बाँकेमा बाघैबाघ, हेर्न आउँदैनन् कोही

2.7k
Shares

कुमार श्रेष्ठ, बाँके ।

बाघको संरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरियो । २०६७ असार २८ गते स्थापना भएको निकुञ्जमा छोटो समयमै करिब दुई दर्जन बाघ पुगेको छ ।

सन् २००९ मा चारवटा बाघ रहेको निकुञ्जमा अहिले २१ वटा छन् । सन् २०१८ मा गणना गर्दा २१ वटा देखिएका हुन् । अझै बढेको आँकलन गरिएको छ । बाघ संरक्षणका लागि बासस्थान, आहारा प्रजातिको व्यवस्थापन, पानीपोखरी र घाँसे मैदान निर्माण गरिएको छ । चुनौतीको रूपमा रहेको चोरी शिकारी नियन्त्रणको अधिक प्रयास भएको छ ।

निकुञ्ज ५ सय ५० वर्गकिलोमिटरमा फैलिएको छ । ३ सय ३० वर्गकिलोमिटर मध्यवर्ती क्षेत्र पर्दछ । बाँके, दाङ र सल्यान जिल्लालाई छोएको निकुञ्जमा बाघसँगै लोपोन्मुख वन्यजन्तु चौका प्रशस्त रहेका छन् ।

बाघ हेर्नलाई संसार नै लालायित छ । बाघ भएका निकुञ्जमा पर्यटकको घुइँचो लाग्ने गर्दछ । बाँके राष्ट्रिय निकुञ्जको हकमा त्यो लागू भएको छैन ।

निकुञ्जमा अलिकति सफारी गर्नेबित्तिकै बाघ देखिने गरेको भुक्तभोगीहरु बताउँछन् । गाभर होमस्टेका सञ्चालक कृष्ण चौधरीले बाँके राष्ट्रिय निकुञ्जमा बाघ हेर्नका लागि लामो यात्रा गर्न नपर्ने बताउनुभयो । ‘आएका पर्यटकले छोटो यात्रामै बाघ देखेर खुसी भएका छन्’, चौधरीले भन्नुभयो– ‘त्यसका बाबजुद प्रचारप्रसार हुन नसक्दा पर्यटकको रोजाइ बन्न सकेको छैन ।’

बाँके राष्ट्रिय निकुञ्ज नेपालगन्ज शहरदेखि नजिकै रहेको छ । नेपालगन्जमा पर्यटकलाई केन्द्रमा राखेर ठूल्ठूला होटल बनेका छन् । मानसरोवर, रारा, से फोक्सोण्डो, स्वर्गद्वारी, बर्दिया राष्ट्रिय निकुञ्ज जाने पर्यटकहरु नेपालगन्ज भएर जाने गर्दछन् । यी ठाउँमा जाने पर्यटकको सेडुलमा बाँके राष्ट्रिय निकुञ्ज पर्ने गरेको छैन । नेपालगन्ज भएर यस क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रमा जाने पर्यटकलाई बाँके राष्ट्रिय निकुञ्जमा एक दिन मात्रै होल्ड गराउन सकेमा यहाँको पर्यटकीय विकासमा टेवा पुग्ने पर्यटन प्रवद्र्धन मञ्च, बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

बाघ बढ्दै गर्दा मानिसको टकराव बढेको छ । बाघलाई बढाउनु जति चुनौती रहेको छ, त्यति नै चुनौती त्यसलाई बचाउनुरहेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले वन्यजन्तु संरक्षणका लागि घाँसेमैदान, पानीपोखरी, वनपथ, तारबार, अग्निरेखा निर्माण, पोस्ट स्थापना गरेको जानकारी दिनुभयो ।

निकुञ्जका लागि सधैंको चुनौती बन्ने गरेको चोरी शिकारी नियन्त्रण, मानव वन्यजन्तु टकराव, राजमार्ग तथा सिक्टा नहरमा जनावरको दुर्घटनालाई रोक्न लागिपरेको सहायक संरक्षण अधिकृत न्यौपानेले बताउनुभयो । सडक दुर्घटना र नहरमा डुबेर ६८ वटा जनावरको मृत्यु भएको छ भने २९ वटा वन्यजन्तुको उद्धार गरिएको छ ।

सरकारले सय वटा पर्यटकीय क्षेत्र घोषणा गर्दा यो निकुञ्ज ५७ नम्बरमा परेको छ । पर्यटकीय क्षेत्रमा परे पनि पर्यटकको नजर परिसकेको छैन । अहिलेसम्म यहाँ थोरै मात्रै विदेशी पर्यटकले अवलोकन गरेका छन् । आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ । निकुञ्जमा हात्तीसफारीको व्यवस्था रहेको छ । यस क्षेत्रमा प्रायः भारतीय पर्यटक आउने गर्दछन् । नेपालगन्ज मुख्य प्रवेशद्वार मानिन्छ । भारतीय शहरहरुमा निकुञ्जको प्रचार–प्रसार गराउन सकेमा पर्यटक बढ्ने विश्वास गरिएको छ ।