सांसद बन्धक ?


लुम्बिनी प्रदेशको मुख्यमन्त्रीे पदबाट राजीनामा दिएकै दिन पुनः प्रदेश प्रमुखबाट शपथ लिएर सोही पदमा कायम रहने हदसम्मको खेल खेल्दै सबैलाई चकित बनाएका एमाले नेता शंकर पोखरेललाई अहिले सोही प्रदेशका सांसद विमला वलीले अपहरणकारीको आरोप लगाउनुभएको छ । सत्ता टिकाउन राजीनामा र शपथग्रहणको खेलले नपुगेर सांसदको अपहरण गर्ने र अपहरित व्यक्तिलाई पाँच दिन नजरबन्दमा राख्ने कार्यले एमालेलाई त आक्षेप लाग्छ नै संघीय गणतान्त्रिक व्यवस्थालाई नै बद्नाम बनाउने काम गरेको छ । यता, नेकपा एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य वलीकै राजीखुशीमा दाङबाट मुख्यमन्त्रीको निवासमा उहाँलाई पुर्‍याएको दाबी गर्नुभएको छ, तर विगतमा संघीय सांसद महेश बस्नेतले जसपाका सांसद डा. सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण गरेरै काठमाडौं ल्याएको आरोप लागिसकेका कारण सत्ताका लागि निन्दनीय खेल खेल्ने अभ्यासले निरन्तरता पाएको त होइन भन्ने गम्भीर प्रश्न यथावत छ ।

सांसद वलीको पछिल्लो प्रकरणमा उहाँ आफैं पनि दोषी हुनुहुन्छ कि भन्ने आशंका पनि गर्न सकिने ठाउँ नरहेको होइन । बीचमा एमालेमै फर्किएको विज्ञप्ति जारी गर्ने सांसद वली एमालेमा बस्ने कि माओवादी केन्द्रमा जाने भन्ने निर्णय गर्ने क्षमताको अभावका कारण पाँच दिन मुख्यमन्त्री पोखरेलको ‘अतिथि’ बन्नुभएको त होइन भन्ने प्रश्न पनि सिर्जना भएको छ । बीचमा प्रकाशित विज्ञप्ति जबरजस्ती हस्ताक्षर गराइएको हो भनेर सांसद वलीले बिहीबार गरेको दाबी पनि त्यति विश्वासयोग्य छैन । सांसदजस्तो पदमा पुगेको व्यक्तिले चाहेको भए अपहरणको अवस्थाबाटै सञ्चारका कुनै पनि विधि अपनाएर बाहिर खबर पु¥याउन सक्नुहुन्थ्यो । उहाँ आफैं एमालेतिर जाने कि माओवादी केन्द्रमा बस्ने भन्ने अनिर्णयको चाहिँ बन्दी भएको हो कि ? यसैबीच सांसद वलीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइको भन्दै प्रदेशमा क्रियाशील विपक्षी राजनीतिक दलहरूले गम्भीर आपत्ति प्रकट गरेका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै सांसद वलीलाई उनकै घरबाट अपहरण गरी शरीर बन्धक बनाएको भनी भत्र्सना गरेका छन् । पोखरेल सरकार वैशाख १९ गते असंवैधानिक ढंगले निर्माण भएयता निरन्तर अल्पमतमा रहेर पनि निर्लज्ज ढंगले अराजनीतिक र असंवैधानिक रूपमा सञ्चालित भइआएको उनीहरूको टिप्पणी छ । नेकपा मोओवादी संसदीय दलको व्यानरको पृष्ठभूमिमा बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीको बारेमा सार्वजनिक गर्दै वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा बन्धक बनाई राखेको बताउनुभएको छ ।

सत्ता टिकाउन सांसद अपहरण गर्ने र बन्धक बनाउने घृणित अभ्यासका कारण पहिला पनि बहुदलीय व्यवस्थालाई हाम्रा राजनीतिक दल र नेताहरूले बद्नाम बनाइसकेका हुन् । सबै सांसदलाई होटेलमा थुनेर राख्ने र उनीहरूको मन बहलाउन सुरा–सुन्दरीको समेत प्रयोग गर्ने हदसम्मको आपत्तिजनक कार्य त्यस बेला पनि भएको थियो । तर, पछिल्लो २०–२५ वर्षमा पनि हाम्रो संसदीय अभ्यासमा सुधार भएन, अझ बढी विकृति थपियो । यस्ता गलत तत्वलाई जनताले नै सजाय दिनुपर्छ, अर्को विकल्प छैन ।