रक्तसञ्चार डेढ करोड बढी सञ्चालन घाटामा

1.6k
Shares

काठमाडौं, (नेस) ।

केन्द्रीय रक्तसञ्चार सेवाले यो आर्थिक वर्षमा १ करोड ६८ लाख ६२ हजार १ सय ८० रुपियाँ सञ्चालन घाटा बेहोरेको छ । रक्तसञ्चार सेवाको ५५औं स्थापनाको दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवामा आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

कार्यक्रममा सार्वजनिक गरिएको रक्तसञ्चार सेवाको प्रारम्भिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण हुनु अघिको वार्षिक खर्च ३ करोड ८८ लाख ३८ हजार २ सय ५० रुपियाँ छ भने रक्त सेवाबापत शुल्क २ करोड १९ लाख ५७ हजार ७० रुपियाँ आम्दानी गरेको छ । रक्तसञ्चार सेवाले उक्त घाटा परिपूर्तिका लागि नेपाल सरकारका विभिन्न निकाय र दातृ निकायसँग सहयोगका लागि समन्वय भइरहेको जनाएको छ ।

प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ मा नेपाल रेडक्रसबाट २ लाख ४२ हजार ४८ युनिट रगत संकलन गरिएको र ३ लाख ३१ हजार ४ सय ५६ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराइएको उल्लेख छ । गत आर्थिक वर्षमा रक्तसञ्चार सेवाले देशभरिबाट २ लाख ३८ हजार ८ सय ३६ युनिट रगत संकलन गरी ३ लाख २१ हजार ७ सय ७६ युनिट रगत र रक्ततत्व वितरण गरेको कार्यक्रममा बताइयो ।

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि अर्थात् विसं २०२३ साउन १२ गतेबाट शुरु भएको नेपाल रेडक्रस रक्त सञ्चार सेवाले पहिलो वर्ष जम्मा १ सय ५७ युनिट रगत संकलन गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले स्वयंसेवी रक्तदाता र रक्तदान गर्ने संघ–संस्थालाई धन्यवाद व्यक्त गर्दै रक्तसञ्चार सेवाको दीर्घकालीन विकासका लागि सबै क्षेत्रसँग हातेमालो गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले नेपालको जनसंख्याको २ प्रतिशतले मात्रै पनि नियमित रक्तदान गर्न सके आवश्यक परेको समयमा रगत सहजै पाउन सकिने भएकाले थप रक्तदान उत्प्रेरणा बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटीले काठमाडौंमा केन्द्रीय रक्तसञ्चार सेवाको अलावा विराटनगर, भरतपुर, पोखरा, नेपालगंज र धनगढी गरी ५ स्थानमा प्रदेश रक्त सञ्चार सेवा सञ्चालन गरिरहेको छ । यसै गरी २२ जिल्लामा जिल्लास्तरीय विभिन्न जिल्लाको ४१ स्थानमा आकस्मिक र विभिन्न ४९ वटा अस्पतालबाट पनि रक्तसञ्चार सेवाले आफ्नो सेवा प्रदान गर्दै आएको नेरेसोले जनाएको छ । नेरेसोका अनुसार नेपालको ७० जिल्लाका १ सय १७ स्थानमा रक्तसञ्चार सेवा केन्द्र तथा एकाइहरू क्रियाशील छन् ।