अधिवेशनबारे अनिश्चितता बढ्नु पार्टी नेतृत्वको असक्षमता

पौडेल पक्षीय नेताहरुको निष्कर्ष



नेपाल समाचारपत्र, काठमाडौं । 

सत्ताधारी दल नेपाली काग्रेसको महाधिवेशन अनिश्चित बने सँगै सिङ्गो पार्टीकै वैधानिकता माथि प्रश्न उब्जिरहेको बेला केन्द्रीय नेतृत्वलाई जिल्ला सभापतिहरुले नेतृत्वले उत्तम विकल्प खोजेर अघि बढ्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेसका नेता प्रशासमान सिंहको निवास ठमेलस्थित चाक्सीबारीमा मंगलबार बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय शीर्ष नेताहरु र राजधानीमा उपलब्ध जिल्ला सभापतिहरुको बैठकले क्रियाशील सदस्यता विवादले महाधिवेशन हुन्छ कि हुँदैन भन्ने अन्योल हुने पार्टी नेतृत्वकै असक्षमता भएको औंल्याएका हुन् ।कांग्रेसभित्र क्रियाशील सदस्यता विवाद चुलिएसँगै महाधिवेशनको लागि पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइरहेको छ । महाधिवेशनको कार्यतालिकाअन्तर्गत यही श्रावण १२ गते देखि तल्लो तहको अधिवेशन शुरु गरिने भनिएको थियो । भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको कांग्रेसले १२ गते वडा, गाउँपालिका र नगरपालिका श्रावण १६ गते, प्रदेश क्षेत्रीय अधिवेशन श्रावण २० गते, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन श्रावण २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन श्रावण २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्ने निर्णय गरेको थियो ।

तल्लो तहको अधिवेशन प्रभावित भएसँगै तोकिएको समयमा महाधिवेशन नहुने निश्चित भएको छ । कांग्रेसको ७५ वर्षको इतिहासमा महाधिवेशनलाई लिएर पार्टीको वैधतामाथि नै प्रश्न उठ्ने गरी राजनीतिक अवमूल्यन यसअघि कहिल्यै नभएको पनि सो बैठकमा चर्चा भएको छ ।बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री डा. रामशरण महत, नेताहरु अर्जुन नरसिंह केसी, डा. मीनेन्द्र रिजाल, बलबहादुर केसीलगाएतका नेताहरु थिए ।

बैठकमा जिल्ला सभापतिहरु मधुप्रसाद आचार्य काभे्र, सबुज बाणिया काठमाडौं, उज्जल बराल सिन्धुली, कमलराज जोशी सुर्खेत, रमेश धमला धादिङ, विकास लामा सिन्धुपाल्चोक, विनोद बस्नेत सोलुखुम्बु, अंगत बुढा डोल्पालगाएत उपस्थित थिए ।बैठकमा संस्थापन पक्ष मनपरि ढंगले अघि बढेको भन्दै अहिलेसम्म निर्धारण भएका क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने, त्रुटि सच्चाउन समय दिनुपर्नेलगायतका विषयमा पनि चर्चा भएको जिल्ला सभापति मधुप्रसाद आचार्यले बताउनुभएको छ । संस्थापन पक्षको दबाब र प्रभावमा क्रियाशील सदस्यता हेरफेर गरेको, समायोजनका नाममा कांग्रेसका पुराना र सक्रिय नेताहरुको राजनीति समाप्त पार्न खोजिएको समस्या नभएको ठाउँमा पनि संस्थापन पक्षले उजुरी हाल्न लगाएको जस्ता विषयमा पनि छलफल भएको जिल्ला सभापति आचार्यले बताउनुभएको छ ।

बैठकमा संस्थापन पक्षले क्रियाशील सदस्यता समायोजनका नाममा पार्टीको मूल चरित्र समाप्त पार्ने काम गर्न नहुने भन्दै अधिवेशनलाई पारदर्शी ढंगले सम्पन्न गर्न नेतृत्वलाई दबाब दिनुपर्ने कुरालाई जोड दिइएको थियो ।पौडेल पक्षका नेताहरुबीच भावी नेतृत्वको विषयलाई लिएर पनि छलफल भएको थियो । नेतृत्वको विषयमा भएको छलफलबारे जिल्लासभापति आचार्यले भन्नुभयो– ‘सकेसम्म पार्टीभित्रको समग्र एकताका साथ सहमतिमा नेतृत्व लिने नभए संस्थापन इतरबाट सहमति गरी नेतृत्व लिन अघि बढ्ने कुरा भएको छ । अधिवेशनको मूल आधार भनेकै क्रियाशील सदस्य भएको र यो क्रियाशील सदस्यता विवाद सहमतिमा टुंग्याउनुपर्ने पौडेल पक्ष नेताहरुको भनाइ छ ।

प्रत्येक अधिवेशनमा कांग्रेसको क्रियाशील सदस्यता वितरणबारे विवाद हुने गर्छ । क्रियाशील सदस्यता विवाद कांग्रेसको ‘महारोग’ जस्तै भएको छ । क्रियाशील सदस्यहरुले नगरसम्मको नेतृत्व प्रत्यक्ष मतदानद्वारा निर्वाचित गर्छन् भने क्षेत्रीय प्रतिनिधि पनि प्रत्येक वडाबाट क्रियाशील सदस्यहरुले नै निर्वाचित गरी पठाउँछन् । क्षेत्रीय प्रतिनिधिले जिल्ला नेतृत्वका साथै महाधिवेशन प्रतिनिधि चयन गर्छन् । महाधिवेशन प्रतिनिधिले केन्द्रीय नेतृत्व चयन गर्छन् ।

प्रतिक्रिया दिनुहोस्