जुट वा फुटको दोधारमा नेकपा एमाले

266
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

पार्टीको आन्तरिक किचलोमा रुमल्लिएको नेकपा एमाले जुट्न पनि नसक्ने अनि फुट्न पनि नसक्ने अवस्थामा छ ।

सरकार र पार्टी सञ्चालनको विषयबाट शुरू भएको एमालेको विवाद उत्कर्षमा पुगेर दुई तिहाई बहुमतको एमाले सरकार ढलिसकेको अवस्थामा अझै पनि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दैनिकरूपमा आरोप–प्रत्यारोपको शृङ्खला जारी छ ।

यद्यपि, दोस्रा तहका नेताहरू भने पार्टी एकताका लागि हरसम्भव कोसिस गरिरहेका छन् । कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन नहुँदा एमालेभित्रको विवाद हल हुन सकिरहेको छैन । पार्टीभित्रकै विवादका कारण तत्कालीन प्रधानमन्त्री ओली सरकारबाट हट्न बाध्य भएका थिए । आफ्नै पार्टीको सरकारविरुद्ध नेपाल पक्षका २२ जना सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।

आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाल समूहप्रति संस्थापन पक्षले कठोर निर्णय लिन सकेको छैन । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरे पनि कारबाही प्रक्रिया भने अगाडि बढ्न सकेन । प्रधानमन्त्रीबाट हटेपछि अध्यक्ष ओलीले बालकोटस्थित आफ्नो निवासको बार्दलीबाट नेपाललाई पार्टीमा ठाउँ नदिने चेतावनीसहित ‘गद्दार’को आरोप लगाउनुभएको थियो । तर आफ्नो बोली फेर्दै ओलीले बिहीबार ललितपुरमा आयोजित कार्यक्रम पार्टीमा फर्के आम माफी दिने घोषणा गर्नुभयो । जवाफमा नेता नेपालले सार्वजनिक कार्यक्रममार्फत नै ‘राजाको हुकुमी शैली’ भन्दै इन्कार गर्नुभएको थियो ।

पार्टी अध्यक्ष ओली पर्ख र हेरको नीतिमा रहेका छन् । नेपाल समूहले पनि घोषित रूपमा पार्टी एकता गर्ने वा देउवा नेतृत्वको सरकारमा सहभागी हुने सम्बन्धमा औपचारिक निर्णय लिन सकिरहेको छैन । नेपाल समूहले आफ्ना सांसद र स्थायी कमिटीका नेताहरूसँग निरन्तर संवाद गरे पनि आगामी बाटो पहिल्याउने निर्णय गर्न सकस परेको छ ।

पार्टीभित्रको विवाद संसद् र संसदीय समितिमा समेत छताछुल्ल भएको छ । सरकारबाट बाहिरिएर एमाले विपक्षी दल बनेको छ । तर जारी विवादको गाँठो फुकाउन शीर्ष दुई नेताबीच संवाद नै हुन सकिरहेको छैन । दोस्रो तहमा हुने अनौपचारिक संवादमा नेताहरूले ओली र नेपालबीच संवाद गराउने कोसिस गरिरहेका छन् । सर्वोच्च अदालतको फैसलाले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएलगत्तै बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले आफूहरू गठबन्धनमा नरहन सक्ने संकेत गर्नुभएको थियो । तर नेपालले नै देउवाको शपथ ग्रहणमा सबैभन्दा पहिला बधाई दिनुुभएको थियो । नेपाल अझै पनि विपक्षी गठबन्धनको छलफलमा निरन्तर सहभागी हुँदै आउनुभएको छ ।