सदस्यता वितरण व्यवस्थित गर्न नेतृत्व नै अनिच्छुक

56
Shares

कपिल काफ्ले, काठमाडौं ।

पुरानो प्रजातान्त्रिक पार्टी भनिने नेपाली कांग्रेस सभापतिलगायतका शीर्ष नेतृत्वको नियतकै कारण प्रजातान्त्रिक हुन सकेको छैन ।

‘क्रियाशील सदस्यता दिने सम्बन्धमा विधान र परिपत्रमा प्रस्ट निर्देशन छ । नेपाली कांग्रेसको साधारण सदस्यता लिएको एक वर्ष पुगेकालाई मात्र क्रियाशील सदस्यता प्रदान गर्ने भनिएको छ, तर व्यवहारमा त्यस्तो छैन’, सो पार्टीमा झन्डै आधा शताब्दी बिताएका र हाल प्राध्यापन पेसामा रहेका गौरीप्रसाद दवाडी भन्नुहुन्छ– ‘नेताहरुको नियतकै कारण सिंगो मुलुकको लोकतान्त्रिक रूपान्तरणमा योगदान दिन सक्ने कांग्रेस आज आफैं कमजोर हुन पुगेको छ ।’

क्रियाशील सदस्यले छान्ने महाधिवेशन प्रतिनिधि र उनीहरुले मतदान गर्ने केन्द्रीय सभापतिलगायतको नेतृत्वले पार्टीको संगठन बनाउने भएका कारण क्रियाशील सदस्यमा आ–आफ्नो पक्षका कार्यकर्ता थप्ने र विरोधी खेमाका कार्यकर्तालाई अयोग्य सावित गर्दै सदस्यताको अवसरबाट वञ्चित गर्ने काममा नेताहरु हात धोएर लागेका छन् । यही कारणले श्रावण ९ मा हुने भनिएको वडास्तरीय सम्मेलन सम्भव भएन । आज मंगलबार बिहान विवादको टुंगो लगाई क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाउने भनिएको छ ।

‘साउन १२ गते बिहान ९ गते क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण गर्नेछ । प्रतिवेदन लिइसकेपछि वडा तहको अधिवेशनको अर्को मिति प्रकाशित गर्छौं ।’ –प्रवक्ता विश्वप्रकाश शर्माले शनिबारै जानकारी गराउनुभयो ।

क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले अधिकांश ठाउँमा सर्वसम्मतिले क्रियाशील सदस्यता चयन गरिएको जानकारी दिए पनि केही जिल्ला र निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता विवाद कायमै रहेका कारण पूर्वनिर्धारित वडास्तरीय सम्मेलन सम्भव भएन ।

आगामी भदौ १६ गते हुने भनिएको नेकाको १४औं महाधिवेशन कहिले हुने भन्ने टुंगो पनि सदस्यता छानबिन समितिले प्रतिवेदन दिएपछि केन्द्रीय समितिले लगाउने भनिएको छ । योग्यता पुगेका आम नेपालीले अनलाइन फाराम भरेर नेकाको सदस्यता लिने उदार व्यवस्था अवलम्बन गरिएको भए विगत लामो समयदेखि महाधिवेशनको मिति सार्ने अवस्था पनि नआउने, युवाहरुको सक्रियता रहने नेविसंघ र तरुण दलहरु पनि मृत अवस्थामा नपुग्ने सो पार्टीका इमानदार कार्यकर्ताको निष्कर्ष छ ।

नेकाको विधानअनुसार वडा कार्यसमितिले कार्यसमितिको बैठकबाट निर्णय गरी क्रियाशील सदस्यता लागि सिफारिस गर्छ । वडाले प्रस्ताव गरेका व्यक्तिहरुको नामावली पालिकामा पठाउने र क्षेत्रीय समितिले सदस्यको अभिलेख बनाई जिल्लामा पठाउने, जिल्ला, क्षेत्र, प्रदेशले हस्ताक्षर गरी प्रमाणपत्र दिने व्यवस्था छ ।

तर, नेपाली कांग्रेसका पुराना नेता तथा कार्यकर्ता भन्छन्– ‘विधान र परिपत्रमा जे–जस्तो लेखिए तापनि ती सबै देखाउनका लागि सावित भएका छन् । कुनै जिल्ला, क्षेत्र, पालिका, वडामा नेपाली कांग्रेसको सदस्य न्यूनतम सर्तको पालना गरी सदस्यता प्रदान गरिएको छैन ।’
संयोजक रमेश लेखकसँगै काम गरेका छानबिन समितिका एक सदस्यका अनुसार वडाको सभापतिले सदस्यता फाराम भराएर क्षेत्रमा निर्णयका लागि पठाउने काम नभएको, प्रत्यक्ष जिल्लामा नै पठाउने गरिएको र फाराममा सम्बन्धित सदस्यको हस्ताक्षर अरूबाट गर्ने गरिएको पाइएको छ ।

‘फाराम वितरण प्रक्रियाअन्तर्गत नेपाली कांग्रेसको सदस्यता लिएको एक वर्षपछि क्रियाशील सदस्य दिनुपर्नेमा सीधै सदस्यताको फाराम भराइएको पाइयो ।’ –ती सदस्यले जानकारी गराए ।

नेकाको स्थापनाकालदेखि चवन्नी सदस्यको प्रावधान चल्दै आएको देखिन्छ । चार आना शुल्क तिरेर सदस्य लिनुपर्ने हुनाले चवन्नी सदस्य भन्ने गरिएको, कांग्रेसको सिद्धान्त र विचार मान्ने प्रतिज्ञा टिकटमै उल्लेख गरिएको, सोही सदस्यता अभ्यास तेह्रौं अधिवेशनसम्म रहेको तर पछिल्लो लैङ्गिक समानता र सामाजिक समावेशिताको प्रावधानलाई समेट्न विधान परिमार्जन गरिएको तर विधानसम्मत काम नभएको अवस्था छ ।

नेकाको विधानअनुसार देशभरका सबै पालिकाको वडा समितिले क्रियाशील सदस्यता प्रदान गर्ने व्यवस्था छ । क्रियाशील सदस्यको भेलाले वडा समिति गठन गर्ने र महाधिवेशन प्रतिनिधिको चयन गर्ने भएका कारण केन्द्रीय नेताहरु आफ्ना पक्षमा वडा समिति बनाउन असहमत व्यक्तिलाई सदस्यता दिइरहेका छैनन् । परिणामस्वरूप पार्टी केन्द्रीय कार्यालयमा न्यायका लागि कार्यकर्ताले अनशनसम्म बस्नुपरेको छ ।

अहिले वडाका सभापति क्षेत्रीय सभापतिहरुलाई मठाधीश बनाइएको छ । उनीहरु जसलाई चाहन्छन् उसलाई सदस्यता दिन्छन् र उसले नचाहेका कर्तव्यनिष्ठ क्रियाशील कांग्रेसलाई निरुत्साहित गराउँछन् । सदस्यताकै कारणले वडा तहदेखि संगठन र कार्यकर्ताबीच वैमनस्यता विकास भएको छ ।

‘यस व्यवहारका कारण पार्टी कमजोर भइरहेछ, सदस्यता वितरण प्रक्रिया व्यवस्थित भएमा आफ्नो नेतृत्व गुम्ने हुनाले नेताहरु मौन छन्’, काठमाडौं जिल्ला उपाध्यक्षसमेत रहेर अनुभव सँगालेका दवाडी सुझाव दिनुहुन्छ– ‘आजको आधुनिक प्रविधिको प्रयोग गर्दै स्वेच्छिकरूपले सदस्यता पाउने व्यवस्था गर्नुपर्छ, नेकाको विधान र सिद्धान्त मानेर जो आओस्, स्वागत गर्नुपर्छ, गलत तत्वले पार्टी कब्जा गर्ला भनेर अलोकतान्त्रिक अभ्यास गर्न नेकालाई सुहाउँदैन ।’