करिश्मादेखि सुहानासम्मको केश सजाउँदै गीता


कुनै पनि कलाकारलाई पात्र सुहाउँदो ढंगले प्रस्तुत गर्न उचित श्रृंगारसँगै केशसज्जाको अहम् भूमिका हुने गर्दछ। कला क्षेत्रको प्राविधिक पाटतर्फको महत्वपूर्णमध्ये एक क्षेत्र हेयर स्टाइललाई पछ्याउँदै साढे दुई दशकदेखि विभिन्न कलाकारको केश सजाउँदै आएकी छिन् हेयर स्टाइलिस्ट गीता पौडेल।

अघिल्लो पुस्ताका लोकप्रिय अभिनेता अभिनेत्री राजेश हमाल, करिश्मा मानन्धर, सञ्चिता लुइँटेल, ऋचा घिमिरे, निरुता सिंहदेखि पछिल्लो समयका पल शाह, केकी अधिकारी, स्वस्तिमा खड्का, पूजा गिरीजस्ता चर्चित अनुहारको केश सजाएर आफूलाई अब्बल हेएर ड्रेसरको रूपमा उभ्याएकी गीता फेरी तिम्रो याद आयो नामक फिल्ममार्फत फिल्मी हेयर स्टायलको क्षेत्रमा जोडिएकी थिइन्।त्यसपछि उनले मैदान, मृगतृष्णा, अग्निज्वाला, त्रिवेणी, दुई किनारा, राजु राजा राम, ख्याल ख्यालैमा, जय शिव शंकर, इन्द्रेणी, तग्दिर, देश, कोही मेरो, दर्पण छायाँ २, दुर्गा, मेरो लभ स्टोरी, जेरी, मेरो एउटा साथी छ, छोडी गए पाप लाग्ला, ऐश्वर्या, मुग्लान, भिसा गर्ल, गोर्खा पल्टनजस्ता ८५ जति फिल्मका विभिन्न नेपाली कलाकारका साथमा दामीनी, साथी रेजस्ता भोजपुरी फिल्म, सिंहदरबार, अञ्जलीजस्ता टेलिफिल्म तथा विभिन्न म्युजिक भिडियोका कलाकार तथा मोडलको केश सजाएर उनीहरूलाई आकर्षकरूपमा तयार पार्दै आएकी छिन्
‘हेयर स्टाइलिस्टको काम कथाको पात्रअनुसार तथा कलाकारको अनुहार सुहाउँदो हेयर स्टाइल गर्नु हो।

यसमा कुन समयमा कस्तो हेयर स्टाइल चलेको छ वा चलाउने भन्ने पनि ख्याल राख्नुपर्ने हुन्छ। क्यारेक्टरलाई नेचुरल लुक दिँदा मात्र उक्त पात्रलाई जस्टिस हुन्छ’, गीताको अनुभव छ। द्वन्द्व तथा कला निर्देशक एवं अभिनेता स्व. गोपाल भुटानीको सहयोगमा नेपाली फिल्म क्षेत्रमा हेयर डिजाइनरको रूपमा प्रवेश गरेकी गीतालाई निर्मँता निर्देशकले चुनौतीपूर्ण कामका लागि सम्झने गर्छन्। ‘मैले पहिलेदेखि अहिलेसम्म आफूले जिम्मा लिएको काम जिम्मेवारी पूर्णरूपले गर्दै आएको छु। त्यही कारण पनि कुनै फिल्म तथा म्युजिक भिडियोका लागि फरक र चुनौतीपूर्ण कामका लागि निर्माता निर्देशकहरू मलाई नै सम्झिनुहुन्छ’ उनले खुसी व्यक्त गर्दै भनिन्।

साढे दुई दशकको करिअरमा गीताले करिस्मा मानन्धर, सञ्चिता लुइँटेलको पुस्ता हुँदै सुहाना थापासम्मको पु्स्तासँग काम गरेको अनुभव सँगालेकी छिन्। पुस्ता परिवर्तनसँगै उनीहरूसँग काम गर्दा फरक—फरक अनुभव गीतासँग छन्। ‘पहिलेका कलाकारसँग काम गर्दा निकै सहज थियो। सञ्चिता लुइँटेल, ऋचा घिमिरेजस्ता नायिकासँग निकै फ्रेन्डली भएर काम हुन्थ्यो। पछिल्लो समय साम्राज्ञी राज्यलक्ष्मी शाह, केकी अधिकारी, स्वस्तिमा खड्का, सुहाना थापालगायतका नायिकासँग पनि सजिलो महसुस गर्छु। ‘अहिलेका कलाकार धेरै कुरा जानेरै आउनुभएको हुन्छ। त्यसकारण काममा सजिलो पनि हुन्छ। तर, पहिले कलाकारले हेयर स्टाइल पनि एक प्रकारको कला हो, हेयर स्टाइलिस्ट पनि ब्याकग्राउन्ड आर्टिस्ट हो भन्ने भावना र सम्मानका साथ हेर्ने गर्नुहुन्थ्यो’ उनी भन्छिन्।

कपाललाई विभिन्न लुक्स र स्टाइल दिने क्रममा अभिनेत्रीको तुलनामा अभिनेताको निकै सजिलो महसुस हुने गीताको अनु्भव छ। ‘महिला कलाकारको कपाल लामो हुने भएकोले अलि समय लाग्ने र मिहेनत पनि बढी लाग्ने हुन्छ। तर, पुरुष कलाकारको भने कपाल छोटो हुने भएकोले भिलेनको होस या हिरोको क्यारेक्टर हो, केही समयमै लुक्स क्रियट गर्न सकिन्छ भने धेरै लुक्स दिन सकिन्छ’ गीताले सुनाइन्। डिजिटल प्रविधिका कारण केही वर्षयता तुरुन्तै क्यामेराबाट खिचिएको भिडियो हेरेर नमिलेको कुरालाई सच्याउन सकिने भएकाले काममा थप निखारता ल्याउन सजिलो भएको गीता बताउँछिन्।

आफूले मेहनत अनुसारको उचित पारिश्रमिकको माग गर्दै र लिँदै आएकी गीता मेहनत र जिम्मेवारीपूर्ण ढंगले काम गर्ने बानीका कारण कामअनुसारको पारिश्रमिकको माग गर्न सकेको सुनाउँछिन्। ‘मेरो बजेटिङ पनि राम्रै हुन्छ। प्रायःले दिनुहुन्छ। प्रायः विदेशमा सुटिङ हुने सिनेमाको लागि कम बजेट हुन्छ तर, मैले पछिल्लोपटक युकेमा सुटिङ गरिएको हेलो जिन्दगी फिल्मका लागि एक लाख २० हजार बजेट लिएको थिएँ। हुन त कतिपय फिल्ममा बजेटिङको समस्या पनि आउँछन्। हामीलाई हेयर स्टाइलिङका लागि आवश्यक सामान प्रोडक्सनले उपलब्ध गराउँदैनन्, आफैँले किन्नुपर्ने हुन्छ। नेपालमा ती सामान एकदमै सर्टेज हुन्छ भने ओरजिनल सामान पाउन पनि गाह्रो हुन्छ। आउटडोर काम गर्दा कतिपय स्थानमा हेयर सेट गर्नका लागि प्रयोग गर्ने उपकरणका लागि बिजुलीको समस्या हुन्छ, बिजुलीबाट बनाउने लुक्स विना बिजुली पनि गरिरहेका हुन्छौँ। त्यस्तो हुँदा बढी समय लाग्छ’ गीताले हेयर स्टाइलिस्टका समस्या सुुनाइन्।गीताका पति रामेश्वर हुमागार्इं नेपाली फिल्म क्षेत्रमा छायाँकारको रूपमा सक्रिय छन्। ‘श्रीमान् यही क्षेत्रमा काम गर्ने भएकोले एक हिसाबले सजिलो भएको छ भने अर्कोतर्फ बाबु पनि भएको कारणले एकजना काममा जाँदा अर्कोचाहिँ बाबुको रेखदेखका लागि घरमै बस्नुपर्ने हुन्छ। त्यसैले, लामो समयसम्म एकै क्षेत्रमा काम गर्दै आए पनि हामीले एउटै फिल्ममा सँगै काम गर्ने मौका पाएका छैनौं। त्यो मौका पनि आओस् भन्ने लाग्छ’ उनले सुनाइन्।

नेपाल प्रविधिक संघमा सदस्य, कार्यसमिति सदस्य हुँदै हाल कोषाध्यक्ष पदमा दोस्रो कार्यकाल सम्हालिरहेकी गीता यस क्षेत्रमा दिएको योगदानको कदरस्वरूप नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०७७ लगायत विभिन्न संघ संस्थाबाट सम्मानित भएकी छिन्।