एक सातामा शेयर बजारको एक खर्बको सम्पत्ति बढ्यो


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गर्ने तयारी गरिहँदा त्यसको प्रभाव शेयर बजारमा पार्न थालेको छ । नेप्सेमा भइरहेको वृद्धिले सो प्रभावको संकेत गरेको हो ।

यस साता नेप्सेमा उच्च अंकको बढी वृद्धिमात्रै भएको छैन । नेप्से ऐतिहासिक बिन्दुमा पुगेको छ । यस साताको पहिलो कारोबार दिन नेप्सेमा ५४ दशमलव ३१ अंकले बढेर ३०५८ दशमलव ६३ बिन्दुमा पुगेको थियो । साताभर कुल २२५ कम्पनीको १६ करोड ७५ लाख ६६ हजार कित्ता शेयर ६७ अर्ब ७४ करोड ६ लाख ३९ हजार रुपियाँमा कारोबार भएको छ ।

कारोबार रकममध्ये मंगलबार सबैभन्दा धेरै १५ अर्ब १७ करोड रुपियाँको शेयर कारोबार भएको छ भने बिहीबार सबैभन्दा थोरै १० दशमलव ९१ अर्ब रुपियाँको शेयर कारोबार भएको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण १ खर्ब ५ अर्ब रुपियाँ बढेको छ। गत साता ४१ खर्ब ७९ अर्ब रुपियाँ रहेको नेप्सेमा सूचीकृत कम्पनीको कुल बजार पुँजीकरण बढेर ४२ खर्ब ८४ अर्ब रुपियाँ पुगेको छ । साताभर लगातार उकालो लागेको नेप्सेमा ऐतिहासिक बिन्दु कायम गर्दै करिब ३१ सयभन्दा माथि पुगेको थियो । साताको अन्तिम दिन भने नेप्सेमा करेक्सन देखिएको छ ।

यस साता नेप्से परिसूचक ७५ दशमलव ५२ अंक बढेर ३०७९ दशमलव ८३ बिन्दुमा पुगेको छ । गत साता ३००४ दशमलव ३१ बिन्दुमा बन्द भएको थियो ।

यस साता कारोबारमा आएका १३ समूहमध्ये ११ समूहको परिसूचक बढेको छ भने बाँकी दुई समूहको परिसूचक घटेको छ। कारोबारमा आएको होटल समूहको परिसूचक यस दिन सर्वाधिक ७ दशमलव ८९ प्रतिशत बढेको छ।

अंकका आधारमा जीवन बीमा समूह ७१४ दशमलव ५३ अंक बढेर अग्रस्थानमा रहेको छ। यस साता रिडी हाइड्रोपावरका लगानीकर्ता प्रतिशतका आधारमा सबैभन्दा बढी ३१ दशमलव १२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै नेपाल हाइड्रो डेभलपर्सको शेयर मूल्य २८ दशमलव ३४ प्रतिशतर ङादी ग्रुप अफ पावरको शेयर मूल्य २७ दशमलव २२ प्रतिशतले बढेको छ ।तर, सिटिजन्स म्युचुअल फन्ड–२ को भाउ, एनआइसी एसिया ग्रोथ फन्ड र सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने धेरै गुमाएका छन् ।