामी बस्न बाध्य छौं । संघीय लोकतान्त्रिक गणतन्त्र सांसद किनबेचको अखडा भएको छ । आम नागरिक मिर्गाैलाजस्ता अंग बेचेर जीवन धान्य बाध्य छन् । यस अवस्थामा आशाको दियो कसलाई हेरेर जोगाउने ?

राजधानी नजिकैको काभ्रे जिल्लामा नक्कली नागरिकता बनाएर मिर्गाैला तस्करी गरिएको समाचारले मुलुकमा आम नागरिक कस्तो जीवन बाँचिरहेका छन् भन्ने अवस्थाको भयावह चित्र सार्वजनिक गरेको छ । पक्राउ परेका मिर्गाैला तस्करहरूले विभिन्न व्यक्तिलाई नक्कली नागरिकता उपलब्ध गराउँदै भारतका विभिन्न अस्पतालमा मिर्गाैला बिक्रीका लागि लाने गरेको बताएका छन् । भारतको कोलकत्तास्थित मुकुन्दपुरमा रहेको एमआरआई अस्पतालमा ५ लाख रुपियाँमा आफ्नो मिर्गाैला बिक्री गरी २०७७ चैत्रमा एक युवक घर फर्किएका थिए । उनलाई बिरामीको थरसँग मिल्नेगरी नक्कली नागरिकता दिलाएर भाइको नाता लगाएर कल्पना श्रेष्ठलाई मिर्गाैला दिन लगाइएको थियो । पीडित युवाका अनुसार उनीसँगै अरू दुई नेपालीलाई पनि उक्त अस्पतालमा पुर्‍याइएको थियो । ती युवाले अहिले पनि मिर्गाैला तस्करहरूले सातामा चार नेपालीलाई भारतका विभिन्न अस्पतालमा पुर्‍याउने गरेको आफूलाई जानकारी भएको बताएका छन् । पछिल्लो समाचारमा सार्वजनिक गरिएका पीडित २८ वर्षीय युवाका दाजुले पनि चार लाख रुपियाँ लिएर २०७२ सालको भूकम्पअघि आफ्नो मिर्गाैला बिक्री गरेका थिए । उनी अहिले पातलेगाउँस्थित दाहाल डाँडामा बस्छन् ।

मुलुकमा न्यायको प्राप्ति पनि सहज रहेन । समाचारअनुसार पीडित मिर्गाैला बिक्री गर्ने दलालको खोजी गरी कानुनी कारबाही गराउने योजनामा थिए । दाजुको न्यायका लागि लड्ने योजनाका साथ भारत पुगेका भाइ आफैं मिर्गाैला बिक्री गर्न बाध्य भए । पीडित युवाले मिर्गाैला बिक्री गरेर प्राप्त गरेको पाँच लाख रुपियाँबाट घर खर्च चलाउँदै गरेको पनि बताएका छन् । यसले एकातिर मानव विकासमा नेपाल कति कमजोर छ भन्ने त देखाउँछ नै, आम नागरिकका लागि न्यायालयको ढोका पनि दुरूह रहेको प्रमाणित गर्दछ । आम नागरिक यस प्रकारका पीडामा रहेको तर राजनीतिक तथा प्रशासनिक नेतृत्वलाई भोट र कर बुझाएर पाल्न पनि उनीहरू नै बाध्य भएको अवस्थालाई कहिले कसले बुझ्ने र परिवर्तन गर्ने ? यस्ता नागरिकको भोट र करबाट पालिएका सांसद र मन्त्रीलाई किन पोल्दैन ?