निरन्तरको समाजसेवाले पीडादायी जीवन भोगिरहेकालाई राहत


नेपाल समाचारपत्र, काठमाडौं   । 

पूर्वशिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले ताराबहादुर कुँवरको निरन्तरको समाजसेवाले पीडादायी जीवन भोगिरहेकालाई राहत मिलेको बताउनुभएको छ । उहाँले सो कुरा शनिबार आयोजित समाजसेवी ताराबहादुर कुँवरद्वारा लिखित ‘निरन्तर समाजसेवा’ पुस्तक र ‘हजुरलाई नमस्ते’ पुस्तकको अडियो बुक लोकार्पण कार्यक्रममा बताउनुभएको हो ।

उहाँले गुरु पूर्णिमाको दिन पारेर पुस्तक विमोचन गर्नु उचित भएको भन्दै कुँवर समाजसेवाको गुरु भएको बताउनुभयो । मुलुकको विकास र समृद्धिका लागि कुँवरजस्ता दिल सफा भएका मानिसको आवश्यकता रहेको उहाँको भनाइ थियो ।समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमिल्सिनाले समाजसेवामा कुँवरले पु-याउनुभएको योगदान उदाहरणीय रहेको उल्लेख गर्नुभयो । उहाँले कुँवर औपचारिक डिग्री नभएका विद्वान् मित्र भएको उल्लेख गर्दै कन्टेन हुनेले बोल्न नजान्ने र कन्टेन नहुनेले बोल्दा देश बिग्रिएको बताउनुभयो पूर्वसेनापति रुक्माङ्गत कटवालले कुँवरको यसअघि प्रकाशित पुस्तक ‘हजुरलाई नमस्ते’ बाट कुँवरको संघर्ष, भोगाइ र सफलताका बारेमा जानकारी लिन सकिने बताउनुभयो । उहाँले मेहनत नगरी सफलता प्राप्त हुँदैन भन्दै कुँवरबाट पाठ सिक्नुपर्ने बताउनुभयो । लिनभन्दा पनि दिन जान्ने व्यक्ति कुँवर भएको उहाँको भनाइ थियो ।

त्यसै गरी पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले कुँवरले कोरोना महामारीमा राहत वितरण, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, रक्तदान, चक्रपथ सरसफाइ अभियानको नेतृत्व, वागमती सफाइ अभियानमा सरिकलगायतका थुप्रै समाजिक काम गरेको बताउनुभयो । उहाँले समाजसेवाका क्षेत्रमा चम्किलो तारा नै ताराबहादुर भएको उल्लेख गर्नुभयो । कुनै पनि राजनीतिज्ञसँग अनुचित फाइदा नलिने व्यक्तिका रूपमा कुँवरलाई पाएको बताउनुभयो । पुस्तकबारे चर्चा गर्दै भन्नुभयो– ‘यो साहित्य होइन, तर साहित्यभन्दा बढी रसिलो छ । समाजसेवाको परिचय छ । यसले उद्यमशील बन्न प्रेरणा दिएको छ ।’सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक नारायणबाबु थापाले भूकम्पका बेला उद्धारका लागि डोजर स्काभेटरलगायतका हेभी इक्युपमेन्ट उपलब्ध गराएर कुँवरले राज्यलाई निकै ठूलो गुन लगाएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा लेखक कुँवरले स्वागत मन्तव्य राख्दै आफ्ना भोगाइका अनुभूतिहरू सुनाउनुभएको थियो । उहाँले भन्नुभयो– ‘एक्लै उभिएर पहिलो हुन नसकिने रहेछ, सबैसँग मिलेर अगाडि बढ्नुपर्छ । धेरैको बीचमा पहिलो हुँदा बेग्लै मजा आउँदो रहेछ ।’ साथै उहाँले ‘हजुरलाई नमस्ते’ पुस्तक बेचेर १० लाख रुपियाँ जम्मा गरेको र त्यो सबै सामाजिक कार्यमा खर्चने बताउनुभयो ।कार्यक्रममा ‘हजुरलाई नमस्ते परोपकारी अभियान’सँग जोडिएका झण्डै दुई दर्जन व्यक्तिलाई सम्मान गरिएको थियो भने अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।