मनाङका सडकको मर्मत कार्य शुरू



यदुप्रसाद भट्ट, काठमाडौं  । 

असार १ पछि आएको बाढीपहिरोले क्षतविक्षत भएको मनाङको सडक सञ्जाललाई पुनः सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय लमजुङले काम थालेको छ ।

बाढीपहिराले डुम्रे–बेंसीशहर–खाङ्सार सडकको करिब ८० प्रतिशत खण्डमा क्षति पुगेको छ । यहाँका जनप्रतिनिधिले स्थानीय तह, प्रदेश र संघ सरकारसँग मिलेर क्षति पुगेको सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउनका लागि मर्मतको काम गरिरहेका छन् ।प्रतिनिधिसभा सदस्य पाल्देन छोपाङ गुरुङ सम्बन्धित निकायबीच समन्वय गरी मनाङलाई सडक सञ्जालसँग जोड्न लागिपरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो–‘स्थानीय तहदेखि केन्द्रसम्म गरेको प्रयासले सार्थकता पाउँदै आएको छ, केही ठाउँमा सडक पुनः सञ्चालन गर्न सकिएको छ, अब एकदम अप्ठ्यारो ठाउँमा कसरी बाटो खुलाउने र बाटोलाई कसरी दिगो बनाउने भनेर सडक विभाग लगायतका सम्बन्धित निकायसँग समन्वय गरिरहेको छु ।’

बाढीपहिरोका कारण घरबारविहीन बनेका यहाँका बासिन्दालाई एक गाउँबाट अर्को गाउँ आवतजावत गर्नसमेत कठिनाइ छ । जिल्लाकै ‘लाइफलाइन’का रूपमा रहेको सडकखण्ड अवरुद्ध हुँदा मनाङबासीलाई दैनिकी चलाउन धौ–धौ भएको छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय सरकारको सहकार्यमा काठे पुल, फड्के र गोरेटो बाटो निर्माण गरी मानिसको आवागमन केही हदसम्म सहज बनाइएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘बाढीपहिरोका कारण जनतासँगै म पनि त्रिपालमुनि बसेर आफ्नो कर्तव्य पूरा गर्दैछु, दुःख सुखमा स्थानीय सरकार अभिभावकका रूपमा रहेको आभास गराउने प्रयासमा लागिपरेको छु ।’

उहाँले सदरमुकाम चामेको पक्की पुल थुनिँदा बाढीको कटानले सामुदायिक तथा व्यक्तिगत संरचनामा क्षति पुगेको बताउनुभयो । हाल नदीको धार पहिलाकै अवस्थामा फर्काइएपछि दुई गाउँपालिकाबीच आवतजावत भएको उहाँको भनाइ छ ।डेढ महिनादेखि मनाङी जनप्रतिनिधिले त्रिपालमुनि बसेर सहयोग र साथ दिँदै आएका छन् । बाढीपहिराले चारवटै गाउँपालिका जोड्ने सडकमा क्षति पुगेपछि जनजीवन प्रभावित हुनाका साथै कठिनाइ भइरहेको छ । बाढीले माथिल्लो मनाङको वडा नं १ पिसाङदेखि चामे गाउँपालिकाको पाँचवटै वडा र नासोँ गाउँपालिकाका सबै वडा पूर्णरूपमा प्रभावित भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘मनसुनको प्रभाव निरन्तर परिरहेकाले समयमा काम गर्न कठिनाइ भएको छ । हाल मौसम अनुकूल भएसँगै सडक प्राथमिकतामा राखेर काम अगाडि बढाइएका छौं ।’

कम क्षति पुगेको ठाउँका सडक स्थानीय तहको सहकार्यमा प्राविधिक टोलीले मर्मतको काम गरिरहेको सडक डिभिजन लमजुङका इन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सडक स्तरोन्नतिको काम गरिरहेको अवस्थामा बाढीपहिराले क्षति पु-याएको थियो, बाढीपहिराको जोखिम कम हुनेबित्तिकै कामलाई निरन्तरता दिएका छौं ।’यसअघि सडक सञ्जाललाई पूर्णरूपमा सञ्चालनका लागि नेपाली सेनाका इन्जिनियर इन्दिवर गुरुङको प्राविधिक टोली र सडक डिभिजन कार्यालयका प्राविधिकले अनुगमन तथा निरीक्षणपश्चात् प्रतिवेदन सम्बन्धित निकायलाई बुझाइसकेका छन् ।

जिल्लाभित्रका केही ठाउँमा सवारी आवगमन पुनः सञ्चालन भएका छन् । मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङदेखि खाङ्सारसम्म, चामे गाउँपालिकाको तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिकाको सिमानासम्म र लमजुङको सदरमुकाम बँेसीशहरदेखि मनाङको सिमानासम्म हाल यातायात सञ्चालन भएको सडक डिभिजन कार्यालय लमजुङले जनाएको छ ।यस सडकखण्डको १ सय ७ किलोमिटरमध्ये लमजुङतर्फको ३५ किलोमिटर अस्थायीरूपमा सञ्चालन भएको छ भने मनाङतर्फको करिब १२ किलोमिटर सञ्चालनमा आए पनि अझै ६० किलोमिटर सडक मर्मत गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्