‘समुदायको पहिचान स्थापित गर्न उदाहरणीय काम’


नेपाल समाचारपत्र, काठमाडौं  । 

खालिङहरूको आदिम पुर्खा माप्य र दिक्प्यको छायाचित्र तथा खालिङ वास वृत्तचित्र लोकार्पण गरिएको छ । किराँत खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमितिद्वारा शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच संघीय सांसद हेमकुमार राईले स्केच र वृत्तचित्रको औपचारिक लोकार्पण गर्नुभएको हो ।

विभिन्न तह र तप्कामा छलफलपछि माप्य र दिक्प्यसम्बन्धी प्राग् इतिहास र सांस्कृतिक पक्षहरूबारे थुप्रै लिखित र मौखिक आधारहरू तयार गर्ने क्रममा छायाचित्र तयार गरिएको हो ।खालिङ वास वृत्तचित्र भने सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाको आर्थिक सहयोगमा तयार गरिएको हो । वृत्तचित्रमार्फत समुदायको जीवन्त भाषा, भेषभूषा र संस्कार संस्कृतिहरूलाई निकै मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ ।
सोही अवसरमा काठमाडौं तारकेश्वर नगरपालिका–१, सांलामा निर्माण गर्न लागेको खालिङ तम्र म्योलकम (सांस्कृतिक भवन) को थ्रीडीसहितको अवधारणा प्रस्तुत गरिएको थियो ।समितिले तम्र कम (सांस्कृतिक भवन), संकम (मतान), शौचालय, धारा ट्यांकी, व्यवस्थित पार्किङसहितको बगैंचा, चिण्डो प्रतिमा र म्योल कम (कर्पोरेट विल्डिङ) लगायतको संरचना निर्माण गर्ने डीपीआर तयार गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राईले खालिङ समुदायको पहिचान र अस्तित्व स्थापित गर्न र दस्तावेजीकरणमा निकै उदाहरणीय काम भइरहेको बताउनुभयो । एक अर्को प्रसंगमा उहाँले आफूले चुनावी मैदानमा उभिँदै गर्दा गरेको बाचाअनुरूप पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक विकासलगायत समग्र क्षेत्रमा बलियो आधार तयार भइसकेको बताउँदै विकास र समृद्धि सम्भवउन्मुख रहेको बताउनुभयो । सामाजिक विकास विकास र समृद्धिको पहिलो आधार भएकोले त्यसका निम्ति सबै समुदाय, क्षेत्र र वर्ग लाग्नुपर्नेमा उहाँको जोड थियो ।माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले आफ्नो नेतृत्वमा भइरहेको विकास निर्माणको फेहरिस्त प्रस्तुत गर्दै आफू भाषणमा नभई व्यवहारमा परिणाममुखी काम गरेर जनतालाई गाउँ र समाजलाई समृद्ध बनाउन अग्रसर रहेको दाबी गर्नुभयो । गाउँपालिकालाई सांस्कृतिक पर्यटकीय हब बनाउने योजनाका साथ काम अघि बढाइएको भन्दै उहाँले त्यसको लागि चिण्डो प्रतिमा निर्माण, बुद्धपार्क, विभिन्न गुम्बा तथा मठमन्दिर निर्माणका साथै विभिन्न जाति र समुदायको संस्कार, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको पनि बताउनुभयो ।

संस्थाकी अध्यक्ष सीताकुमारी खालिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गहार्धन राई, देवान राई, विषण खालिङ, गजुरधन राई, अर्जुन खालिङलगायतले संस्थाले अघि बढाएको ऐतिहासिक कामको प्रशंसा गर्दै आफ्नो ठाउँबाट सहयोग र सहभागिता जनाउने प्रतिबद्धता जनाउनुभयो ।