प्रधानमन्त्री रोजगारको करोड फिर्ता



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा–१८, हर्नामाडीमा रहेको गुम्बाडाँडाबाट हेटौंडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरियो । हेटौंडाका १९ वटा वडामध्ये हर्नामाडीबाट हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले उक्त कार्यक्रम सुरु गर्नुभएको थियो ।

गुम्बाडाँडामा ‘नमूना बगैंचा’ बनाउने लक्ष्य राखिएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् कामका लागि पारिश्रमिक दिने उद्धेश्यले हेटौंडामा पहिलोपटक काम सुरु गरिएको थियो त्यो ।

हेटौंडाको पूर्वपश्चिम राजमार्गस्थित राप्तिपुल नजिक सडक किनारमा फूल रोपेर बगैंचा बनाइयो । उक्त स्थानमा हाल मस्किलले फूलका ५/७ बिरुवा होलान् । बरु, लागुऔषध सेवनकर्ताको सुरक्षित स्थान बनिरहेको देखिन्छ ।

सरकारले यसलाई ठूलो उपलब्धीका रुपमा लिए पनि आमजनता भने यसबाट प्रत्यक्ष लाभान्वित भएको देखिएन । रोजगारी सिर्जना गरेर जनताको जीवनस्तर माथि उकास्ने यसको उद्धेश्य भए पनि उक्त कार्यक्रम उपलब्धिमूलक बन्न सकेन । यसको प्रभावकारिता सन्तोषजनक देखिएन ।

हेटौंडा उपमहानगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत् करिब २० प्रतिशत रकममात्र खर्च भएको छ । संघीय सरकारबाट हेटौंडामा रोजगार कार्यक्रम सञ्चालनका लागि १ करोड ४० लाख प्राप्त भएकोमा ४४ लाख रुपियाँमात्र खर्च भएको हेटौंडा उपमहानगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक बिजेन श्रेष्ठले जानकारी दिनुभयो ।

उपमहानगरपालिकामा योजनाका कामहरु व्यवस्थितरुपमा सञ्चालन गर्न नसक्दा बेरोजगारले १ सय दिन श्रम गरेर पाउने रकमको ठूलो हिस्सा फिर्ता भएको रोजगार संयोजक श्रेष्ठले बताउनुभयो । २ सय २९ जनालाई १ सय दिनको रोजगारी प्रदान गर्न आएको रकमअन्तर्गत्को कार्यक्रममा बेरोजगारलाई सहभागी गराउन नसक्दा ९६ लाख खर्च हुन नसकेको हो । उपमहानगरका ८ वटा वडाका नागरिकले १० दिनदेखि ४० दिनसम्म काम गर्दा ३ सय ५ जना लाभान्वित भएको रोजगार संयोजक श्रेष्ठको भनाइ छ ।

आव २०७७/७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुन नसकेको बताउँदै संयोजक श्रेष्ठ लक्ष्यअनुरुप काम गर्न नसकिएको स्वीकार गर्नुभयो । ‘सडक मर्मत, ढल खन्ने, खोलामा बाँध बाँध्न जाली भर्नेलगायत कामहरु सञ्चालन गरिएका थिए । उक्त कामका लागि पनि त्यति जनशक्ति जुटाउन सकिएन । बेरोजगारहरुलाई काममा लगाउन नपाइएका कारण ९६ लाख रुपियाँ फ्रिज हुन पुग्यो ।’ श्रेष्ठले भन्नुभयो ।

रोजगार कार्यक्रमअन्तर्गत् एक जनाले एक दिन काम गरेवापत् ५ सय २५ रुपियाँ पाउने व्यवस्था गरिएको छ । ७० प्रतिशत रकम श्रमिकले ज्यालावापत् पाउने, २५ प्रतिशत रकम सामग्री खरिद र ३ प्रतिशतले औजार खरिद गर्ने गरी रकम हेटौंडामा आएको थियो ।

कार्यक्रमअन्तर्गत् हेटौंडामा बगैंचा, सिंचाईं, मयुरधाप पार्क, डीपीडाँडा पार्क, राजदेवी मन्दिर पदमार्ग, हुप्रचौर गार्डेनिङ, मेनरोड मर्मत, पाथीभरा मन्दिर विश्रामस्थल, प्रतीक्षालय निर्माणलगायत काममा लगाउने उपमहानगरपालिकाले निर्णय गरेको थियो ।

बेरोजगारले आफ्नो वडा कार्यालयमा दर्ता गरेको निवेदन गाउँपालिका वा नगरपालिकाको निर्णयअनुसार ती व्यक्तिलाई रोजगार व्यवस्थापन प्रणालीमा सूचीकरण गरिने व्यवस्था छ । सूचीकृत बेरोजगारलाई सरकारले एक आर्थिक वर्ष अवधिमा १ सय दिनको न्यूनतम् रोजगारी सुनिश्चित गर्ने उल्लेख गरेको छ ।

हेटौंडाका १९ वटा वडामध्ये ८ वटा वडामा मात्र उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । निषेधाज्ञाको समयमा सरकारी काम गरेर आयआर्जन गर्न सहयोग गर्नुपर्ने स्थानीय सरकारले नागरिकको हक लाग्ने तथा काम गरेर आम्दानी गर्न सकिने कार्यबाट ११ वटा वडाका नागरिक भने वञ्चित भए ।

उपमहानगर मेयर महत कोरोना भाइरस संक्रमणको जोखिमका कारण प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुन नसकेको बताउनुहुन्छ । कोरोनाबाट बच्न भीडभाड गरेर जम्मा हुन नहुने बताउँदै सामाजिक क्षेत्रको काम २/४ जनामात्र राखेर सम्भव हुने नभएकाले सोचेजति नागरिक लाभान्वित हुन नसकेको मेयर महतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्