एसओएस बालग्राममा विभिन्न खाले बिकृती


काठमाडौ ।

अन्तराष्ट्रिय समुदायको सहयोगबाट संचालन हुदै आएको एसओएस बालग्राममा हुँदै आएको विभिन्न खाले बिकृती क्रमशः सार्वजनिक हुन थालेको छ । एसओएस काभ्रेमा पछिल्लो समय कर्मचारीले आफ्नो हित अनुकुल नभएको नियम लाद्न थालेको भन्दै त्यसको चर्को बिरोध गर्न थालेका छन ।

सरकारले पछिल्लो पटक शुरु गरेको सामाजिक सुरक्षा कोषको बिषयलाई लिएर त्यहाँका कर्मचारीले आन्दोलन गर्ने चेतावनी समेत दिएका छन । त्यहाँ कार्यरत कर्मचारीहरुले आफुहरुको संचय कोष र नागरिक लगानी कोष कट्टी हुदै आएकाले आफुहरु सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने बताएपनि एसओएस काभ्रेका प्रमुख सुरेन्द्र अमगाईले जसरी पनि उक्त योजना लागू गराउने चेतावनी दिएपछि कर्मचारी युनियनले कडा बिरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएपछि अहिले उक्त योजना स्थगित भएको त्यहाँ कार्यरत एक कर्मचारीले जानकारी दिएका छन ।

बिभिन्न अभियोगमा मुछिएका एसओएस नेपालका राष्ट्रिय निर्देशक आईपी शर्मा एसओएस काभ्रेको प्रमुख हुदा गरेका अनियमितता पनि बिस्तारै सार्वजनिक हुन थालेको छ । शर्माले त्यहाँ कार्यरत रहदा आफ्ना मान्छे भर्ना गर्दा नीति नियमलाई मिचेर काम गरेको र आफन्तकालागि जे गर्न पनि तयार रहने गरेको खुलासा भएको छ ।

एसओएसमा स्थायी कर्मचारी हुन ३५ बर्ष ननाघेको हुनुपर्नेमा उनले आफ्ना भाई नवराज पौडेलको उमेर ४० बर्ष भएपनि स्थायी नियुक्ति दिएका थिए । उनका भाई अहिले पनि सुरक्षा गार्डको रुपमा काभ्रेमा कार्यरत रहेका छन ।शर्मा काभ्रे एसओएसको प्रिन्सिपल हुँदा स्कुलमा कार्यरत केही कर्मचारीलाई बिदामा बस्न नदिएर आफ्नो नीजि काममा लगाएका थिए ।

उनीहरुलाई बिदामा नबस्ने कर्मचारीको बिदाको पैसा पाउने भन्दै आफ्नो काममा लगाएको भएपनि अहिले आएर बिदाको पैसा दिन नमिल्ने भन्दै ती तल्लो तहको कर्मचारीको श्रम शोषण गरेको भन्दै पीडितहरुले गुनासो गर्न थालेका छन । आफुले पाउने सुबिधाको बिदा नबसेका कर्मचारीहरु अहिले जागिरबाट अवकाश लिन लागेको बेला बिदाको पैसा माग्दा शर्माले बिदा संचितिको पैसा दिन नमिल्ने बताउदै आएका छन ।

शर्मा काभ्रेको प्रिन्सिपल हुँदा नयाँ शिक्षक नियुक्ती गर्दा पनि बिभेद गरेको आरोप लागेको छ । शर्माले देवुकुमारी लुईटेललाई शिक्षकको रुपमा नियुक्त गरेर परीक्षणकाल दुई बर्षको हुने गरी पत्र थमाएका थिए । जवकी अन्य नयाँ शिक्षक नियुक्ति गर्दा परीक्षणकाल एक बर्षको हुने भनेर अन्य शिक्षकलाई पत्र थमाइएको छ ।

दुई बर्षे परीक्षणकाल तोकिएकी लुईटेललाई शर्माले अहिले भक्तपुरको सानो ठिमीमा रहेको एसओएस स्कुलमा सरुवा गराएर ल्याउने तयारी गरेको त्यहां कार्यरत एक शिक्षकले नाम नबताउने शर्तमा जानकारी दिए । जवकी स्थायी भएको १० बर्ष पुगेका शिक्षकले सरुवा माग्दा राष्ट्रिय निर्देशक शर्माले सरुवा गर्न आनाकानी गरेका छन भने स्थायी भएको दुई बर्षमा नै लुईटेललाई भने सानोठिमी ल्याउन उहाँले मातहतको निकायलाई निर्देशन दिनु भएको छ ।