लिभरपुल मारिटाइम विश्व सम्पदासूचीबाट हटेपछि नेपालको सतर्कता

3.7k
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

युनेस्कोको विश्व सम्पदा समितिले बेलायतस्थित लिभरपुलको मारिटाइम मर्कन्टाइल शहरलाई विश्वसम्पदा सूचीबाट हटाएपछि आफ्ना १० क्षेत्रलाई सोही सूचीमा राख्ने अवसर पाएको नेपालले बढी सतर्कता अपनाउनुपर्ने विज्ञहरूको धारणा छ ।

युनेस्कोको विश्वसम्पदा समितिको तीन दिनअघि सम्पन्न ४५औं सत्रको बैठकले युनाइटेड किङडम अफ ग्रेट ब्रिटेन एन्ड नर्थन आयरल्यान्डस्थित लिभरपुलको मारिटाइम मर्कन्टाइल शहरलाई विश्वसम्पदा सूचीबाट हटाएको हो ।

विश्व सम्पदा सूचीमा सूचीकृत भएको १७ वर्षपछि सो शहरलाई सूचीबाट हटाएको हो । १८ र १९आंै शताब्दी लामो इतिहास बोकेको सो शहर सन् २००४ मा सूचीकृत भएको थियो ।

त्यहाँ द लिभर बिल्डिङ (ऐतिहासिक भवन) कर्नाड बिल्डिङ, डक एरिया विथ वायर हाउस, डक वाल्स, रिमनान्ट क्यानल सिस्टम, मर्कन्टाइल एरिया, बैंक, बिमा कम्पनी, विलियम ब्राउन स्ट्रिट कल्चरल क्वाटर, सेन्ट जर्ज प्लाट्यु र सांस्कृतिक सम्पदा झल्काउने भवनलगायतका संरचना छन् ।

२१ मुलुक सम्मिलित कार्यकारी समितिको यही जुलाई १७ देखि ३१ तारिकसम्म चलेको भर्चुअल बैठकमा सो निर्णय लिइएको हो । २१ राष्ट्रमध्ये १४ राष्ट्रले विश्वसम्पदा सूचीबाट हटाउनुपर्नेमा मतदान गरेका थिए भने ७ सदस्यले नहटाउने भनेका थिए ।

युनेस्कोमा एक सय ९४ राष्ट्र सहभागी भए पनि निर्वाचनबाट अध्यक्ष राष्ट्रसहित २१ जनाको कार्यसमिति हुने व्यवस्था छ । नेपाल त्यसको साधारण सदस्य मुलुक हो । हाल चीन अध्यक्ष मुलुक रहेको छ ।

यो शहर विश्वसम्पदा सूचीबाट हटे पनि अब बेलायतभर ३३ विभिन्न क्षेत्र विश्व सम्पदा सूचीमा छन् । विश्वसम्पदा समितिले २६ जुन सन् २०१२ मा यस शहरलाई निस्कासन गर्न सकिने सूचीमा राखेको थियो ।

हाल विश्वभर एक हजार एक सय ५४ सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

बैठकमा नेपालको खतराको सूचीको विषयमा समेत छलफल भएको थियो । नेपालको विषयमा सहानुभूति देखाउने मुलुक थुप्रै देखिए पनि सम्पदा संरक्षण र निर्माणमा अटेर गर्ने लिभरपुल शहरको समर्थनमा बोल्ने सदस्य राष्ट्र थोरै देखिएका थिए ।

समितिले नेपालको हनुमानढोका दरबार क्षेत्रको सम्पदाको विषयमा थुप्रै चासो देखाए पनि पुनःनिर्माणको प्रगतिको हैसियतमा सबैले समर्थन गरेको पाइएको थियो । बैठकमा सहभागी पुरातत्व विभागका विश्वसम्पदा महाशाखा प्रमुख सुरेश सुरस श्रेष्ठले नेपाल समाचारपत्रलाई बताउनुभयो ।

भूकम्पपछिको पुनःनिर्माणको कारण नेपालको सम्पदा क्षेत्रको भौतिक प्रगति सन्तोषजनक देखिएको बताउँदै विभागका महानिर्देशक दामोदर गौतमले भन्नुभयो– ‘नेपालले विश्वसम्पदा क्षेत्रको संरक्षणमा झन् ध्यान दिनु आवश्यक छ ।’ बैठकमा उपस्थित अधिकांश मुलुकले नेपालको समर्थन गरेको उहाँको भनाइ थियो ।

नेपालको सम्पदा संरक्षणको भूमिकामा विश्वले प्रशंसा गरे पनि बेलायतको लिभरपुललाई सम्पदा सूचीबाट हटाएपछि नेपालको उपत्यकाको विश्वसम्पदा क्षेत्र खतराको सूचीमा कायमै रहेको विज्ञले बताउँदै आएका छन् ।

उनीहरूको तर्क छ– ‘अन्तर्राष्ट्रिय सन्धि सम्झौताअनुसार विश्वसम्पदा क्षेत्रको संरक्षणमा सबै निकाय सचेत हुनु आवश्यक छ । त्यसका लागि स्थानीय निकायको मुख्य भूमिका देखिन्छ ।’
बक्स

नेपालका १० विश्व सम्पदा

१. पशुपतिनाथको मन्दिर
२. बौद्धनाथ स्तूप
३. स्ययम्भूनाथ स्तूप
४. चाँगुनारायण मन्दिर
५. काठमाडौं दरबार क्षेत्र
६. पाटन दरबार क्षेत्र
७. भक्तपुर दरबार क्षेत्र
८. लुम्बिनी
९. चितवन राष्ट्रिय निकुञ्ज
१०. सगरमाथा राष्ट्रिय निकुञ्ज