क्यानद्वारा नेपाली टिमको घोषणा

224
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

आगामी आईसीसी विश्व क्रिकेट च्याम्पियनसिप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि बन्द प्रशिक्षणमा रहने २० नेपाली खेलाडीको नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी सेप्टेम्बरमा हुने उक्त सिरिजको लागि नाम सार्वजनिक गर्दा पारस खड्काको नाम पनि सूचीमा छ । तर, मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेपछि पारसले यो प्रशिक्षणमा भाग लिने छैनन् ।

नेपालले ओमानमा आयोजना हुने उक्त सिरिजमा अमेरिका र घरेलु टिम ओमानसँग खेल्नेछ । यो सिरिज आगामी २०२३ मा हुने विश्वकप क्रिकेटका लागि छनोट हुने प्रावधानको रूपमा रहेको छ । उक्त सिरिज मार्चमा हुनुपर्ने तर, कोभिडको कारण उक्त समयमा हुन सकेन । माघमा यिनै टीमको सिरिज नेपालमा आयोजना भएको थियो ।

नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । उनीसहित अन्य खेलाडीमा दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, आसिफ शेख, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, शुशान भारी, शरद भेषवाकर, विक्रम सोब, पवन शर्राफ, रोहितकुमार पौडेल, अविनाश बोहरा, र साहब आलम रहेका छन् ।

गुलशन झा नयाँ खेलाडीको रूपमा बन्द प्रशिक्षणका लागि छनोट भएका हुन् । बलर गुलशनले गत घरेलु क्रिकेट प्रतियोगितामा राम्रो खेलेका थिए । उनले गत फागुनमा सम्पन्न काठमाडौं मेयर्स कप एकदिवसीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनकै कारण नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । उनले सो फाइनलमा चार विकेट लिएका थिए ।