कक्षा १२ को परीक्षा : सबै परीक्षार्थीलाई खोप दिलाउन सुझाव

784
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षामा सहभागी सबै विद्यार्थीलाई परीक्षाअगावै कोभिड–१९ को खोप दिलाउन सरकारलाई सुझाव दिएको छ । कोरोना संक्रमण तेस्रो लहर आउन सक्ने आशंकासँगै कक्षा १२ को परीक्षा हुनै लाग्दा परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन समितिले सरकारलाई सुझाव दिएको हो ।

समितिले बुधबार आयोजना गरेको बैठकको निर्णय सुनाउँदै सभापति ओनसरी घर्तीले स्वास्थ्य मापदण्ड पालना गरी परीक्षामा सहभागी सबै विद्यार्थीलाई खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको हो । समितिले सबै परीक्षार्थीलाई पीसीआर टेस्ट गर्न समेत आग्रह गरेको छ ।

परीक्षा यही साउन ३१ देखि भदौ ९ सम्म हुँदै छ, जसमा ३ लाख ७४ हजार विद्यार्थीले परीक्षा दिँदै छन् ।

बैठकमा पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षक र विद्यार्थीलाई कोरोना खोप नदिएसम्म भौतिक उपस्थित सुरक्षित हुन नसक्ने बताउँदै तत्काल खोपको व्यवस्थापन गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले परीक्षामा स्थानीय तहलाई जिम्मेवार बन्न आग्रह गर्दै स्थानीय निकायकै संयोजनमा परीक्षा गर्नुपर्ने धारणा अघि सार्नुभयो ।

पूर्वमन्त्री खगराज अधिकारीले होम सेन्टरबाट परीक्षा लिँदा त्यहींकै निरीक्षक नराख्ने व्यवस्था गर्न सुझाव दिनुभयो । उहाँले परीक्षालाई व्यवस्थित गर्न सबै सरोकारवाला निकायको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

सांसदहरू मनकुमारी जिसी, मानबहादुर विश्वकर्मालगायतले परीक्षार्थीलाई खोपको व्यवस्था गरेर मात्रै परीक्षामा सहभागी गराउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले कोभिड संक्रमणको जोखिमलाई ख्याल गरेर यसपटक होम सेन्टरमै परीक्षा दिन पाउने व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको सबै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा दिने व्यवस्था गरेको उल्लेख गर्नुभयो ।

होम सेन्टर कामय नगर्दा परीक्षा सेन्टरमा पुग्न यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्नेलगायतका झन्झट र कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले होमसेन्टर कायम गरिएको उहाँको भनाइ थियो ।

उहाँका अनुसार कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका १ हजार विद्यालय छन्, ५० भन्दा कम विद्यार्थी भएका २ हजार ३ सय, सयभन्दा कम विद्यार्थी भएका ३ हजार ४ सय र ५ सय भन्दा बढी विद्यार्थी भएका विद्यालय ८९ वटा छन् ।

बढी विद्यार्थी भएका विद्यालयले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिँदै बोर्डका सदस्य–सचिव अर्यालले भन्नुभयो– ‘परीक्षामा एउटा कक्षामा २५ जनाभन्दा बढी विद्यार्थी राख्न पाइँदैन । मापदण्डमा जे विषय उल्लेख छ, सोहीअनुसार परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।’

बोर्डले करिब दुई साताअघि सीसीएमसीबाट भौतिकरूपमै परीक्षा लिने अनुमति पाएको थियो । सोही आधारमा बोर्डको बैठकले परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सीसीएमसीको निर्णयअनुसार परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ लागू गराएर परीक्षा दिने व्यवस्था गर्न बोर्डले सबै तयारी गरिरहेको छ । स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेका छौं ।’

सीसीएमसीले विद्यार्थीको सिट प्लान गर्दा २ मिटर दूरी राखेर अंग्रेजी अक्षर जेड ढाँचामा हुनुपर्ने, विद्यार्थीहरू भीड रोकथाम गर्न परीक्षा केन्द्रमा १ घण्टा ३० मिनेटअघि नै पुग्नुपर्ने निर्देशन दिँदै कक्षा १२ को परीक्षा भौतिकरूपमै सञ्चालन गर्न अनुमति दिएको छ । सीसीएमसीले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै डीसीएमसीसँग समन्वय गरेर सञ्चालन गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

कोभिडका कारण गत वर्ष ४० प्रतिशत पूर्णाङ्कमा मात्रै परीक्षा लिइएको बोर्डले यो वर्ष सय पूर्णाङ्कमा नै परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ । बोर्डले डिजिटल प्रश्नपत्र तयारी गरिरहेको छ । अनलाइनमार्फत प्रश्न पठाउने भएपछि छापेर प्रश्नपत्र पु¥याउने झन्झटबाट बोर्ड मुक्त भएको छ । बोर्डका सचिव अर्यालका अनुसार सबै केन्द्रमा प्रश्नपत्र हेर्ने व्यवस्था मिलाइनेछ । सबै केन्द्रमा केन्द्रध्याक्षले मात्र प्रयोग गर्न मिल्ने गरी पासवर्डको व्यवस्था गर्ने र पासवर्ड इन्ट्री गरेपछि प्रश्नपत्र डाउनलोड गरी केन्द्रले आफैं प्रिन्ट गरेर विद्यार्थीलाई दिने व्यवस्था मिलाइएको छ ।

संक्रमित परीक्षार्थीलाई छुट्टै व्यवस्था

राष्ट्रिय परीक्षा बोर्डले कोभिड–१९ संक्रमित विद्यार्थीलाई छुट्टै परीक्षा दिने व्यवस्था गरेको छ । बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले कोभिड संक्रमितले परीक्षा दिने भए आधा घण्टाअगावै परीक्षा हलभित्र पस्नुपर्ने जानकारी दिनुभयो ।

‘ती परीक्षार्थीलाई आधा घण्टा बढी समयसम्म परीक्षा लिने व्यवस्था गर्न लागेका छौं ।’ –उहाँको भनाइ थियो । बोर्डले तत्काल परीक्षा दिने व्यवस्था भएको बताए तापनि छलफलका क्रममा संक्रमितलाई प्रमाणको आधारमा पछि परीक्षा दिने व्यवस्था गर्न लागेको स्रोतले जनाएको छ ।

संक्रमितले सबै प्रमाण पेस गरेपछि सो आधारमा छुट्टै प्रश्नपत्र तयार गरी परीक्षा दिने व्यवस्था गर्न लागिएको स्रोतको भनाइ छ । बोर्डले संक्रमित विद्यार्थीका लागि फरक प्रश्नपत्र तयार गर्ने भएको छ ।

यकिन संख्याको आधार तयार भएपछि सोहीअनुसार प्रश्न तयार गर्ने र छुट्टै स्थानमा परीक्षा दिने व्यवस्था गर्ने तयारी बोर्डको छ । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले कोभिड संक्रमितलाई सोही दिन परीक्षा दिन मिल्ने गरी तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘परीक्षा दिने चाहने विद्यार्थीलाई प्रमाणको आधारमा तत्काल परीक्षा दिने र परीक्षाको दिन सहभागी हुन नसक्ने विद्यार्थीलाई समय तोकेर परीक्षा दिने व्यवस्था मिलाउनुपर्छ ।’