बहामासको जारी ओलम्पिकमा पहिलो पदक

336
Shares

टोक्यो, (एजेन्सी) । 

बहामासले जारी टोक्यो ओलम्पिकमा पहिलो पदक जितेको छ । पुरुष ४ सय मिटर दौडमा स्टेभेन गार्डिनरले स्वर्ण जित्दै आफ्नो राष्ट्रलाई टोक्योमा पहिलो पदक दिलाए । उनले सो दौड ४३.८५ सेकेन्डमा पूरा गरेका हुन् । कोलम्बियाका एन्थोनी जामब्रानोले रजतपदक जिते भने ग्रेनाडाका किरानी जेम्सले कांस्यपदक प्राप्त गरेका थिए । तर, दुई अमेरिकी धावक माइकल चेरी र माइकल नरम्यान क्रमशः चौथो र पाँचौँ स्थानमा रहेर पदकविहीन भएका थिए ।

ट्रयाक एन्ड फिल्डअन्तर्गत महिला पोल्ट भोल्टको स्वर्ण अमेरिकाले हासिल ग¥यो । अमेरिकाकी केटी नागोएटले ४.९० मिटर उफ्रेर स्वर्ण जितेकी हुन् । रसियन ओलम्पिक कमिटीकी एन्जेलिका सिडोरोभाले रजत पदक जितिन् । सिडोरोभाले ४.९५ मिटर उफ्रन प्रयास गरिन् तर, उनी सफल भइनन् । उनी पोल्टभोल्टकी विश्व विजेत समेत हुन् । ब्रिटेनकी होली ब्राडशाले कांस्यपदक जितेकी थिइन् ।
होन्गचानलाई डाइभिङमा स्वर्ण

चीनकी १४ वर्षीयँ क्वान होन्गचानले टोक्यो ओलम्पिकमा महिला १० मिटर प्लेटफर्म डाइभिङतर्फ बिहीबार स्वर्ण जितेकी छन् । होन्गचानले नयाँ विश्व रेकर्ड राख्दै आफ्नो देशलाई स्वर्ण दिलाइन् । उनी टोक्यो ओलम्पिकमा चीनको टिममा सबैभन्दा युवा खेलाडी हुन् । उनकी टिम साथी १५ वर्षीया चेन युक्सीले विश्व विजेताको रूपमा सो इभेन्टमा प्रतिस्पर्धा गरेकी थिइन् । तर, होन्गचानले चेनलाई रजत पदकमै सीमित पारिन् । उनले ४ सय ६६.२० अंक जोडिन् भने चेनले ४ सय २५.४० अंक जोडेकी थिइन् । अस्टे«लियाकी २९ वर्षीया मेलिसा वुले कांस्यपदक प्राप्त गरिन् ।

योसँगै जारी ओलम्पिकमा चीनले बेइजिङ ओलम्पिक २००८ देखि महिलाको डाइभिङ इभेन्टमा स्वर्ण जितेको छ । होन्गचान र चेनले पहिलो चरणको डाइभमा बराबरी अंक जोडेका थिए । तर, होन्गचानलेदोस्रो चरणपछि अग्रता लिइन् । उनलाई सातै जना निर्णायकले पूरै १० अंक दिएका थिए । उनले अन्तिम चरणमा पनि ६ जना निर्णायकबाट १० अंक पाएकी थिइन् ।

अमेरिकालाई फुटबलमा कांस्य

टोक्यो ओलम्पिकको महिला फुटबलतर्फ अमेरिकाले कांस्यपदक प्राप्त गरेको छ । बिहीबार भएको तेस्रो स्थानको लागि भएको रोमाञ्चक खेलमा अमेरिकाले अस्ट्रेलियालाई ४–३ गोलअन्तरले हराएको हो । काशिमा रंगशालामा भएको खेलमा अमेरिकाको जितमा मेगान रापिनोइ र कार्ली लोएडले २–२ गोल गरे । अस्ट्रेलियाको तर्फबाट साम केर, केटलिन फोर्ड र एमिली गिलनिकले १–१ गोल गरेका थिए ।

रापिनोइले खेलको आठौं मिनेटमा गोल गर्दै अमेरिकालाई १–० को अग्रतामा राखेकी थिइन् । १७ औं मिनेटमा केरले बराबरी गोल फर्काइन् तर, रापिनोइले चार मिनेटपछि गोल गरेर अमेरिकालाई पुनः २–१ को अग्रतामा पुर्‍याइन् । यसपछि लोएडले पहिलो हाफको इन्जुरी समय र ५१ औं मिनेटमा गोल गरेर अमेरिकाको लागि कांस्यपदक पक्का गरेकी थिइन् । यद्दपि, अस्ट्रेलियाको लागि फोर्डले ५४ औं मिनेटमा गोल गरेर गोलअन्तर खुम्च्याइन् । तर, यसपछि तेस्रो गोल गर्न अन्तिमसम्म कुर्नु पर्दा अस्ट्रेलियाले अमेरिकालाई पदक जित्नबाट रोक्न सकेन ।

अमेरिकाको रिले प्रदर्शन लज्जाजनक

अमेरिकाका स्प्रिन्ट लिजेन्ड कार्ल लेविसले बताए कि अमेरिकी पुरुष टिम ४ गुणा १ सय मिटर रिले दौडमा असफल हुनु निकै लज्जाजनक भएको छ ।

८० को दशकमा अमेरिकालाई ओलम्पिकमा स्वर्ण दिलाएका लेविसले सोसल मिडियामा लेखे–‘अमेरिकी टिमले पुरुषको रिलेमा हरेक कुरा गलत गरेको थियो । बेटन पास दिने, दौडिने तरिका गलत थियो । यसको मतलब त्यहाँ कुनै नेतृत्व थिएन । निकै लज्जाजनक भयो, अमेरिकी टिम एमेच्योर एथ्लेटिक युनियनका बच्चाहरू भन्दा पनि खराब देखियो ।

यस्तै, ओलम्पिकमा चार स्वर्ण जितेका अमेरिकाका अर्का लिजेन्ड माइकल जोन्सनले पनि अमेरिकी टिमको आलोचना गरेका थिए । उनले सोसल मिडियामा लेखे–‘यो रकेट साइन्स होइन । २० मिटर क्षेत्रभित्र दुई जना धावकले छिटो दौडिंदै बेटन साट्फेर गर्न अभ्यास चाहिन्छ । अमेरिकी टिमको प्रदर्शन लज्जाजनक र हास्यास्पद भयो ।’

अमेरिकी टिमका एक धावक केर्लीले अर्को वर्षको वल्र्ड च्याम्पियनसिप र अर्को ओलम्पिकमा राम्रो गर्ने बताए । उनी जारी ओलम्पिकमा सय मिटर दौडका रजत विजेता हुन् । अमेरिकी टिमले २००० को सिड्नी ओलम्पिकमा स्वर्ण जितेदेखि ४ गुणा १ सय मिटर रिलेमा अहिलेसम्म स्वर्ण जित्न सकेको छैन । जबकी अमेरिकी टिम २०१९ वल्र्ड च्याम्पियनसिपमा विजेता थियो । २००४ को एथेन्स ओलम्पिकमा उनीहरूले रजत पदक जितेका थिए ।

जारी ओलम्पिकको पुरुष ४ गुणा १ सय मिटर दौडमा अमेरिकाबाट ट्रेभन ब्रोमेल, फ्रेड केर्ली , रोनी बेकर र क्राभन जिलेस्पी दौडेका हुन् । तर, उनीहरूले सो दौड ३८.१० सेकेन्डको समयमा पूरा गरेपछि अमेरिका हिट चरणमा छैटौं स्थानमा रहेर फाइनल चरणमा छनोट हुन असफल भयो । उक्त हिटमा चीनको टिमले ३७.९२ समय लगाएर जित हात पार्‍यो भने क्यानडा दोस्रो स्थानमा र इटाली तेस्रो स्थानमा रहे । यी तीनै टिम फाइनल चरणका लागि छनोट हुन सफल भएका छन् ।

अमेरिकी बास्केटबल टिम फाइनलमा

ड्रिम टिमले चर्चित अमेरिकी पुरुष बास्केटबल टिम स्वर्णपदक निकट पुगेको छ । फाइनल जितेमा अमेरिकी टिमको लगातार चौथो ओलम्पिक स्वर्ण हुनेछ । टोक्यो ओलम्पिकमा अमेरिकाले अस्ट्रेलियालाई ९७–७८ अंकले हराएर फाइनलको यात्रा तय गरेको हो । जबकी अस्ट्रेलिया दोस्रो क्वार्टरमा १५ अंकले अघि थियो । केभिन डुरान्ट र डेभिन बुकरले शानदार प्रदर्शन गरेर अमेरिकालाई सम्भावित हारबाट जोगाए । डुरान्टले २३ अंक र बुकरले २० अंकको योगदान दिएका थिए ।

भारतलाई हकीमा ४१ वर्षपछि पदक

भारतीय पुरुष हकी टिमले ४१ वर्षपछि ओलम्पिकमा पदक जितेको छ । अघिल्लोपटक मास्को ओलम्पिक १९८० मा स्वर्ण जितेको भारतीय टिमले टोक्यो ओलम्पिकमा कांस्यपदक हात पारेको हो । भारतले जर्मनीलाई ५–४ ले हराएको हो । जबकी जर्मनी दोस्रो क्वार्टरमा ३–१ ले अघि थियो । तर, भारतले यसपछि पुनरागमन गर्दै लगातार ४ गोल गरेर ५–३ को अग्रता बनाएको थियो । चौथो क्वार्टरमा जर्मनीबाट एक गोल भएको थियो ।

विगतको ओलम्पिक पुरुष हकीमा भारतको वर्चश्व रहेको थियो । भारतले १९२८ देखि १९३६, १९४८ देखि १९५६, १९६४ र १९८० ओलम्पिकमा गरी कुल ८ स्वर्णपदक जितेको थियो । १९६० मा रजतपदक जितेको भारत यसपछि १९६८ र १९७२ मा कांस्यपदकमै सीमित हुन पुगेको थियो । यद्दपि, १९८० ओलम्पिकमा स्वर्ण जिते पनि भारतले यसपछि सम्पन्न ९ वटा ओलम्पिकमा पदकविहीन हुनुपरेको थियो ।