धनुषामा सवारी दुर्घटना : चालकको मृत्यु,पाँच जना घाइते


धनुषा ।

धनुषामा आज एकाबिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।दुर्घटनामा परी घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा दीपकका ३८ वर्षीया श्रीमती ऋचा यादव, १३ वर्षीय छोरा गेहेन्द्र यादव, ३९ वर्षीय भाइ नवीन, नवीनकी ३३ वर्षीया श्रीमती अम्बिका र मटिहानी नगरपालिकाका ४५ वर्षीय त्रिलोक यादव घाइते भएका छन् । घाइते पाँच जनाको प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ ।

आज बिहान ५ः०० बजे ढल्केबर–जनकपुर राजमार्गको लक्ष्मीनियाँ गाउँपालिकास्थित सपही सडकखण्डमा सरकारी नम्बर प्लेट ज२००२०००१ख ००३५ नम्बरको स्कारपिओ पिकअप अनियन्त्रित भएर पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।