बाहिर सिंहजस्तो गर्जने भित्र लम्पसार पर्ने बालुवाटारबाट बार्दली पुग्यो,अघिल्लो सरकार


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेस सांसद गगन थापाले सरकार संसद्प्रति जवाफदेही बन्नुपर्ने र संसद् जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद थापाले भने, बाहिर सिंहजस्तो गर्जने भित्र लम्पसार पर्ने, यस्तैयस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार ।

थापाले संसद् र सरकारको नयाँ अध्याय सुरु भएको पनि बताए । पुनस्स्थापित संसद्ले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय सुरु भएको छ । यो अध्यायको सुखान्तको लागि सरकार र संसद्सँग जनताका अपेक्षा छन्  ।अघिल्लो सरकारले गरेका गल्ती दोहोर्‍याउने छुट वर्तमान शेरबहादुर देउवाको सरकारलाई नभएको थापाले बताए । संसद्लाई हेप्ने, अदालतलाई हप्काउने न विधि मान्ने न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने, जनताको दुहाइ दिने, उनले भने, नयाँ सरकारलाई यस्तो कुनै कुरा पनि गर्ने छुट छैन ।

यस्तो हुन नदिन संसद्ले पनि संकल्प गर्नुपर्ने छ । संसद्लाई न बेवास्ता गर्न दिइनेछ न त कामविहीन बनाउने न त मनोमानी ढंगले स्थगित गर्न दिइनेछ न त छल्न । यो संसद् सरकारसँग डराउने होइन, सरकार यो संसद् र सांसदको प्रश्नसँग संसद्को निगरानीसँग डराउने हो । अहले प्रधानमन्त्रीको मात्रै परीक्षा नभएर सभामुख र सांसद्हरूको पनि सुरु भएको थापाले बताए ।