स्याङ्जामा कांग्रेसका १० हजार बढी नयाँ क्रियाशील सदस्य



अमृत अर्याल (नेस) स्याङ्जा ।

नेपाली काँग्रेस आसन्न १४औं महाधिवेसनको तयारीमा जुटिरहेका बेला देशभरका जिल्लामा चुनावी सारगर्मी बढ्न थालेको छ । १४ औं महाधिवेसनका लागि स्याङ्जामा झण्डै २० हजार क्रियाशिल सदस्य पुगेका छन् । नयाँ १० हजार र पुराना ९ हजार गरी झण्डै २० हजारको हाराहारीमा काँग्रेसको क्रियाशिल सदस्य पुगेको छ ।

स्याङ्जामा नेपाली कांग्रेस पार्टीको आसन्न १४औँ महाधिवेशनलाई लक्षित गरी पुराना सदस्यको नवीकरणका साथै नयाँ दश हजार सदस्यता थप भएको कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर रानाले जानकारी दिनुभयो । तेह्रौँ महाधिवेशनमा क्रियाशील रहेका पुराना सदस्य ११ हजार २ सय ५६ रहेकामा नौ हजार ३ सय ४१ ले नवीकरण गरेका हुन् । क्रियाशील सदस्य संख्यालाई दोब्बर बनाउने लक्ष्यअनुसार थप क्रियाशील सदस्यता वितरण गरिएको सभापति रानाले बताउनुभयो ।जिल्लामा पुरानो क्रियाशील सदस्यमध्ये हाल नवीकरण भएका ९ हजार ३ सय ४१ र नयाँ सदस्य १० हजार ८ गरी कूल १९ हजार ३ सय ४९ रहेका छन् । पाँच नगरपालिका र छ वटा गाउँपालिका रहेको स्याङ्जामा सबैभन्दा धेरै वालिङ नगरपालिकामा ४ हजार ३ सय ८५ र सबैभन्दा कम हरिनास गाउँपालिकामा ४ सय ९३ जना क्रियाशील सदस्य रहेका छन् । वालिङमा नयाँ २ हजार २ सय ३९, पुतलीबजारमा १ हजार ६ सय १०, चापाकोटमा १ हजार ३ सय ५१, गल्याङ्मा १ हजार १ सय ७१, भीरकोट नगरपालिकामा १ हजार ८० थपिएका हुन् ।

त्यस्तै कालीगण्डकीमा ६ सय ८८, आँधीखोलमा ४ सय ५३, अर्जुनचौपारीमा ४ सय ३१, बिरुवामा ४ सय २१, फेदीखोलामा ३ सय १० र हरिनास गाउँपालिकामा २ सय ५४ नयाँ क्रियाशील सदस्यता थपिएको छ । नयाँ र पुराना क्रियाशील सदस्यता गरी वालिङमा ४ हजार ३ सय ८५, पुतलीबजारमा ३ हजार १ सय ५९, चापाकोटमा २ हजार ४ सय १५, गल्याङ्मा २ हजार ३ सय ८१, भीरकोटमा १ हजार ९ सय ६० रहेका छन् । त्यस्तै कालीगण्डकीमा १ हजार ३ सय ४८, आँधीखोलामा ९ सय १५, अर्जुनचौपारीमा ८ सय ८७, बिरुवामा ८ सय २८, फेदीखोलामा ५ सय ७८ र हरिनासमा ४ सय ९३ क्रियाशील सदस्य पुगेका छन् । आसन्न १४ औँ महाधिवेशनका लागि वडा, नगर, क्षेत्र, जिल्ला तथा केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक गरेपनि पछिल्लो समयमा आएर स्थगित भएको छ ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा तातेको जिल्लाको चुनावी सारगर्मी निर्वाचनको मिति सरेसँगै विस्तारै घटेको छ । यद्यपि विभिन्न तहमा उम्मेदवारीको आकांक्षीमा देखिएका नेताले भने भेटघाटलाई निरन्तरता दिएका छन् ।नेताहरु सामूहिक वा व्यक्तिगत रुपमा कार्यकर्तालाई आफ्नो पक्षमा पार्नका लागि रणनीति बुन्दैछन् । वडा, नगर, क्षेत्र तथा जिल्लाको नेतृत्वमा सम्भावित आकांक्षीमध्ये केहीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने केहीले पर्ख र हेरको अवस्थामा रहेका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्