उपत्यकाको सम्पदा क्षेत्र खतरामुक्त सूचीमा



ईश्वरराज ढकाल, काठमाडौं । 
युनेस्कोको विश्व सम्पदा समितिका १४ मुलुकको अडानका कारण विश्व सम्पदामा सूचीकृत काठमाडौं उपत्यकाका सम्पदालाई खतराको सूचीबाट हटाइएकोे छ ।

युनेस्कोले सन् २०१५ देखि उपत्यकाको सम्पदा क्षेत्रलाई खतराको सूचीमा राखेको थियो । भूकम्पलगत्तै सन् २०१५ मा सम्पन्न बैठकपछि उपत्यकाको सम्पदालाई खतराको सूचीमा राखेको थियो । खतराको सूचीमा परेकोे ७ वर्षपछि सन् २०२१ मा बल्ल उपत्यकाको सम्पदालाई खतराको सूचीबाट हटाउन सफलता प्राप्त भएको छ ।जुलाई १७ देखि ३१ तारिखसम्म चलेको समितिको बैठकले उपत्यकाको सम्पदालाई खतराको सूचीबाट हटाउने निर्णय गरेको हो ।२१ सदस्यीय कार्यकारीणी समितिको बैठकमा नेपालको काठमाडौं उपत्यकाको सम्पदाको विषय प्रवेश गर्नासाथ अध्यक्षता ग्रहण गर्ने मुलुक चीनसहितका १४ राष्ट्रले खतराको सूचीमा रहेका उपत्यकाको सम्पदा पुनःनिर्माण सन्तोषजनक देखिएकाले खतराको सूचीबाट हटाउनुपर्ने भनाइ राखेका थिए ।

चीन, अस्ट्रेलिया, थाइल्यान्ड, नाइजेरिया, ओमान, साउथ अफ्रिका, इजिप्ट, बोसनिया हर्जगोभिना, हंगेरी, इथियोपिया, किर्गिस्तान, साउदी अरेयिबा र बहराइनले काठमाडौं उपत्यकाको सम्पदालाई खतराको सूचीबाट हटाउनुपर्ने विषयमा एकमत जाहेर गरेको बैठकमा सहभागी पुरातत्व विभागका विश्वसम्पदा महाशाखा प्रमुख डा. सुरेश सरस श्रेष्ठले नेपाल समाचारपत्रलाई बताउनुभयो ।समितिको ४५औं बैठकले सन् २०१५ को शक्तिशाली भूकम्पपछि उपत्यकाको सम्पदा निर्माणमा उलेख्य प्रगति भएको विषयले चर्चा पाएको थियो । युनेस्कोमा १ सय ९४ राष्ट्र सहभागी भए पनि २१ सदस्यीय कार्य समितिमध्ये १४ सदस्यले समर्थन गरेका कारण उपत्यकाको सम्पदा खतराको सूचीबाट हट्न सफल भएको हो ।यसअघि सन् २०१९ मा उपत्यकाको विश्वसम्पदा क्षेत्रको पुनःनिर्माणको अवस्थाबारे अनुगमन गर्न आएको युनेस्को मिसन टोलीले त्यसबेला भएको पुनःनिर्माण प्रगतिको बारेमा अनुगमन गरेको थियो ।

सन् २०२० मा कोभिड–१९ का कारण अनुमगन टोली नेपाल आउन नसकेपछि नेपालले गत वर्ष भएको सम्पदा पुनःनिर्माणको प्रगतिको विषयमा जानकारी दिएको थियो ।डा. श्रेष्ठका अनुसार भूकम्पले ध्वस्त र क्षतिग्रस्त बनाएका करिब १ सय ७० सम्पदामध्ये हालसम्म १ सय १६ पुनःनिर्माण भइसकेका छन् भने बाँकी ५४ संरचना दुई वर्षभित्र सक्नेगरी काम भइरहेको छ । हाल विश्वभर १ हजार १ सय ५४ सम्पदा विश्वसम्पदा सूचीमा सूचीकृत छन् । गएको बैठकमा ३४ नयाँ सम्पदा थपिएका छन् ।भूकम्पपछिको पुनःनिर्माणका कारण नेपालको सम्पदा क्षेत्रको भौतिक प्रगति सन्तोषजनक देखिएको बताउँदै विभागका महानिर्देशक दामोदर गौतमले विश्वसम्पदा क्षेत्रको संरक्षणमा थप ध्यान दिनु आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विश्वसम्पदा क्षेत्रलाई खतराको सूचीबाट हटाउनु नेपालकै गौरवको विषय हो ।

प्रतिक्रिया दिनुहोस्