मुख्यमन्त्री कार्यालयको नजरवन्दवाट मुक्त: लुम्बिनी सभा सांसद विमला माओवादी केन्द्रमै रहेको रहस्य सार्वजनिक


यमलाल भुसाल,बुटवल ।

निकै चर्चा र रहस्यको रुपमा रहेकी लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री अन्ततह माओवादी केन्द्रमै रहेको रहस्य सार्वजनिक भएको छ ।एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ बनाईएकी सांसद विमला बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा सशरिर उपस्थित भएकी छन् ।

माओवादी संसदीय दलका एक सदस्यका अनुसार उनी आफैं पार्टीको सम्पर्कमा आएकी हुन् । विमलाले आफूलाई मुख्यमन्त्री कार्यालयमै राखिएको नेताहरुसँग बताएको माओवादी संसदीय दलका सदस्यले बताउनु भयो । ‘उहाँ आज बिहान ११ बजेपछि आफैं माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आउनुभयो,’ उहांले भन्नु भयो, ‘उहाँ हामीसँग रुनु पनि भयो, निकै तनावमा हुनुहुन्थ्यो ।’

आज पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सार्वजनिक गर्ने आफूहरुसँग बताएको माओवादी संसदीय दलका ती सदस्यले बताउनु भएको छ ।
दुई दिनअघि मात्रै विमलाको हस्ताक्षरमा आफू एमालेमै रहेको व्यहोराको प्रेस विज्ञप्ति सार्वजनिक भएको थियो । तर माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको आरोप लगाएको थियो । माओवादी केन्द्रले तत्काल विमलाको स्थिति सार्वजनिक गर्न, उनको जीवन रक्षा गर्न र घटनाको उच्चस्तरीय छानवीन गर्न सरकारसँग माग गरेको थियो ।