विवाह भोजमा जाने क्रममा चट्याङ पर्दा १६ जनाको मृत्यु


एजेन्सी ।

बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ । उत्तरी बङ्गलादेशको शिवगन्जमा रहेको पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका जन्ती बेहुलीको घरतिर जाने क्रममा आँधीवेहरीसहितको वर्षा भएको र उनीहरूमाथि चट्याङ खसेको स्थानीय बासीले बताएका छन् ।

हाल केही दिनयता भीषण मनसूनी आँधीवेहरीसहितको वर्षाले बंगलादेशलाई प्रभावित पारेको छ । मौसमविद्का अनुसार उत्तर तथा पश्चिम बङ्गलादेशमा बढी चट्याङ पर्ने सम्भावना भएका क्षेत्र हुन् । गर्मीयाममा तापक्रम बढ्दा त्यहाँ चट्याङ पर्ने सम्भावना अझ बढ्ने गरेको पाइन्छ ।