खुटिया नदी कटानले १०० घरपरिवार जोखिममा, तटबन्ध गरेर तत्काल वस्ती बचाउन स्थानीयको माग


हेमन्त पौडेल , धनगढी  । 

धनगढी उप-महानगरपालिका वार्डनं १५ का तीन चार टोलका करिब एक सय घर नदी कटानको जोखिममा परेकाछन् । हरेक वर्ष खुटिया नदीको कटानका कारण नदी छेउछाउनका ती टोल कटानको उच्च जोखिममा रहेकाछन् । धनगढी उप-महानगरपालिका १५ का तरबरिया,सुर्मि झिनुवा र बसन्त टोलका करिब एक सय घर कटानको उच्च जोखिममा रहेको वार्ड अध्यक्ष फूलराम चौधरीले बताउनुभयो । ती टोलमा करिब ३०० घर धुरी रहेकाछन् । जसमध्य करिब एक सय घरधुरी प्रभावित भएकाछन् । भने करिब ५० विगाह भन्दा बढी खेतीयोग्य जमिन कटानको खतरा रहेको छ ।

हरेक वर्ष खुटिया नदीमा आउने बाढीले खुटिया जमिन कटान तिब्ररुपमा गर्ने गरेको छ । आफू निर्वाचित भएर आएदेखिनै खुटिया नदीमा तटबन्धको माग गरेपनि सरोकारवाला निकायले सुनुवाई नगर्दा समस्या भोग्नु परेको अध्यक्ष चौधरीको भनाई छ । वार्डको बजेटले नदीमा तटबन्ध सम्भावना नभएकाले संघीय सरकार र प्रदेश सरकारका निकायलाई गुहार्नुपर्ने अवस्था छ तर हाम्रो आवाज कसैले नसुन्दा जनताले सास्ती भोग्नुपर्ने अवस्था आएको छ । नदी कटानले तिब्ररुप लिएकाले स्थानीय बासिन्दा आतंकित हुने थालेकाछन् । खुटियाले कटान गर्दै पूर्वतिर सर्दै गएकोले आफूहरु विस्थापित हुनुपर्ने होकी भन्ने चिन्ता लागेको तरबरिया टोलका स्थानीय बासिन्दा रामप्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार नदी बस्तीमा आउन करिब एक सय मिटर दूरीमात्र रहेको छ । कटान बढ्दै गएमा खुटिया नदी वस्तीमा पस्ने सम्भावना बढी भएकाले तत्काल नदीमा तटबन्धको काम गर्न स्थानीय बासिन्दाहरुको माग छ ।

समयमा खुटिया नदीमा तटबन्धको काम नभएमा सो क्षेत्रका करिब ३०० घरधुरी प्रभावित हुनसक्ने कुरालाई मध्यनजर राख्दै आफुले संघीय साँसद नारदमुनी रानासंग पनि तटबन्धको कुरा बारम्वार उठाएको वार्ड अध्यक्ष चौधरीले बताउनुभयो ।साँसद रानाले खुटिया नदीमा तटबन्धका लागि विभागसंग माग गरिरहेको जानकारी दिनुभयो । जनताको तटबन्ध कार्यालय महेन्द्रनगरका इन्जिनियर करुणाकर पन्तका अनुसार अहिले सम्म आफूहरुकाहा सो क्षेत्रको समस्याका बारेमा कुनै जानकारी नआएको बताउनुभयो । कटानको समस्या हो भने आपूmहरु स्थलगत भ्रमण गरेर के गर्न सकिन्छ काम गर्ने उहाँले बताउनुभयो । समय अनुकुल मिलाएर धनगढी १५ का वार्ड अध्यक्ष संग समन्वय गरेर स्थलगत भ्रमण गर्ने इन्जिनियर पन्तको भनाई छ ।