ललितपुर महानगरपालिका–३ विधुतीय गाडी सञ्चालन गर्ने देशकै पहिलो वडा बन्यो



सुनील महर्जन, ललितपुर ।

ललितपुरमा विशेषतः ज्येष्ठ नागरिक र अपांगता भएकाहरुका लक्षित गरी विधुतीय गाडी सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिका वडा– ३ ले सेवाग्राहीहरुलाई लक्षित गरी सो गाडी सञ्चालनमा ल्याएको हो ।

अहिलेसम्म सम्बद्ध क्षेत्रका व्यक्तिहरुको जानकारी अनुसार स्थानीय तह वा वडा कार्यालयले वडाबासीहरुको लाई लक्षित गरी विधुतीय गाडी सञ्चालनमा ल्याएको सम्भवतः यो नै पहिलो पटक रहेको छ ।वडामा काम विशेषले वा सिफारिश लिन आउनुपरेमा आफ्नो साधन नहुने वडाबासीहरुले सो गाडी चढेर पुल्चोकस्थित वडा कार्यालयमा आउन वडा कार्यालयले सार्वजनिक रुपमा आग्रह गरेको छ ।विशेषतः ज्येष्ठ नागरिक, अपांगता भएका, असक्त, घरपरिवारमा कुनै साधन नभएका मानिसहरुलाई लक्षित गरी गाडी सञ्चालनमा ल्याइएको वडाअध्यक्ष श्रीगोपाल महर्जनले बताउनुभयो ।यसका लागि वडाबासीले कुनै किसिमको शुल्क तिर्नुपर्दैन । तर वडाले दिएको परिचय पत्र भने अनिवार्य देखाउनुपर्ने छ ।’ वडाअध्यक्ष महर्जनले बताउनुभयो ।वडाले प्रत्येक घरका घरमुलीलाई परिचय पत्र दिइसकेको छ।सो वडामा २२ सय घर परिवार रहेको वडाले जनाएको छ ।

विधुतीय गाडी वडाको सीमानाको बाटो हुँदै चल्नेछ। कार्यालय आउने र जाने समय बाहेक दिउँसो दुई पटक गरी दैनिक चार पटक गाडीले वडाको पुरै क्षेत्र फन्को मार्ने छ।पाटनढाकोबाट कृष्णगल्ली, बखुण्डोल, झम्सिखेल, सानेपा, चक्रपथ, धोबिघाट, सेन्टमेरिज गल्ली र दमकलको बाटो हुँदै पुल्चोकस्थित वडा कार्यालयको रुटमा गाडी चल्ने वडा कार्यालयले जनाएको छ।गाडी चल्न थालेपनि भदौ १ गतेदेखि नियमित र व्यवस्थित रुपले चल्ने बताइएको छ । गाडी आठ जनाको सीट क्षमताको रहेको छ।वडामा सेवा लिन आउने बाहेक रुटमा पायक पर्ने वडाबासी सबैले गाडी चढ्न सकिने पनि वडाअध्यक्ष महर्जनको भनाई रहेको छ।सो गाडी भारतमा बनेको हो।विधुतीय माध्यमबाट एकचोटी पुरै चार्ज ग-यो भने ७० किलोमिटर सम्म गाडी सहज रुपमा चल्ने वडाअध्यक्ष महर्जनले जानकारी दिनुभयो।सो गाडीको कर समेत गरी मूल्य ३३ लाख ६७ हजार ४ सय रुपैयाँ परेको वडा कार्यालयले जनाएको छ । गाडी सञ्चालनको अनुभवबाट सिकेर पछिआवश्यकता अनुसार विस्तारै गाडीको संख्या थप्दै जाने योजना रहेको पनि वडाअध्यक्ष महर्जनले बताउनुभयो ।

गाडीको उद्घाटन गर्दै उर्जा जलस्रोत तथा सिंचाई तथा मन्त्री पम्फा भुसालले इन्धनको खपत अत्यधिक भइरहेको बेला वडाबाटै विधुतीय गाडी सञ्चालन ल्याउनुले अरुलाई पनि विधुतीय गाडीको प्रयोगमा ल्याउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।बढ्दो सवारी साधनले धान्नै नसकिने गरी पेट्रोलको माग बढाइरहेको छ। एलपी ग्यास लगायत अरुको इन्धनको खपत निकै बढीरहेको छ । यस्तो अवस्थामा भान्सादेखि सवारी साधनसम्म विद्युतीय ऊर्जा प्रयोग गर्न अपिल गर्दै मन्त्री भुसालले भन्नुभयो ‘ हाम्रो देशको पैसा हाम्रै देशमा खर्च गर्न लागौं । त्यसले मात्रै व्यापार घाटा कम गर्न सहयोग गर्छ । ’ ‘सिंहदरबारको अधिकार घरदैलोमा’ भन्ने नारा दिएर तीन तहको सरकारको व्यवस्था गरिएको स्मरण गर्दै उहाँले वडा नं ३ ले समाजका सबै क्षेत्र वर्ग र समुदायलाई आफ्नो उत्कृष्ट प्रशासनिक, सेवा र सुविधा दिन सफल भएको बताउनुभयो ।

सो अवसरमा साझा यातायातका अध्यक्ष कनकमणी दीक्षितले स्थानीय तह वा वडाले विधुतीय बस सञ्चालनमा ल्याएको सम्भवतः यो नै पहिलो पटक रहेको उल्लेख गर्दै उर्जाको र वातावरण मैत्रीका लागि विधुतीय गाडीको प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिनुभयो । यस कार्यले वडालाई वडाबासीको दैनिक जीवनसंग जोडेको भन्दै अध्यक्ष दीक्षितले सो कार्यको प्रशंसा गर्नुभयो । डेढ वर्ष अघि सो वडाले जेट मेशिन खरिद गरी सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्